आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘दाइ नमस्ते’ भन्दै फिल्मी शैलीमा यसरी समातिएका थिए बालकृष्ण ढुंगेल

मङ्गलबार, १४ कात्तिक २०७४, १३ : ५१
मङ्गलबार, १४ कात्तिक २०७४

काठमाडौं–सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल लतिलपुरको सातदोबाटोस्थित स्विमीङ पुलको पछिल्तिर बस्न थालेको करिब ६ महिना मात्रै भएको थियो । 
परिवार कपनमा बस्ने गरेपनि सुरक्षाका कारण आफूमात्रै सातदोबाटो बस्ने ढुंगेलको डेरा–कोठाबारे केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी पुष्कर कार्की जानकार थिए । 

तीनै कार्कीको आदेशमा मंगलबार बिहान चारजना सादा पोसाकका प्रहरी सातदोबाटो पुगे । तीनजना स्विमिङ पुलतिरै रोकिए, कपाल पालेका उनीहरु प्रहरी जस्ता देखिदैनथे ।  तीमध्ये एकजना बालकृष्णको डेरामा पुगे । बालकृष्ण कतै बाहिर निस्कने तयारीमा थिए । ति अपरिचित ‘युवा’ले ढुंगेललाई देखेपछि श्रद्धापूर्वक हात जोडेर भने, ‘दाइ नमस्ते !’

ढुंगेलले हात उठाउन नपाउँदै उनले मोवाइल निकालेर भने, ‘दाइ हुनुहुन्छ, तपाईँहरु आउनुस् ।’ क्षणभरमै अरु तीन जना कपाल पालेका ‘युवा’हरुले ढुंगेलाई घेरेर भने, ‘तपाई हाम्रो अफिसमा हिँड्नुस, हामी सिआइबीबाट आएको !’

ढुंगेल छाँगाबाट खसेजस्तै भए, हेर्दा  प्रहरीजस्ता नदेखिने सादा पोशाकका प्रहरीले क्षणभरमै गाडीमा राखेर केन्द्रीय अनुसन्धान ब्युरोको हेड्क्वार्टर महाराजगञ्ज लगिहाले ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलाई कर्तब्य गरेर मारेको मुद्धामा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्र्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
फैसला कार्यान्वयनका लागि पटक–पटक सर्वोच्चमा रिट पर्ने र अदालतले पटक–पटक ‘सात दिनभित्र पक्राउ गर्नु’ भन्ने आदेश दिन थालेपछि ढुंगेलले आत्मसमर्पण गर्ने मानसिकता बनाएका थिए ।

पत्रकार नरेश ज्ञवाली भन्छन्, ‘केही दिनयता उहाँले आफ्ना निकटस्थहरुसँग अदालत समक्ष आत्मसमर्पण गर्नेबारे सल्लाह गर्दै हुनुहुन्थ्यो ।’

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले कर्तब्य ज्यान मुद्धामा दोषी ठहर गरेको फैसला पुनरावदेन अदालत राजविराजले उल्टाएको थियो । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेपछि कानुन ब्यवसायी, मानवअधिकारबादी र उज्जनकुमार श्रेष्ठको परिवारले ढुंगेललाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।

युद्धकालीन समयको घटनाको रुपमा ब्याख्या गर्दै झलनाथ खनाल नेतृत्वको सरकारले ढुंगेलको मुद्दा फिर्ता लिने तयारी गरेको थियो । 

तर चर्को विरोध भएपछिट उनको मुद्दा फिर्ता हुन सकेन । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पनि मुद्दा फिर्ता लिने प्रयत्न नभएको होइन ।

२०६४ सालको संविधानसभा निर्वाचनमा ढुंगेलले ओखलढुंगा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । 

पटक–पटक आफ्नो पार्टी सरकारमा गएपनि मुद्दा फिर्ता लिने प्रयत्न सफल नहुने देखेपछि ढुंगेलले आत्मसमर्पणको मानसिकता बनाएको बताइएको छ । तर आत्मसमर्पणको अवसर नआउँदै ढुंगेल कपाल पालेका सादा पोसाकका प्रहरीको फन्दामा परेका छन्  । 

सादा पोसाकका प्रहरीले यसरी समात्यो बालकृष्ण ढुंगेललाई

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप