सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चीन हाम्रो सबैभन्दा महत्वपूर्ण पार्टनर हो : तालिबान

शुक्रबार, १८ भदौ २०७८, १४ : ३६
शुक्रबार, १८ भदौ २०७८

अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा भएको तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् । चीनले युद्धग्रस्त देशको पुनर्निमाणमा मद्दत गर्ने बताएको पनि उनले जानकारी दिए ।

इटालीयन प्रकाशन ला रिपब्लिकामा बिहिबार छापिएको एक अन्तरवार्तामा मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार हो । हाम्रा लागि उनीहरुले मौका प्रदान गर्ने भएका छन् । चीन अफगानिस्तानमा लगानी र निर्माणका लागि तयार छ ।’

३१ अगस्टसम्म अफगानिस्तानबाट सबै विदेशी सैनिक निस्किसकेका छन् र तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । अफगानिस्तान सबै आर्थिक र खाद्य संकटसँग जुधिरहेको छ ।

मुजाहिदले चीनको न्यू सिल्क रोडबाट अफगानिस्तानलाई फाइदा हुने बताएका छन् । उनले भने, ‘न्यू सिल्क रोड वा वन बेल्ट–वन रोडबाट चीन, अफ्रिका, एशिया र यूरोपलाई जोड्नेछ । यस अन्तर्गत नेटवर्क पोटर््स, रेलवे, रोड र इन्डष्ट्रियल पार्क बन्नेछ ।’

अफगानिस्तानमा तामाको पर्याप्त भण्डार छ र अफगानिस्तानले यो खानी चीनलाई दिने सम्भावना छ । मुजाहिदले चीनले त्यहाँको खानीलाई आधुनिक बनाउने बताएका छन् ।

तालिबानका प्रवक्ताले महिलालाई विश्वविद्यालयमा पढ्ने अनुमति हुने, नर्सको रुपमा कामसमेत गर्ने, प्रहरीमा पनि हुने तर कुनै मन्त्रालय नपाउने बताएका छन् ।

तालिबानले रुससँग आफ्नो कूटनीतिक र आर्थिक सम्बन्ध भएको बताएको छ । मुजाहिदले रुसले शान्ति सम्झौतामा मध्यस्थता गरेको र उसको ठूलो भूमिका रहेको पनि जोडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप