बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

शुक्रबार, १८ भदौ २०७८, २१ : ४४
शुक्रबार, १८ भदौ २०७८

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

नेकपा एकीकृत समाजवादीका प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहटमा एमालेको कमिटी नै नेकपा एकीकृत समाजवादीमा विलय भइरहेको बताए । सो पार्टीको जिल्ला कार्यसमिति रौतहटले शुक्रबार सदरमुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेकपा एमालेको ७१ जना जिल्ला कार्यसमिति सदस्यमध्ये ६१ जना नेकपा एकीकृत समाजवादीमा आउनु पार्टी नै विलय सरह भएको बताए ।

उनले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेर नयाँ दल गठन गरिएको भन्दै नेकपा एकीकृत समाजवादीप्रति कार्यकर्ताहरूको आकर्षण बढेको बताए । माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा रौतहटका सबै एमाले सदस्य आउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

केपी शर्मा ओलीको दक्षिणपन्थी धारलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादी पार्टीले सम्पूर्ण कम्युनिस्टलाई एक ठाउँमा भेला गराउन सफल भएको उनको भनाइ छ । संसदीय विकास समितिका पूर्व सभापति एवं महिला नेतृ कल्याणी खड्काले ओलीको अधिनायकवाद विरुद्ध विद्रोह गर्दै कम्युनिस्ट आन्दोलनलाई बचाउन आफूहरुको काँधमा नयाँ पार्टी संगठित गर्नुपर्ने जिम्मेवारी आएको बताइन् ।

सो अवसरमा कमल राय यादवको अध्यक्षतामा १९५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरी शपथ गराइएको थियो । केही दिनमै जिल्ला कार्य समिति सदस्यको संख्या विस्तार गरी २२५ पु¥याइने जिल्ला सचिव लक्ष्मण रेग्मीले बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु समीना हुसैन, प्रदेशसभा सदस्य हसिमा खातुनलगायत रौतहटका सयौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप