शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा ६४ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

शुक्रबार, १८ भदौ २०७८, २२ : ०२
शुक्रबार, १८ भदौ २०७८

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश संयोजक समेत रहेका प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा समाजवादी पार्टी रोज्नेहरूको संख्या ह्वात्तै बढेको छ ।  शुक्रबार मात्रै ६४ जना जनप्रतिनिधिहरुले एमाले छाडेर नेकपा एकीकृतमा सनाखत गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले सनाखत गरेका हुन् । नेकपा समाजवादीका अनुसार  सल्यानमा शुक्रबार १/१ जना अध्यक्ष,  उपाध्यक्ष, १६ जना वडाअध्यक्ष र ६६ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्। 

सल्यानमा अहिलेसम्म ४० प्रतिशत जनप्रतिनिधिले समाजवादी रोजेको ज्वालाको दावी छ ।  ०७४ को निर्वाचनमा सल्यानमा  एमालेबाट ४ जना प्रमुख÷अध्यक्ष, ३ जना उपप्रमुख /उपाध्यक्ष,  र २७ ठाउँमा वडाअध्यक्ष जितेको थियो । 
कपुरकोट गाउँपालिकाबाट उपाध्यक्ष तीला बुढासहित दुईजना वडाध्यक्ष, चारजना वडा सदस्यसहित सातजना, त्रिवेणी गाउँपालिकाबाट एक वडाअध्यक्षसहित ६ जना, छत्रेश्वरी गाउँपालिकाबाट एक वडाअध्यक्षसहित पाँच जना, शारदा नगरपालिकाबाट तीन वडाअध्यक्षसहित १६ जनाले समाजवादी रोजेका छन् ।

त्यस्तै सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेसहित तीनजना वडाध्यक्ष ११ जना, बागचौर नगरपालिकामा तीन जना वडाध्यक्ष, दार्मा गाउँपालिकाबाट एक वडाध्यक्ष, कुमाख गाउँपालिकाबाट एक वडाअध्यक्षसहित चार जना, बनगाड कुपिण्डे नगरपालिकाबाट तीन वडाअध्यक्षसहित आठजना र कालीमाटी गाउँपालिकाबाट तीन जना सदस्यले पनि समाजवादी पार्टी रोजेका हुन् ।

कुल जनप्रतिनिधिमध्ये ६४ जनाले नेकपा एकीकृत समाजवादी रोज्दा अब एमालेका जनप्रतिनिधिको संख्या ७८ मा झरेको छ । कर्णालीका पूर्वमन्त्री समेत रहेका ज्वालाले केपी ओलीले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट विद्रोहको विकल्प नरहेकाले पार्टी पुनर्गठन गर्दै अगाडि बढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप