शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलले गरे सभापतिमा सघाउन आग्रह, जुटेन सहमति

बुधबार, १६ भदौ २०७८, १७ : ३६
बुधबार, १६ भदौ २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन इतर पक्षका नेताहरुलाई आग्रह गरेका छन् । तर उनको पक्षमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । बुधबार इतर पक्षका सभापतिका दाबेदारहरुबीच भएको बैठकमा पौडेलले अन्तिम पटकका लागि आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए ।

आफूलाई सभापतिमा सघाए अरु नेताहरुलाई पदाधिकारीमा समेटेर अघि बढ्ने उनको भनाइ थियो । तर सभापतिका दाबेदार प्रकाशमान बाहेक सहभागी बैठकमा अधिकांशले उनको आग्रह नस्वीकारेको बैठकपछि एक नेताले जानकारी दिए । पौडेलको प्रस्तावमा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत र बलबहादुर केसी सकारात्मक जस्तो बनेपछि उनीहरुले सघाउन सकिनेबारे खुलेर भने केही नभनेको ती नेताको भनाइ छ । 

रामचन्द्र समूहबाट सभापतिमा एकल उम्मेदवारी तय गर्नका लागि सहमति जुटाउने प्रयास आकांक्षी नेताहरुबीच अनुपम फुडल्याण्डमा छलफल भएको थियो । बुधबार दिउँसो साढे २ बजेदेखि पौने ५ बजेसम्म चलेको बैठकमा एकल उम्मेदवार तय गर्नेबारे सहमति जुट्न नसकेको नेतृ सुजाता कोइरालाले रातोपाटीलाई बताइन् । 

एकल उम्मेदवारी तयका विषयमा छलफल भएको तर सहमति नजुटेपछि निरन्तर संवादमार्फत निष्कर्षमा पुगिने उनको भनाइ छ । ‘हामी एकताको सन्देश दिनेगरी नै छलफलमा बसिरहेका छौं’ उनले भनिन्, ‘आज सहमति नभएपनि निरन्तर छलफल गरेर एक भएर अघि बढ्छौँ ।’ यस्तै नेता बलबहादुर केसीले पनि छलफल सकारात्मक ढंगले नै अघि बढेको बताए । 

बैठक रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत सहभागी थिए ।  काँग्रेसको भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु हुने भएपछि संस्थापन इतर समूह सो अघि नै टीम बनाएर अघि बढ्नेबारे निरन्तर छलफलमा भएपनि हालसम्म सहमति बन्न नसकेको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप