बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा एमाले छाड्दै १० जना सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत

बिहीबार, १७ भदौ २०७८, १५ : ३२
बिहीबार, १७ भदौ २०७८

 प्रदेश २ मा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गराएका हुन् ।

नेकपा एकीकृत समाजवादीका पक्षमा एमालेका १३ सांसदले सनाखत गराउने भनिए पनि १० जनामात्र उपस्थित भएका हुन् ।

एक जना प्रदेशसभा सदस्य उपचारको क्रममा देश बाहिर रहेको र अन्य दुई जना मौसमको खराबीको कारण जनकपुरधाम आउन नसकेकाले १० जनाले मात्र बिहीबार सनाखत गराएको नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले जानकारी दिए । उनका अनुसार क्यान्सर पीडित प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती हाल उपचारका लागि भारत रहेको र दिल्लीस्थित नेपाली दूतावास मार्फत निर्वाचन आयोगमा उनको सनाखतसम्बन्धी पत्र आउने गरी सुविधा माग गर्दै आयोगमा निवेदन दिइएको छ ।

दुई जना प्रदेशसभा सदस्य हाल काठमाडौंमा रहेको र मौसमको खराबीका कारण जनकपुर आउन नसकेको जनाउँदै उनले ती दुई जनाले शुक्रबार सनाखत गराउने जानकारी दिए । प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ बिहीबार नै विमानमार्फत जनकपुर आउने भनिए पनि मौसमको खराबीका कारण आउन सम्भव नभएपछि १० जनाले सनाखत गराएको उनको भनाइ छ ।

एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोज्नेमा गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसिमा खातुन र नागेन्द्र यादव छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप