शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझामा समानान्तर बैठक : मिलन पाण्डेलाई कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको चेतावनी

बिहीबार, १७ भदौ २०७८, १८ : ५९
बिहीबार, १७ भदौ २०७८

विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहको केन्द्रीय समिति बैठकले पार्टी संयोजक मिलन पाण्डे र उनको पक्षमा लागेकाहरूलाई पार्टी हित विपरितको गतिविधि नगर्न सचेत गराएको छ । बिहीबार अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई समानान्तर गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको एक नेताले बताए । बैठकले पार्टी हित विपरितको गतिविधि जारी राखे कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । 

बैठकमा विवेकशील साझाका १३० मध्ये १०३ जना सदस्य सहभागी भएको दावी गरिएको छ । अर्को बैठक एक सातापछि बस्ने तय गरिएको छ भने सो बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । यो बीचमा मिलन पाण्डे समूहलाई पनि सहमतिमा ल्याउन प्रयास हुने बताइएको छ । 

यसैबीच मिलन पाण्डे समूहको पनि आज समानान्तर बैठक बसेको छ । जुम अनलाइन माध्यमबाट बसेको बैठकमा पाण्डेले अध्यक्षले एकल र अवैधानिक ढङ्गले समानान्तर बैठक आह्वान गरेकोले वाध्य भएर पार्टी विधान बमोजिम केन्द्रीय संयोजकलाई दिइएको अधिकार प्रयोग गरी बैठक बोलाएको बताएका थिए ।  

बैठकमा पार्टी भित्र फुट र विभाजन चाहने तत्वहरूलाई निरुत्साहित गरी पार्टी एकीकरणको घोषणापत्र, गत निर्वाचनको प्रतिवद्धता पत्र एवं विधान अनुसार सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै लोकतन्त्र, सामाजिक न्याय र नागरिक सम्प्रभुता र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पुर्ण पार्टी पंक्तिमा अपिल गरिएको छ । 

अर्को बैठक शुक्रबार दिउँसो ११ बजे बस्ने पाण्डे समूहका प्रचार विभाग उपप्रमुख हरिप्रसाद भट्टले जानकारी दिए । 
अध्यक्ष रवीन्द्र मिश्रले केहीअघि संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव ल्याएपछि पार्टीभित्र विवाद चुलिएको हो । विवाद चर्किँदै गएपछि सो पार्टीमा समानान्तर बैठक बस्नेसम्मको अवस्था आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप