लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन
बिहीबार, १७ भदौ २०७८, १० : ३८

आजका लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले) को अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।
आफ्नो पार्टीले कारबाही गरेका विमला कुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगित हुँदै आएको थियो । यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगित भएको थियो ।