बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा काँग्रेस वडा अधिवेशन : कतै अनिश्चित, कतै आन्तरिक सहमति

शनिबार, १९ भदौ २०७८, १४ : ३७
शनिबार, १९ भदौ २०७८

बागमती प्रदेशको ३ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसले वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसले प्रदेशको १३ जिल्ला मध्ये भक्तपुर, दोलखा र सिन्धुलीमा मात्र वडा अधिवेशन सम्पन्न गरेको हो । अन्य १० जिल्लामा भने विभिन्न कारणले काँग्रेसको वडा अधिवेशन हुन सकेको छैन ।

शुक्रबारबाट नेपाली काँग्रेसले देशभर भएको वडा अधिवेशन सुरु गरेको हो । सबै वडामा आगामी भदौ २३ गतेभित्र अधिवेशन सम्पन्न सक्नु पर्नेछ । 

भक्तपुरको ११ वटामा अधिवेशन गर्न बाँकी 

भक्तपुरको अधिकांश वडाहरूमा हिजो शुक्रबार काँग्रेसले वडा अधिवेशन सम्पन्न गरेको छ ।  जिल्लाको विभिन्न स्थानीय तहको २७ वटा वडामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गरेको हो । अन्य ११ वटा वडामा भने शुक्रबार वडा अधिवेशन हुन सकेन ।

वडा अधिवेशन सम्पन्न भएका सबै वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको नेपाली काँग्रेस भक्तपुरका नेता एवम् बागमती प्रदेशसभा सदस्य कृष्णलाल भण्डेलले बताए । वडा अधिवेशन नभएका वडाहरूमा पनि केही दिनमा नै वडा अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । 

व्यवस्थापकीय र तयारी पु¥याउन समय अभावका कारण ती वडाहरूमा वडा अधिवेशन हुन नसकेको उनले बताए । आजभोलि नै ती वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरी अधिवेशनको काम भइरहेको उनको भनाई छ । 

सिन्धुलीमा सर्वसम्मत रूपमा वडाको नेतृत्व चयन

सिन्धुलीको अधिकांश वडामा नेपाली काँग्रेसले शुक्रबार वडा अधिवेशन सम्पन्न गरेको छ । 

केही वडाहरूमा भने प्राविधिक कारणले वडा अधिवेशन हुन नसकेको नेपाली काँग्रेस सिन्धुलीकी नेतृ एवम् बागमती प्रदेशसभा सदस्य बिजुलीमाया वर्माले बताइन् । ‘अधिकांश वडामा अधिवेशन सकिएको छ । केही वडामा भने प्राविधिक कारणले अधिवेशन रोकियो ।’ उनले भनिन् ।

आगामी २३ गते भित्र सिन्धुलीका सबै स्थानीय तहको सबै वडाहरूमा अधिवेशन सकेर पालिका र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस लाग्ने उनले बताइन् । 

अधिवेशन सम्पन्न भएका सबै वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको र बाँकी वडाहरूमा पनि सर्वसम्मत रूपमा नेतृत्व दिने गरी काम भइरहेको उनको भनाई छ । 

दोलखाको ७४ वडामा अधिवेशन सम्पन्न, एकमा निर्वाचन

दोलखाको ९ स्थानीय तहका प्रायजसो वडामा नेपाली काँग्रेसले शुक्रबार वडा अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्लाको ९ वटा स्थानीय तहको ७४ वटा वडामा नेपाली काँग्रेसले अधिवेशन सम्पन्न गरेको छ भने ३ वडामा समय अभावका कारण बाँकी रहेको छ । 

अधिवेशन सम्पन्न भएका ७४ वटा वडा मध्ये ७३ वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको नेपाली काँग्रेस दोलखाका नेता वर्मा लामाले बताए ।

एउटा वडामा भने नेतृत्व चयनका लागि निर्वाचन गराउनु परेको उनले बताए । निर्वाचन भएको वडाको मत गणना गर्न बाँकी रहेको उनले बताए । 

अधिवेशन गर्न बाँकी रहेका ३ वटा वडामा सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि छलफल भइरहेकाले आज भोलि नै अधिवेशन सम्पन्न हुने उनको भनाई छ ।

३ जिल्लाको वडा अधिवेशन अनिश्चित

बागमती प्रदेशको ३ वटा जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशनको मिति टुङ्गिएको छन् । प्रदेशको सिन्धुपाल्चोक, रसुवा र काभ्रेमा काँग्रेसको वडा अधिवेशन अनिश्चित भएको हो ।

केन्द्रीय तहबाट नै क्रियाशील सदस्यको विवरण प्राप्त नभएकाले वडा अधिवेशन अनिश्चित भएको हो । 

नेपाली काँग्रेस रसुवाका नेता एवम् बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले रसुवामा क्रियाशील सदस्यको विवाद कायम नै रहेकाले अधिवेशन निश्चित नभएको बताए । 

त्यस्तै केन्द्रीय तहले क्रियाशील सदस्यको विवरण उपलब्ध गराए लगत्तै वडा अधिवेशनको सम्पन्न गर्ने नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवम् बागमती प्रदेशसभा सदस्य निमा लामाले बताए ।

मकवानपुरको वडा अधिवेशन भदौ २० मा

नेपाली काँग्रेस मकवानपुरले भोलि भदौ २० गतेका लागि वडा अधिवेशनको मिति तय गरेको छ । भदौ १८ गते नै वडा अधिवेशन गर्ने योजना बनाएको भए पनि महाधिवेशन प्रतिनिधिहरूलाई प्राविधिक ज्ञान र सीपसहित वडा वडामा पठाउनुपर्ने भएकाले केन्द्रले तोकेर मितिभन्दा २ दिन पर सार्न परेको नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले बताए ।  

केन्द्रबाट खटाइएको निर्वाचन अधिकृत, पार्टी पदाधिकारी र पूर्व सभापतिहरूको सामूहिक छलफलबाट नेपाली काँग्रेसको विधान र निर्देशिकाअनुसार भदौ २० गते वडा अधिवेशन गर्ने निर्णय भएको उनले बताए । 

४ जिल्लामा काँग्रेसको वडा अधिवेशन भदौ २१ मा

बागमती प्रदेशका ४ जिल्लामा भदौ २१ गते काँग्रेसले वडा अधिवेशन गर्ने भएको छ ।  चितवन, धादिङ, नुवाकोट र ललितपुरले भदौ २१ गते वडा अधिवेशन गर्ने भएको छ । 

आन्तरिक व्यवस्थापन र निर्वाचनको तयारी गर्नुपर्ने भएकाले ती जिल्लाले भदौ २१ गतेका लागि अधिवेशनको मिति तोकेका छन् । 

सबै जिल्लाले सोही दिन नै सम्पूर्ण वडामा अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको जनाएका छन् ।

रामेछापमा २३ गते हुने

नेपाली काँग्रेस रामेछापले भदौ २३ गते वडा अधिवेशन सम्पन्न गर्ने भएको छ । आवश्यक तयारी र कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वडा अधिवेशन २३ गतेका लागि सार्नु परेको नेपाली काँग्रेस रामेछापका नेता सीताराम कार्कीले बताए । 

सबै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरी अधिवेशनको तयारी भइरहेको उनले बताए ।

काठमाडौँमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिँदै

काठमाडौँमा नेपाली काँग्रेसले कोरोना सङ्क्रमणको जोखिमका कारण सर्वसम्मत नेतृत्व चयन गर्न आन्तरिक छलफलमा जुटेको बागमती प्रदेशसभा सदस्य एवम् नेपाली काँग्रेस काठमाडौँका नेता राजेन्द्र गुरुङले बताए । 

कोरोना महामारीका कारण भिड जम्मा पारेर वडा अधिवेशन नगर्ने भन्दै आन्तरिक छलफल र सहकार्यबाट काठमाडौँमा काँग्रेसले नेतृत्व चयन गर्ने उनले बताए । उनले काठमाडौँका केही स्थानीय तहका विभिन्न वडामा आन्तरिक रूपमा छलफल गरी अधिवेशन सम्पन्न गरेकोसमेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप