शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पतालको प्राङ्गणमै कुटिए स्वास्थ्यकर्मी

शुक्रबार, १८ भदौ २०७८, १४ : ५३
शुक्रबार, १८ भदौ २०७८

प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।

अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताए । आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।

कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केका छन् । चिकित्सकमाथि हातपात भइरहँदा अस्पतालमा रहेका सुरक्षाकर्मी र अस्पताल प्रशासनसमेत मौन छन् । अहेव ठाकुरलाई कुटपिट भएको स्थलमा चौबीसै घण्टा प्रहरीको टोली रहने गर्छ । तर दिनदहाडै अस्पताल परिसरमै स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा न प्रहरी प्रशासनले आफ्नो भूमिका निर्वाह गरेको देखियो, न अस्पताल प्रशासनले नै कुनै कदम चाल्न सक्यो ।

चिकित्सक ठाकुरमाथि कुटपिटको घटनामा कसको संलग्नता छ भन्ने पनि प्रस्ट हुन सकेको छैन । कुटिएका अहेव ठाकुरले समेत कसबाट आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता जनाएका छन् ।

धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको घटनाप्रति अनभिज्ञता प्रकट गरेका छन् । उनले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप