शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा एमालेका १० सांसदले आज नेकपा समाजवादीको पक्षमा सनाखत गर्दै

बुधबार, १६ भदौ २०७८, ०९ : ५२
बुधबार, १६ भदौ २०७८

नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा खुलेको प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका छन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर  नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ समाजवादीको पक्षमा सनाखत गर्दैछन् ।

समाजवादीमा आवद्ध भएको १० प्रदेश सांसदमध्ये नेता राजेन्द्र राई, कृष्णाकुमारी राई र गणेश काङ्माङ पार्टीको केन्द्रीय सदस्य हुन् ।

‘एमाले छाडेर समाजवादी पार्टीमा आवद्ध भएका हामी सबै (१०) सांसद सनाखतका लागि निर्वाचन कार्यालय जाने तयारीमा छौ,’ नेता राईले भने, ‘निर्वाचन कार्यालयमा जान आवश्यक कागजी प्रकृया पनि पुरा भइसकेको छ ।’

निर्वाचन कार्यालयमा ११ बजे गएर सनाखतको गर्ने उनले बताए । राईको नेतृत्वमा समाजवादीमा आबद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भएपनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो ।

बागमती र सुदूरपश्चिम प्रदेशमा समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन् । नेता राईले भने जस्तै १० जना सांसदले एमाले छाडेर समाजवादी रोजेको अवस्थामा एमाले सचिव भीम आचार्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

एमालेबाट अलग भएर गठन भएको समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको छ ।

यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ । यसअघि नेपाल समूहमा १८ सांसद आबद्ध थिए ।

पार्टी विभाजनपछि नेपालको साथ छोडेर आचार्य प्रदेशको मुख्यमन्त्री बनेका छन् । त्यसैगरी अर्का नेता जीवन घिमिरेले पनि नेपालको साथ छाडेर एमालेमा फर्किएका छन् । आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारीसहितका विभिन्न ‘अफर’ गरेका छन् । तर, उनले प्रभावमा १० जना सांसदमध्ये कोहि नपर्ने बरु थप सांसदले सनाखत गर्ने राईको भनाइ छ ।

प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने विपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् ।

गएको बिहीबारमात्र प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले नेपालको संविधानको धारा १६८ (१)अनुसार बहुमत प्राप्त दलको नेताको रूपमा आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 

मुख्यमन्त्री आचार्य संविधानको धारा १६८ को उपधारा १ अनुसार नियुक्त भएकाले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने बाध्यता रहँदैन । तर सरकारको नेतृत्व गरेको दल विभाजन भएका कारण ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उनले विश्वासको मत लिनुपर्ने हुन्छ ।

संविधानको धारा १८८ को उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैले पनि मुख्यमन्त्री आचार्यले संवैधानिक बाध्यताका आधारमा विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको अवस्थामा प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद मात्र देखिन्छन् । उनलाई बहुमतका लागि थप ६ सांसद आवश्यक पर्ने देखिन्छ । जसका कारण उनी प्रदेश सभामा विश्वासको मत गुमाएको अवस्थामा आचार्य नेतृत्वको सरकार गुम्ने खतरा छ । 

तर कुनैपनि हालतमा सत्तारुढ दल एमाले सत्ता जोगाउने रणनीतिमा देखिएको छ । सत्ता गुम्न नदिन उसले साना दलसँगको सहकार्य गर्ने रणनीति बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप