शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स दिन सुरु

शुक्रबार, १८ भदौ २०७८, १९ : ५६
शुक्रबार, १८ भदौ २०७८

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । 

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही बर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरु मार्फत वितरण गरिने पनि बताए । 

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए । 

उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए । उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिदैँ कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भएपनि वितरण गरीने बताए । 

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौ २० गतेबाट सञ्चालन हुने जानकारी दिए । उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरी सकेको उल्लेख गर । उनले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने पनि बताए ।  नयाँको लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उनको भनाई छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि छ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सको लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप