बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रधानमन्त्री देउवाको काँधमा अझै १७ मन्त्रालयको भार, एमालेद्वारा तीन रिट निवेदन दर्ता

कक्षा १२ को परीक्षा भदौ ३० देखि
बुधबार, १६ भदौ २०७८, २२ : २२
बुधबार, १६ भदौ २०७८

आज २०७८ भदौ १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा १७ मन्त्रालयको भार बोक्दै ५० दिन कटाए देउवाले, प्रदेश १ का १० र कर्णाली प्रदेशका ३ एमाले सांसद नेकपा एकीकृत समाजवादीमा, काँग्रेस सभापति पदमा आफ्नो उम्मेदवारीका लागि सहमति खोज्दै पौडेल, निषेधाज्ञा खुकुलो तुल्याइयो, सर्वोच्च अदालतमा एमालेद्वारा तीन रिट निवेदन दर्ता, अझै उठेन काठमाडौंको फोहोर, कक्षा १२ को परीक्षा भदौ ३० देखि लगायत छन् ।

१. १७ मन्त्रालय आफैले सम्हालेका देउवाले ५० दिन कट्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेनन्
प्रधानमन्त्री शेरबहादुर देउवाले ५० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । २२ मन्त्रालय रहेको संघीय सरकारमा प्रधानमन्त्रीसहित ६ जना सामेल छन् । प्रधानमन्त्री देउवा आफैले १७ मन्त्रालय सम्हाल्दै आएका छन् । सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद विस्तारबारे पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन भने मन्त्रिपरिषद विस्तार कहिले हुन्छ भन्ने अन्योल कायमै छ ।

 

२. प्रदेश १ का १० र कर्णाली प्रदेशका ३ एमाले सांसद नेकपा एकीकृत समाजवादीमा
नेकपा एमाले विभाजनपछि सो पार्टीका प्रदेशसभा सदस्यहरुले नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराउने क्रम जारी छ । बुधबार प्रदेश १ का १० र कर्णाली प्रदेशका तीन एमाले प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गराएका हुन् । प्रदेश १ का १० एमाले सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भने राजीनामा नदिने बरु विश्वासको मत लिने बताएका छन् ।

३. काँग्रेस सभापति पदमा आफ्नो उम्मेदवारीका लागि संस्थापन इतर पक्षका नेतासँग सहमति खोज्दै पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति पदमा आफ्नो उम्मेदवारीका लागि संस्थापन इतर पक्षका नेताहरुसँग सहमति जुटाउने प्रयास थालेका छन् । यद्यपि बुधबार भएको छलफलमा त्यसबारे सहमति जुट्न सकेन । यसैबीच काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने राजीनामा दिएका छन् ।

४. निषेधाज्ञा थप खुकुलो, सिनेमा हल खुल्ने
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो तुल्याउने निर्णय गरेको छ । भदौ १७ देखि लागू हुने गरी स्थानीय प्रशासनले सिनेमा हल खोल्ने निर्णय गरेको छ । विद्यालय सञ्चालनका बारेमा भने प्रस्ट निर्णय गरिएको छैन ।

भदौ मसान्तसम्म शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन नगराउने भनिए पनि भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहहरुले कोभिड–१९ व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने स्थानीय प्रशासनले जनाएका छन् । ​

५. सर्वोच्च अदालतमा एमालेद्वारा तीन रिट निवेदन दर्ता
नेकपा एमालेले सर्वोच्च अदालतमा बुधबार तीनवटा रिट निवेदन दर्ता गराएको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गराएको हो । 

६. प्रदेश २ मा जसपाका ११ सांसदले गराए लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा सनाखत
प्रदेश २ मा जसपा नेपालका ११ प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पक्षमा सनाखत गराएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार जसपा विभाजनपछि नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगले निर्धारण गरेको समयावधिको परिधिमा रहेर उनीहरुले सनाखत गराएका हुन् । 

७. नेपाल–भारत मैत्रीपूर्ण खेलको तयारी पूरा, प्रशिक्षकले दिए नेपाली खेलाडीलाई ‘टिप्स’
नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार दिउँसोसम्म उक्त प्रतियोगिता हेर्नका लागि पाँच हजार १०० टिकट बिक्री भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले आफूसँग जोडिएका विषयलाई बिर्सिएर खेलमा केन्द्रित हुन नेपाली खेलाडीहरुलाई आग्रह गरेका छन् । 

८. बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि दुई दलको दाबी
नेकपा एमाले विभाजनसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । विपक्षी गठबन्धनले एमाले नेतृत्वको सरकारलाई विस्थापन गरिने बताएका छन् । यद्यपि गठबन्धन घटक नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पदका लागि समानान्तर रुपमा दाबी गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भने सरकार टिकाउनका लागि आफूले पहल गर्ने बताएकी छन् । 

९. अझै उठेन काठमाडौंको फोहोर
काठमाडौं उपत्यकामा करिब दुई सातादेखि फोहोर उठाउने कार्य अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिकाले बुधबारदेखि फोहोर उठाइने बताए पनि विभिन्न सडक, चोक तथा गल्लीमा अझै फोहोरको डंगुर छ । 

१०. कक्षा १२ को परीक्षा भदौ ३० देखि
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।  

११. एक सातापछि कोरोनाविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल गरिने
नेपालले चिनियाँ कम्पनी वालभ्याक्सद्वारा कोरोनाभाइरसविरुद्ध निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गर्ने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सुरु गर्ने भएको हो । यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप दुई हजार ५२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । बुधबार बिहान खनालकै निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । 

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको बलात्कारको आरोप सत्य नभएको बताएका छन् । फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको उनको दाबी छ ।

चितवनस्थित नेपाली सेनाको कालिबहादुर गणबाट चोरी भएको स्वचालित सट मेशिन गन (एसएमजी)बारे जङ्गी अड्डामा कोर्ट मार्सल भइरहेको छ । कोर्ट अफ इन्क्वायरी बोर्डले दिएको छानबिन प्रतिवेदनका आधारमा जारी कोर्ट मार्सल अन्तिम चरणमा पुगेको जनाइएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप