शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा अब कसले पाउला सरकारको नेतृत्व ?

मुख्यमन्त्रीका लागि दुई दलको दाबी
बुधबार, १६ भदौ २०७८, ११ : २७
बुधबार, १६ भदौ २०७८

नेकपा विभाजनसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ भने विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेका छन् । बागमती प्रदेश सरकारको नेतृत्वमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दाबी गरेका छन् । त्यसो त माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले पनि सरकारको नेतृत्वका लागि दाबी गरेका छन् । तर, उनी आफै पनि बागमती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनेमा विश्वस्त छैनन् ।

प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनबीच ठोस सहमति हुन बाँकी छ । यसका लागि केन्द्रमै छलफल हुने र दलहरुबीच समझदारी बन्ने नेताहरु बताउँछन् । यद्यपि प्रदेश तहमा हाल तीनवटा दलले मुख्यमन्त्रीका लागि दाबी गरेका हुन् ।

मुख्यमन्त्रीमा काँग्रेसको दाबी रहन्छ : सचेतक लामा

बागमती प्रदेश सरकारको नेतृत्वको विषयमा नेपाली काँग्रेसले स्वाभाविक रुपमा दाबी गर्ने काँग्रेसका बागमती प्रदेशसभा सचेतक छिरिङ दोर्जे लामा बताउँछन् ।

नेपाली काँग्रेसले बागमती प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने उनले बताए । तर, सरकारको नेतृत्व गठबन्धन दलहरुबीच सहमति र सहकार्यकै आधारमा चयन हुने उनको भनाइ छ ।

गठबन्धनमा रहेका दलहरूसँगको सहमतिमै प्रदेश १ र बागमती प्रदेशमध्ये कुनै एउटा प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व लिने उनले रातोपाटीलाई बताए । काँग्रेस संसदीय दलका नेता बानियाँले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी रहने यसअघि नै बताइसकेका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि संसदीय प्रक्रियालाई व्यवस्थित कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बागमती प्रदेश काँग्रेस संसदीय दलका सचेतक लामा बताउँछन् । उनका अनुसार वर्तमान अवस्थामा सरकारको नेतृत्व गरिरहेको दल विभाजित भएको र सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने वा नेपालको संविधानको धारा १८८ (२) को व्यवस्था अनुरुप संसदबाट विश्वासको मत लिनुपर्ने उनले प्रस्ट पारे । तत्काल गठबन्धनको ध्यान त्यसतर्फ नै केन्द्रित रहेको उनले बताए ।

दाबी गरे पनि हामीले नेतृत्व पाउने सम्भावना छैन : जम्कट्टेल

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारको नेतृत्वको लागि आफ्नो पार्टीले पनि दाबी गर्ने बताए । तर तीन वटा अन्य प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएका कारण बागमती प्रदेशमा पनि माओवादी केन्द्रलाई नै सरकारको नेतृत्व गर्न दिनेमा गठबन्धनका अन्य घटक सहमत हुन नसक्ने सम्भावना रहेको उनले बताए ।

‘गठबन्धनमा रहेका अन्य दललाई पनि सरकारको नेतृत्व दिनुपर्ने भएकाले बागमती प्रदेशमा हामीले सरकारको नेतृत्व पाउने सम्भावना छैन,’ उनले भने, ‘तर नेतृत्वका लागि माओवादी केन्द्र पनि दाबेदार हो । सरकारको नेतृत्व नपाए पनि हामी सरकारमा सहभागी भएर अघि बढ्नेछौँ ।’

नेतृत्व हामीले नै पाउने हो : पाण्डे

बागमती प्रदेश सरकारको नेतृत्वको लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । गठबन्धनका तर्फबाट सरकारको नेतृत्व आफूले गर्ने उनले रातोपाटीलाई बताए ।

देशका कुनै पनि प्रदेशमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व नगरेको भन्दै उनले बागमती प्रदेश सरकारमा आफ्नो दाबी रहने जानकारी दिए । गठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रले अन्य प्रदेशमा नेतृत्व गरिरहेकाले पनि कतै नेतृत्व नपाएको आफ्नो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।

प्रदेशसभाको अंक गणित यस्तो छ

बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन् । अब एमालेमा ४४ सांसदमात्र छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २÷२ जना र एक स्वतन्त्र सांसद् छन् । प्रदेश सरकार गठनका लागि ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत जुटाउन थप ११ सांसदको समर्थन खोज्नुपर्ने हुन्छ । तर अहिलेको समीकरणमा उनले बहुमतको आँकडा छुन सक्ने सम्भावना देखिएको छैन ।

गठबन्धनका तर्फबाट माओवादी, काँग्रेस र एकीकृत समाजवादी मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ । एकीकृत समाजवादीका १२, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसदका साथ गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने अवस्था छ ।

भदौ २ गते अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय माधवकुमार नेपाल पक्षमा खुलेकी उनी पार्टी विभाजन हुने अवस्थामा एमालेमै सामेल भएर सरकारको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरिन् । तर पार्टी विभाजनपछि एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा १२ सांसद सामेल भएपछि भने एमाले अल्पमतमा परेको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप