शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वायु सेवा निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव

शनिबार, १९ भदौ २०७८, ११ : १२
शनिबार, १९ भदौ २०७८

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने अर्थ मन्त्रालयले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुपर्ने बताए ।

उनले उक्त समितिमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ समेत राख्नुपर्ने बताए । उक्त समितिले १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने अर्थमन्त्री शर्माको भनाई छ ।

उनले कर्मचारीहरूसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज सञ्चालन गर्नुपर्नेमा जोड दिए । निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरू अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ । 

अर्थ सचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औँल्याए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम नसुध्रिने भन्दै उनीहरूले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप