सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्ण क्षमतामा व्यवसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोब्बर बन्यो स्वदेशी लगानीको पहिलो आयोजनाको लागत
बुधबार, १६ भदौ २०७८, १८ : ०५
बुधबार, १६ भदौ २०७८

निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए ।

निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर, करिब ४ वर्ष ढिला गरी आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरू हुन लागेको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले यही महिनाको अन्तिम (२३/२४ गते) देखि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन थालिने जानकारी दिएका छन् । उनले हाल पाँचवटा युनिटबाट ७६/७६ मेगावाट विद्युत उत्पादन शुरू भइसकेको बताए । ‘पाँचवटा युनिटबाट ३८० मेगावाट विद्युत व्यवसायिक रुपमै उत्पादन भइरहेको छ । उत्पादित विद्युत बिक्री गर्न थालिएको छ,’ श्रेष्ठले भने ।

आयोजनाले यही भदौ १५ गतेदेखि ६ वटै युनिटबाट पूर्ण क्षमतामा उत्पादन थाल्ने योजना बनाएको थियो । तर, विद्युत परीक्षण गर्ने कर्मचारीहरूमा कोभिड संक्रमण देखिएपछि एउटा युनिटको परिक्षणमा ढिलाइ भएको थियो । सोहीकारण आयोजनाबाट पूर्ण क्षमतामा व्यवसायिक विद्युत उत्पादन महिनाको अन्तिममा धकेलिएको प्रमुख श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

पटकपटक म्याद थप
वि.स. २०६७ सालदेखि निर्माण शुरू भएको राष्ट्रिय गौरवको आयोजना निर्माण २०७३ सालमै सक्ने लक्ष्य लिइएको थियो । तर, २०७२ सालको वैशाखमा आएको विनाशकारी भूकम्प र सोही वर्ष भारतले नाकाबन्दी लगाउँदा आयोजना निर्माणकार्य धकेलियो । २०७३ सालमा नसकिने भएपछि आयोजनालाई ७४ सालमै सक्ने नयाँ लक्ष्य तय गरिएको थियो ।

तर, सो वर्ष पनि काम नसकिने भएपछि आयोजनाले २०७७ सालमा व्यवसायिक रुपमै विद्युत उत्पादन थाल्ने अर्को नयाँ लक्ष्य राख्यो । फेरि २०७६ सालदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले आयोजना सम्पन्न हुने समय थप घर्कियो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भूकम्प, भारतीय अवरोध र कोभिड महामारीका कारण आयोजना  सम्पन्न हुने मिति लक्ष्यभन्दा पछि धकेलिएको बताए ।

‘भूकम्प, भारतीय अवरोध र कोरोना महामारी नआएको भए आयोजना निर्माण समयमै सकिने थियो,’ उनले भने ।

आयोजनाको लागत दोब्बर
आयोजनाको निर्माण शुरू गर्दा अनुमानित लागत ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, आयोजना सम्पन्न गर्न थप चार वर्ष लागेपछि लागत बढेर दोब्बर पुग्यो । आयोजनाको कूल लागत अहिले ५२ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, आयोजना निर्माण शुरू गर्दा ब्याज रकम १४ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, समयमै नसकिँदा लागतको ब्याज बढेर ३४ अर्ब रुपैयाँ पुगिसकेको छ । आयोजनाको कुल लागत र ब्याज जोड्दा ८६ अर्ब रुपैयाँ हुन आउँछ । यो रकम आयोजनाको निर्माण शुरू गर्दा अनुमान गरिएको सुरूवाती लागतभन्दा करिब दोब्बर बढी हो ।

आयोजना सकिँदासम्म माथिल्लो तामाकोशीको विद्युत लागत प्रतिमेगावाट १८ करोड ६४ लाखभन्दा माथि पुग्नेछ । तर, आयोजना शिलान्यास गर्दा प्रतिमेगावाट साढे १० करोड रुपैयाँमा विद्युत उत्पादन हुने आंकलन गरिएको थियो ।

स्वदेशी लगानीको पहिलो आयोजना
नेपालमा बनेका ठूला र राष्ट्रिय गौरवमा सूचीकृतमध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनेको पहिलो आयोजना हो । यद्यपी, यो आयोजना बनाउन लाग्ने कूल लागतमध्ये १० अर्ब ५९ करोड रुपैयाँमात्रै स्वपुँजी हो । बाँकी आन्तरिक लगानीमार्फत जुटाइएको हो । यो आयोजना बनाउन सरकारले विदेशी ऋण र सहयोग तथा लगानी लिएको छैन ।

आयोजना बनाउन सरकारी स्वामित्व भएका चारवटा संस्थाहरू नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको शेयर लगानी छ । आयोजनामा यी चारवटा संस्थाको बहुमत अर्थात ५१ प्रतिशत शेयर लगानी छ । यस बाहेक २४ प्रतिशत शेयरमा विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र बैंक÷वित्तीय संस्थाको लगानी छ । यसैगरी, १५ प्रतिशत सर्वसाधारण र १० प्रतिशत दोलखावासीको लगानी रहेको छ ।

सरकारले मूख्य प्राथमिकतामा राखेका २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी मात्रै सम्पन्न हुने अवस्थामा पुगेको हो । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमै आएपनि मेलम्ची र हेलम्बु गाउँपालिकामा आएको बाढीले फेरी निश्‍चयतर्फ धकेलेको छ ।

यस्तै, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ । यस बाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको स्थित बेहाल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप