मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

बुधबार, १६ भदौ २०७८, १३ : १५
बुधबार, १६ भदौ २०७८


रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा शर्माले विद्यालयमा पठन पाठन सुरु भएपछि सजिलो भएको बताइन् ।

इन्टरनेट टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीहरुले यस बीचमा वैकल्पिक माध्यमबाट पढ्न पाए पनि रुकुम पूर्वजस्तो दुर्गममा रहेका जिल्लाका विद्यार्थीहरु पढाइबाट पूर्ण रुपमा बञ्चित थिए । वैकल्पिक माध्यमबाट पढ्न नपाएका विद्यार्थीहरु भौतिक उपस्थितिमै पठन पाठन सुरु भएपछि उत्साहित देखिएका छन् । विद्यालय बन्द रहँदा घरको काममै व्यस्त हुने गरेका भूमे गाउँपालिका ५ का राजेश श्रेष्ठ पनि दैनिक विद्यालय जान थालेका छन् ।

वैशाखमै सुरु हुनुपर्ने शैक्षिकसत्र यस वर्ष ढिला गरी असार १ गतेबाट सुरु भएको थियो । विद्यार्थीहरुले पढ्न भने पाएका थिएनन् । वैकल्पिक माध्यमबाट पठनपाठन हुने सम्भावना नरहेपछि जिल्लामा भौतिक उपस्थितिमै पठन पाठन सुरु भएको हो ।

रुकुम पूर्वमा तीन वटा गाउँपालिका छन् । यहाँ जम्मा १ सय ३३ वटा विद्यालय छन् । तीमध्ये केही विद्यालयबाहेक अधिकांशमा शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार भौतिक उपस्थितिमै पढाइ सञ्चालन भइरहेको छ ।

कोरोना संक्रमणको जोखिम पूर्णरुपमा नहटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पढाइ सुरु गरिएको सिस्ने गाउँपालिका–६, मा रहेको रुक्मिणी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले बताए ।

उनी भन्छन्, ‘विद्यार्थीहरुको भविष्य सम्झेर पढाइ सूचारु गरेका छौँ तर कोरोनाको जोखिम भने कायमै छ, विद्यार्थीलाई संक्रमणबाट जोगाउन पनि चुनौती छ ।’

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल (गौतम)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यार्थी धेरै भएको विद्यालयमा सिफ्ट विभाजन गरेर पठनपाठन सुरु गरेको बताइन् । बेला बेलामा विद्यालयमा अनुगमन पनि गरिने उनको भनाइ छ । कोरोना संक्रमणको कम जोखिम भएका क्षेत्रको विद्यालयमा पठन पाठन सञ्चालन भइरहेको उनले बताइन् ।

यस्तै, भूमे गाउँपालिकाले शिक्षण सिकाई निर्देशिकाअनुसार पठनपाठन सुरु गरिसकेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले बताए । गाउँपालिका भित्रका सबै विद्यालयमै सिकाई केन्द्र स्थापना गरेर पठन पाठन सुरु गरेको तिवारी बताउँछन् ।

यस्तै जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले पनि साउन २४ गतेबाट पठनपाठन सुरु गरिसकेको छ । तर पुथाउत्तरगंगा गाउँपालिकाको केही विद्यालयमा भने बाध्यात्मक परिस्थितिका कारण पठनपाठन सुचारु गर्न नसकिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप