शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

बुधबार, १६ भदौ २०७८, १३ : ०४
बुधबार, १६ भदौ २०७८

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।

त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।

उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा घोषणा गर्छु । महाधिवेशनमा मेरो तयारी क्रमिक रुपमा अगाडि बढिरहन्छ ।’

काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवाले, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, शेखर कोइराला, नेतृ सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन् ।

उनीहरु मध्ये ६० वर्षमुनिको उम्मेदवार गुरुङ एक्लो हुन् । सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका सबै ६० वर्षमाथिका छन् ।

५ जना ७० वर्ष माथिका र ४ जना ६० देखि ७० को बीचका नेताले सभापतिमा दाबी राखेका छन् ।

यसअघि उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । अन्य नेताहरुले सभापतिमा दाबी गरेपनि औपचारिक रुपमा घोषणा गरेको अवस्था छैन ।

को हुन् कल्याण गुरुङ ?

नेपाली काँग्रेसका पुराना नेता बसन्त गुरुङका छोरा कल्याण गुरुङको २०२६ जन्म महोत्तरीमा भएको हो । २०४५ सालबाट राजनीतिमा सक्रिय भएका कल्याण नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा आएका हुन् ।

उनी नेविसंघमा गोविन्द भट्टराई नेतृत्वको कमिटीमा केन्द्रीय सदस्य थिए भने विश्वप्रकाश शर्मा नेतृत्वको कमिटीमा सहमहामन्त्री बने । काँग्रेस विभाजन हुँदा गुरुङ देउवा निकट नेविसंघको सभापति निर्वाचित भए ।

काँग्रेस एकीकृत भएपछि देउवाबाट टाढिएका गुरुङलाई तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा मनोनित गरेका थिए ।

गुरुङले १३ औं महाधिवेशनमा पौडेल समूहबाट जनजाति कोटामा केन्द्रीय सदस्य जितेका थिए । ५२ वर्षीय गुरुङ युवा पंक्तिलाई साथमा लिएर चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप