मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड : ६ जनामाथि चक्कू हान्ने हमलाकर्ता मारिए

शुक्रबार, १८ भदौ २०७८, १३ : ०८
शुक्रबार, १८ भदौ २०७८

न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक ‘हिंस्रक अतिवादी’ लाई न्यूजिल्याण्ड प्रहरीले हत्या गरेको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’ बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै निगरानीमा भएको बताएको छ ।

हमलाकर्ता इस्लामिक स्टेट आतंकवादी समूहद्वारा प्रे रित भएको बताइन्छ । प्रधानमन्त्री अर्डर्नले उनलाई सुरक्षाबलले ६० सेकेन्डभित्र नै मारेको बताइन् ।

शुक्रबार अपरान्ह पत्रकार सम्मेलनमा न्यूजिल्याण्डकी प्रधानमन्त्रीले भनिन्, ‘आज जे भयो, त्यो निन्दनीय थियो । यो घृणित र गलत थियो । हमलाकर्ताको पहिचान गोपनियताका कारण बताउन सकिँदैन । उनी सन् २०११ अक्टोबरमा न्यूजिल्याण्ड आएका थिए र २०१६ आउँदा नआउँदै सुरक्षाका लागि खतरा बने ।’

प्रहरीले यी व्यक्तिको निगरानी लगातार गरिरहेका थिए । उनको विचारधाराका कारण यस्तो गरिएको बताइएको छ । तर ६ जनालाई घाइते बनाउनु अघि उनीविरुद्ध किन कारवाही गरिएन भनेर प्रश्न उठाइँदैछ ।

पुलिस कमिश्नर एन्ड्र्यू कोस्टरले भने, ‘साँचो कुरा के हो भने यदि कुनै व्यक्तिमाथि २४÷७ निगरानी गर्नुहुन्छ भने यसको अर्थ यो होइन कि तपाईं सधैं उनीसँगै हुनुहुन्छ । जतिसक्दो छिटो सुरक्षाकर्मीले कारवाही गरे र एउटा ठूलो हिंसा रोक्न सफल भए ।’

एक प्रत्यक्षदर्शीले न्यूज आउटलेट्स स्टफ एनजेडसँग भने, ‘माहौल असाध्यै अराजक थियो । मानिसहरु दौडिरहेका थिए । चिच्याइरहेका थिए, डराइरहेका थिए । मैले एक वृद्ध चक्कू हमलाका कारण भुइँमा लडेको देखेँ । ’

स्थानीय रिपोर्ट अनुसार ६ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये एकको स्थिति निकै गम्भीर छ र दुईको स्थिति पनि खासै राम्रो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप