शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतबीच प्रतिस्पर्धा, कस्तो छ तयारी ?

बिहीबार, १७ भदौ २०७८, १३ : १२
बिहीबार, १७ भदौ २०७८

नेपाल र भारतबीच दशरथ रंगशालामा आज साँझ पाँच बजेर ३० मिनेट जाँदा मैत्रिपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । दुई टोलीबीच दोस्रो मैत्रिपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।

साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टुबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतबाहेक बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागिता जनाउनेछन् । पाकिस्तान र भूटानले भने यस संस्करणको साफमा सहभागिता जनाउने छैनन् ।

के भन्छन् प्रशिक्षक ?

मैत्रिपूर्ण खेलका लागि नेपाल आउन पाउँदा खुसी लागेको भारतका प्रशिक्षक इगोर स्टिम्याकले बताए । उनले आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि यी दुई मैत्रिपूर्ण खेल महत्वपूर्ण हुने बताए । ‘मलाई लाग्छ यो खेल तयारीका लागि निकै महत्वपूर्ण हुनेछ,’ उनले भने ।

भारतले पछिल्लोपटक २०२२ को फिफा विश्वकप तथा २०२३ को एशियन कप संयुक्त छनोटका क्रममा अफगानिस्तानविरुद्ध गत जुन १५ मा खेलेको थियो । त्यसयता, अन्र्तराष्ट्रिय फुटबलमा भारत फेरि फर्कन लागेको हो । ‘मलाई लाग्छ पानी पर्नेछैन र हामीले राम्रोसँग खेल्न पाउनेछौं,’स्टिम्याकले भने ।

उनले नेपाली टोलीले पछिल्लो समय राम्रो खेलिरहेको बताए । ‘युवा खेलाडीले भरिएको नेपालले अन्तर्राष्ट्रिय फुटबलमा राम्रो गरिरहेको छ, हामीले यसलाई नियालेका छौं,’ उनले भने ।

भारतका कप्तान सुनिल क्षेत्रीले कोभिड १९ संक्रमणका कारण कठिन बनेको समयमा पनि नेपालमा फुटबल खेल्न आमन्त्रण गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए । ‘हामीले विश्वको अवस्थालाई बुझेका छौं । यहाँ निकै राम्रो आतिथ्यता पायौं । यसमा निकै खुसी छौं,’ उनले भने ।

नेपालका कप्तान किरण चेम्जोङले भारतविरुद्ध सामुहिक भावनाका साथ खेल्ने बताए । ‘हामी सामुहिक भावनामा विश्वास गर्छौंं,’ किरणले भने,‘हामीसँग गडफादरजस्ता प्रशिक्षक छन् । उहाँ सधैं खेलाडीमा उर्जा भर्नुहुन्छ ।’

नेपालका प्रशिक्षक अब्दूल्लाह अल्मुताइरीले  खेलाडीको मानसिकतामा परिवर्तन ल्याउन आफुले निकै ठूलो मेहनत गरेको बताए । ‘म मानिसहरुलाई खुसी पार्नमात्र होइन । उनीहरुलाई गौरवान्वित पार्न चाहन्छु । हामीले विगत दुई महिनादेखि तयारी गरिरहेका छौं र टोली धेरै युवा खेलाडीहरु छन्,’ उनले भने,‘हाम्रो लक्ष्य माल्दिभ्समा साफ च्याम्पियनसिप जित्ने हो र अन्ततः २०२३ मा चीनमा हुने एशियन कपमा छनोट हुने हो ।’

हेड टु हेड

नेपाल र भारतबीच अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा १९ पटक भेट भएको छ । त्यसमध्ये १३ पटक भारतले जितेको छ । चार खेल बराबरीमा टुंगिएको छ भने दुई खेल नेपालले जितेको छ । नेपालले १९९३ को दक्षिण एशियाली खेलकुदको फाइनल खेल र २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपको समूह चरणको खेलमा भारतलाई हराएको थियो । ढाकामा भएको दक्षिण एशियाली खेलकुदको फाइनलमा दुई–दुई गोलको बराबरीपछि नेपालले टाइब्रेकरमा बाजी मारेको थियो । काठमाडौंमा २०१३ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ ले हराएको थियो । अनिल गुरुङ र जुमानु राईले नेपालबाट एक–एक गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप