बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले विभाजन : भक्तपुरमा यस्तो छ एमाले र नेकपा एकीकृत समाजवादीको अवस्था

बुधबार, १६ भदौ २०७८, १० : ३९
बुधबार, १६ भदौ २०७८

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै सो पार्टीबाट निर्वाचित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसमेत दल रोज्न थालेका छन् । एमाले विभाजनसँगै भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि पनि एमालेमा रहने कि विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा रहने भन्नेबारे टुङ्गोमा पुग्दैछन् ।

२०७४ सालमा सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यमा जितेको थियो । २ नम्बर क्षेत्रकै प्रदेशसभा (क) सूर्यविनायक र (ख) मध्यपुर दुवै क्षेत्र एमालेले नै जितेको थियो । एमालेले भक्तपुरकै क्षेत्र नम्बर १ (क) प्रदेश सभासमेत जितेकोमा उपनिर्वाचनमा भने उक्त सिट गुमायो । स्थानीय तहको निर्वाचनमा ३ नगरपालिकाका प्रमुख र दुई उपप्रमुख, १२ वडा अध्यक्ष पदमा जित हासिल गरेको छ ।

एमाले टुक्रिएपछि को कता लागे ?

पार्टी विभाजनपछि पनि संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट जितेका सांसद महेश बस्नेत नेकपा एमालेमै छन् । उनी पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हरेक अवस्थामा साथ दिने मध्येका एक नेता हुन् ।

२ नम्बर क्षेत्रको प्रदेशसभा (क) सूर्यविनायक नगरपालिकामा पर्दछ । सो प्रदेशसभा सिटमा निर्वाचित सांसद शशीजंग थापा एमालेमै रहने भएका छन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मध्यपुर नगरपालिकामा पर्दछ । त्यस क्षेत्रबाट निर्वाचित सांसद डा. राजेन्द्रमान श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गराइसकेका छन् । उनले मंगलबार हेटौंडा पुगेर सनाखत गरेका हुन् ।

प्रदेशसभाको समानुपातिक तर्फकी सांसद सरस्वती वाटी पनि एमालेमै रहने भएकी छन् ।

नगरपालिकातर्फ

चाँगुनारायण नगरपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडा नम्बर ३, ४, ६ र ८ मा एमालेले वडा अध्यक्ष पदमा जित हासिल गरेको थियो । यस नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख वीणा बास्तोला एमालेमै रहने जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।

यस नगरपालिकाको २ नम्बर वडाका वडा सदस्य मोहन पौडेलमात्र नेकपा एकीकृत समाजवादी पार्टीतर्फ लागेका छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल, ४ का बुद्धिलाल महर्जन, ६ का सन्ते वाइवा र ८ का परासर सापकोटा एमालेमै रहने भएका छन् ।

सूर्यविनायक नगरपालिका एमालेले नगरप्रमुख, उपप्रमुखसहित वडा नम्बर १, ४, ५, ७, ८, ९ र १० नम्बरमा वडा अध्यक्ष र सदस्य पदमा जितेको थियो । यस नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत एमालमै बस्ने भएका छन् ।

वडा नम्बर १ का अध्यक्ष सानुकाजी कायस्थ, ४ का उत्तम थापा, ५ का राजकुमार जोशी, ७ का रविन्द्र सापकोटा, ८ का किरण थापामगर, ९ का उपेन्द्र केसी र १० का शिवराम राउत पनि एमालेमै रहने स्रोतले बतायो ।

मध्यपुरथिमि नगरपालिका एमालेले नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र एक जना वडा अध्यक्ष जितेको थियो । उनीहरु दुवैजना एमालेमै रहने भएका छन् ।

जिल्ला समन्वय समिति

भक्तपुर जिल्ला समन्वय समितिमा प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवरसहित सम्पूर्ण सदस्यहरु एमालेमै रहने भएका छन् ।

यसबाहेक भ्रातृ संगठनहरु युवा संघ, अनेमसंघ, अनेरास्ववियुलगायतमा एमाले बलियो देखिएको छ । यद्यपि पार्टी रोज्न पाउने समय केही दिन बाँकी रहेकाले पनि त्यतिबेलासम्मको अवस्था कस्तो रहन्छ भन्ने यकिन गर्न कठिन देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप