शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको भ्याक्सिन लिन उत्तर कोरियाद्वारा अस्विकार

बिहीबार, १७ भदौ २०७८, ०९ : ४९
बिहीबार, १७ भदौ २०७८

उत्तर कोरियाले आफूलाई दिन लागेको लगभग ३० लाख कोभिड–१९ को भ्याक्सिन अरु कसैलाई दिन भनेको छ । संयुक्त राष्ट्रले यसबारे जानकारी दिएको हो ।

संयुक्त राष्ट्रका एक प्रवक्ताले संसारका थुप्र्रै देश कोभिड महामारीले नराम्रोसँग थलिएको र अन्तरराष्ट्रिय स्तरमा कोभिड भ्याक्सिनको कमी पनि भइरहेको बताए । यस्तो स्थितिमा उत्तर कोरियाले यस्तो बयान सार्वजनिक गरेको छ ।

यी भ्याक्सिन अन्तरराष्ट्रिय कोभ्याक्स कार्यक्रमअन्तर्गत उत्तर कोरियालाई दिन लागिएको थियो । यो चीनमा बनेको सिनोभ्याक भ्याक्सिन थियो ।

कोभ्याक्स कार्यक्रमको उद्देश्य संसारका गरिब देशलाई भ्याक्सिनको आपूर्ति गर्नु हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १९ अगस्टसम्म उत्तर कोरियाले कोभिड–१९ का कुनै संक्रमित दर्ता गरेको छैन ।

डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा ३७,२९१ व्यक्तिको (जसमा स्वास्थ्यकर्मी र ती मानिसहरु समावेश थिए जसलाई फ्लूजस्तो लक्षण देखिएको थियो) परिक्षण गरिएको थियो र यी सबैको परीक्षण नेगेटिभ आएको छ ।

उत्तर कोरियामा कोभिडको स्थितिबारे कहिल्यै खासै स्पष्ट जानकारी प्राप्त भएन । उत्तर कोरियाले महामारीको सुरुवातदेखि नै कडा नीति अपनाएको दाबी गरेको छ । अघिल्लो वर्ष कोरोना महामारी सुरु भएसँगै आफ्नो सीमा बन्द गर्ने पहिलो देशमध्ये एक थियो उत्तर कोरिया ।

उत्तर कोरियाले भ्याक्सिन लिन अस्विकार गरेको यो पहिलो घटना होइन । यसअघि जुलाईमा सम्भावित दुष्प्रभावलाई उद्धृत गर्दै उत्तर कोरियाले एस्ट्राजेनेका भ्याक्सिनको लगभग दुई लाख डोज लिन अस्विकार गरेको थियो ।

रुसका विदेशमन्त्री सर्गेई लावरोवले जुलाईमा पत्रकार सम्मेलनमा रुसले थुप्रै पटक उत्तर कोरियालाई रुसमा बनेको स्पुतनिक भ्याक्सिनको आपूर्तिको प्रस्ताव गरिसकेको बताएका थिए ।

उत्तर कोरियाले कोभिड–१९ खोपको प्रभावमाथि पनि शंका जताएको छ । उत्तर कोरियाको सरकारी मिडिया धेरैजसो ती खबरलाई प्रमुखताका साथ छाप्ने गर्छ जसमा अमेरिका वा युरोपमा भ्याक्सिनको नकारात्मक प्रभावको कुरा हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप