शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भाषासम्बन्धी पुस्तक : क्रियाको रूप विश्लेषण

शनिबार, १९ भदौ २०७८, १२ : ५०
शनिबार, १९ भदौ २०७८

नेपाली भाषा अध्ययनसम्बन्धी धेरै पुस्तक प्रकाशित भएका छन् । यही लहरमा हेम अधिकारीको ‘क्रियाको रूप विश्लेषण’ पुस्तक भर्खरै प्रकाशनमा आएको छ । क्रिया भाषामा सबैभन्दा बढी रूप चल्ने (परिवर्तन हुने) शब्दको वर्ग हो । क्रियाको रूप परिवर्तन वचन, काल, लिङ्ग, भाव, वाच्य, पक्ष आदिका आधारमा परिवर्तन हुन्छ । यिनै विभिन्न आधारहरूलाई लिएर नेपाली भाषाका क्रियाका रूपहरूको परिवर्तनबारे पुस्तकमा चर्चा गरिएको छ ।

पुस्तकमा क्रियाको रूप रचनाका पक्षमा आएका विचलनहरूको पनि सूक्ष्म अध्ययन विश्लेषण गरिएको छ । पुस्तकमा निम्नानुसारका ६ भागमा विभाजन गरी क्रिया रूपान्तरणबारे गहन अध्ययन विश्लेषण गरी प्रस्तुत गरिएको छ ।

भाग १ मा नेपाली क्रियाबारे परिचय दिइएको छ । परिचयका क्रममा परम्परागत व्याकरणकारहरूका परिभाषा र क्रियाको आधुनिक व्याकरणकारहरूका परिभाषा प्रस्तुत गरिएको छ ।

क्रियाका प्रकारहरूको परिचय दिने क्रममा समापिका र असमापिका क्रियाको छोटो परिचय दिइएको छ । यसैगरी क्रियाको संरचनाको आधारमा, आर्थी क्षमताका आधारमा र कार्यस्थितिका आधारमा एवं घटना परिणामका आधारमा परिचय दिइएको छ ।

भाग २ मा क्रियाको लिङ्ग विधानबारे चर्चा गरिएको छ । यसमा नेपाली भाषाका लिङ्गको परिचय, क्रियामा लिङ्ग विधानका आधारहरू, आदरका तह, पुरुषको चिनारी, क्रियाका कालमा लिङ्गविधान, वाच्यमामा लिङ्गविधान बारे चर्चा गरिएको छ ।

भाग तीनमा, क्रियामा वचन विधानबारे चर्चा गरिएको छ । यसअन्तर्गत वचनका प्रकार, कालमा वचन, वचन भेदका रूपहरू, मानवेतरमा वचन भेद र वचन ह्रास जस्ता विषयमा चर्चा गरिएको छ । भाग चारमा, नेपाली क्रियामा पुरुष विधानबारे चर्चा छ । यसमा पुरुषका प्रकार, करण, अकरण र क्रियामा पुरुष व्यवस्था तथा त्यसका समस्याबारे चर्चा गरिएको छ ।

भाग ५ मा नेपाली क्रियाको रूप विश्लेषणबारे विस्तृत रूपमा चर्चा गरिएको छ । यसअन्तर्गत रूपको परिचय, पद, शब्द र रूपको चिनारी दिइएको छ । रूप परिवर्तनका कारण, वाक्यमा क्रियाको रूप विश्लेषण, रूप सन्धि, रूप ध्वन्यात्मक परिवर्तनजस्ता पक्षको चर्चा गरिएको छ ।

भाग छ तथा अन्तिम भागमा नेपाली क्रियामा विचलनबारे चर्चा गरिएको छ । यसभित्र नेपाली भाषामा विचलन आउने कारणहरू, क्रियामा, कालमा, भावमा, लिङ्गमा, वचन र पुरुषमा आउने विचलनबारे चर्चा गरिएको छ ।

अतः क्रियाको रूप विश्लेषण पुस्तक नेपाली भाषा बोल्न, लेख्न कठिनाइ हुनेहरूका लागि निकै नै उपयोगी छ । अध्ययनका क्रममा व्याकरणका पनि कतिपय नियमहरू स्वतस्फूर्त रूपमा विश्लेषण गरिएको छ । नेपाली भाषाका बारेमा चासो राख्ने र अध्ययनमा रुचि राख्नेहरूका लागि पुस्तक उपयोगी  देखिन्छ ।

कृति : क्रियाको रूप विश्लेषण ।

लेखक : हेम अधिकारी

प्रकाशक : साहित्य कला सङ्गम, दमक, झापा ।

प्रकाशन : २०७७ ।

मूल्य : २५० ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप