बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘एसएमजी’ हतियार प्रकरण : जङ्गी अड्डामा कोर्ट मार्सल जारी

बुधबार, १६ भदौ २०७८, १२ : १७
बुधबार, १६ भदौ २०७८

चितवन स्थित नेपाली सेनाको कालिबहादुर गणबाट चोरी भएको स्वचालित सट मेशिन गन (एसएमजी)बारे जङ्गी अड्डामा कोर्ट मार्सल भइरहेको छ । हतियार चोरेको आरोपमा २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका  लव कुमार गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका सरोज तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । तर, चितवन प्रहरीले साथीको हत्यामा संलग्न सैनिक जवान गंगाधर ढकालको साथबाट हतियार बरामद गरेपछि घटनाले नयाँ रूप लिएको छ ।

साउन ७ मा सैनिक हुद्दा भरत गुरुङ  चितवनमा मृत फेला परेका थिए । गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार प्रयोग भएको थियो । हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाल एसएमजी सहित पक्राउ  परे । चितवन जिल्ला अदालतको आदेशपछि उनलाई सेनाले जङ्गी अड्डामा ल्याएर कोर्ट मार्सल गरिरहेको छ । २०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । 

‘कोर्ट मार्सल जारी छ’ सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीसँग भने–‘कोर्ट अफ इन्क्वायरी बोर्डले दिएको छानबिन प्रतिवेदनका आधारमा जारी कोर्ट मार्सल अन्तिम चरणमा पुगेको छ ।’

चोरी प्रकरणमा ट्विस्ट आएपछि जङ्गी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ चितवन पठाएर छानबिन गरेको थियो । महा–सेनानी नेतृत्वको समितिले भदौ ११ अघि नै छानबिन प्रतिवेदन बुझाइसकेको छ । इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जङ्गी अड्डामा बुझाएको छ । कोर्ट अफ इन्क्वायरीले प्रतिवेदन बुझाएपछि कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले कोर्ट मार्सल ( मुद्दा सुनुवाइ गर्ने टिम) गठन गरेका हुन् ।

सैनिक जवान गंगाधर ढकालले पनि हतियार आफैँले चोरेको स्विकारेका छन् । हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ । 

हतियार चोरेको आरोपमा कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि कारागार कार्यालय भरतपुरमा थुनामा छन् । कोर्ट मार्सल सकिएपछि कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे निर्णय हुन्छ । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायक रथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाएका थिए । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ । 

चोरी भएको एसएमजी सहित पक्राउ परेका सैनिक जवान गंगाधर कालिबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरू बताउँछन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप