सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बागमतीमा सहमतिबाटै गठबन्धनको सरकार बन्छ : बानियाँ

बुधबार, १६ भदौ २०७८, २० : ५०
बुधबार, १६ भदौ २०७८

नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा छिटै नै गठबन्धनको सरकार गठन हुने बताएका छन् ।  उनले आज साँझ नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बानियाँले नेकपा एमालेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले आगामी केही दिनमा नै बागमती प्रदेशमा गठबन्धनको सरकार गठन हुने बताए । 

गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार नेकपा एमालेको विभाजनपछि २ सातामा नै अल्पमतमा रहेकोले यो सरकारको आयु अब केही दिनमात्र भएको उनले बताए । उनले केन्द्रीय तहमा बनेको गठबन्धनले सरकारको नेतृत्व छनौट गर्ने भएकाले तत्काल आफुले मुख्यमन्त्रीमा दावी गर्ने अवस्था नरहेको बताए । 

‘गठबन्धन एउटा सहमति र सहकार्य भएकाले सरकारनै नेतृत्व पनि छलफलबाट नै टुङ्गिन्छ । मुख्यमन्त्रीमा दावी गरेर सहमति र सहकार्यमा बाधा पार्नु हुँदैन । बागमती प्रदेशमा गठबन्धनको सरकार गठनका लागि केन्द्रीय तहमा पनि छलफल हुँदैछ’ उनले भने ।

सरकारको नेतृत्व काँग्रेस, नेकपा एकीकृत समाजवादी वा नेकपा माओवादीमध्ये कुनै एक दलले गर्ने कुरा निश्चित रहेकाले गठबन्धनको सहमति र सहकार्यले नै यसको निर्णय गर्ने उनको भनाई छ ।  नेता बानियाँले मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि मिडियामा आए जस्तो दावी नगर्नेमा आफु विश्वस्त रहेको बताए ।

‘हामी सहमति र सहकार्य गर्दै यहाँसम्म आइपुगेका छौं । राजेन्द्र पाण्डेजीले पनि मिडियामा आएजस्तो मुख्यमन्त्री पदमा दावी गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । गठबन्धनलाई कमजोर पार्ने काम कसैले पनि गर्न हुँदैन’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप