शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के छालामा आउने स्ट्रेच मार्कको उपचार सम्भव छ ?

स्ट्रेच मार्क आएको छ भने यस्तो गर्नुस्
बुधबार, १६ भदौ २०७८, ०७ : ३२
बुधबार, १६ भदौ २०७८

काठमाडौँ– स्ट्रेच मार्क अर्थात् छालामा आउने धर्साहरू साधारणतया गर्भावस्थामा पेटमा मात्रै आउँछ भन्ने आम धारणा छ । तर पछिल्लो समय स्ट्रेच मार्क गर्भावस्थाका महिलामा मात्रै नदेखिएर १५/१६ वर्षका किशोर किशोरीमा समेत देखिन थालेको छ । शरीरका विभिन्न भागमा स्ट्रेच मार्क देखिन थालेपछि युवायुवती असहज मान्ने, चिन्तित हुने, गर्मी याममा छोटा अर्थात् हाफ लुगा लगाउँदा स्ट्रेच मार्क देखिन्छ कि भनेर चिन्तित हुने गरेको पाइन्छ । स्ट्रेच मार्क अर्थात् छालामा आउने धर्साहरू रोग हो वा होइन; छालामा राता, सेता धर्सा किन आउँछ, कुन उमेर समूहमा यस्तो समस्या देखापर्छ, कसरी स्ट्रेच कम गर्ने, के उपचार सम्भव छ ? जस्ता प्रश्नमा वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्ण यस्तो भन्छन् ।

गर्भवती महिलामा मात्रै स्ट्रेच मार्क आउँछ भन्ने धेरैको विश्वास छ । अहिले १५/१६ वर्षको उमेरदेखि नै स्ट्रेच मार्क अर्थात् छालामा धर्साहरू देखिन थालेको छ । खासगरी पेट, छाती, पाखुराको पछाडिपट्टि, खुट्टाको पछिल्लो भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिने गर्छ । स्ट्रेच मार्क जुन अङ्गमा मासु बढी लागेको हुन्छ अर्थात् जुन अङ्गमा मासु जम्मा हुन्छ त्यहाँ बढी देखिने गर्छ ।

शरीरको छाला तन्किँदा स्ट्रेच मार्क देखिने गर्छ । जनमानसमा गर्भावस्थामा पेटमा मात्रै यो देखिन्छ भन्ने अझै पनि जनविश्वास छ । तर पहिला पहिला पनि अन्य उमेर समूहका मानिसमा स्ट्रेच मार्क देखिए पनि कम मानिसमा देखिने भएकाले याद हुँदैनथ्यो । पछिल्लो समय बालबालिका तथा युवायुवतीमाको चाँडो वृद्धि विकास भएको छ अर्थात् युवायुवती उमेर समूहको दाँजोमा चाँडै मोटाएका छन् । खानपान र लाइफ स्टाइल कारण समय र उमेरभन्दा चाँडै बच्चा, किशारकिशारीको वृद्धि विकास भएको छ । उदाहरणका लागि पहिला कलेज पुगेपछि जुँगा आउँथ्यो भने आजकल ८/९ कक्षामा पढ्दापढ्दै आउँछ । शरीरको वृद्धि विकास अर्थात् मोटाउँदा छाला तत्कन्छ, त्यसपछि स्ट्रेच मार्क देखिन्छ ।

स्ट्रेच मार्क कस्तो अवस्थामा आउँछ ?

–शरीरको वृद्धि विकास अर्थात् उमेरभन्दा चाँडै मोटाउँदा स्ट्रेच मार्क आउँछ ।

–मोटाइसकेपछि चाँडै दुब्लाउँदा स्ट्रेच मार्क आउँछ ।

—गर्भावस्थामा स्ट्रेच मार्क आउँछ ।

आमाको पेटमा बच्चा ६ महिना पुगेपछि वृद्धि विकास एकदम चाँडै हुन्छ । पेटको छालाको माथिल्लो लेयरमा केही पनि हुँदैन । तर छालाको भित्री लेयर च्यातिन्छ । किशोर किशोरीहरू पनि मोटाउँदा छाला धेरै तन्किएर माथिको छालामा केही असर देखिँदैन । तर भित्री लेयरको छाला तन्किन्छ । धेरै छाला तन्किएपछि मास सेल फुट्छ । यसले छालालाई फब्रोप्लास्टिक एक्टिभिटी कम गरिदिन्छ; जसले छालाको रेसाहरू बनाउँछ, तन्काउँछ । जुन ठाउँमा छाला तन्किन्छ तत्काल आफ्नो ठाउँमा आउन सक्दैन अर्थात् फब्रोप्लास्टिक एक्टिभिटी कम भएको छ भने छालाका भित्री रेसा च्यातिन्छन् । च्यातिएपछि बीचमा खाल्डो पर्छ । त्यसैले सुरुमा स्ट्रेच मार्क रातो हुन्छ । सुरुमा स्ट्रेच मार्क आउँदा ६ महिनादेखि १० महिनासम्म रातो भएर बस्छ । रातो रङबाट स्ट्रेच मार्क सेतो भयो भने त्यसलाई पुरानो खालको स्ट्रेच मार्क पनि भनिन्छ ।

शरीरको वृद्धि विकास हुँदा जस्तै मोटाउँदा बढ्दा स्ट्रेच मार्क आउने गर्छ । एकै पटक शरीरको तौल घटाउँदा स्ट्रच मार्क आउने गर्छ । यस्तै हर्मोनका कारण र विभिन्न औषधिको प्रयोगबाट पनि स्ट्रेच मार्क आउन सक्छ । कतिपय छालाका रोगीलाई स्टेरोइड औषधि चलाउनुपर्ने हुन्छ । यस औषधिबाट पनि हार्मोनहरू गडबड हुन सक्छ । वंशाणुगत रोगका कारण स्ट्रेच मार्क शरीरभरि आउन सक्छ वा शरीरको कुनै अङ्गमा ठूलो आकारमा स्ट्रेच मार्क आउँन सक्छ ।

स्ट्रेच मार्कको रोकथाम कसरी गर्ने ?

१. स्ट्रेच मार्क रोक्नका लागि नियमित शारीरिक अभ्यास गर्नुपर्छ । दैनिक व्यायाम, योगा अभ्यासले छालाको तन्कने क्षमतालाई विकास गर्छ ।

२. स्वस्थकर खानामा बढी जोड दिनुपर्छ । जङ्कफुडहरू जस्तै आइसक्रिम, पिज्जा, बर्गरमा बढी चिल्लो र क्यालोरी हुने भएकाले चाँडै शरीरको वृद्धिविकास हुन्छ ।

३. शरीरमा सकेसम्म नियमित मालिस गर्नुपर्छ । छालामा तेल, मोस्चाइजर, लोसन लगाउँदा छालाको तन्कने क्षमता बढ्छ । बडी मसाजले स्ट्रेच मार्क हुनबाट जोगाउँछ । सुख्खा छालाभन्दा तेलिय छालामा तन्कने क्षमता बढी हुन्छ ।

स्ट्रेच मार्क रोग होइन

स्ट्रेच मार्क रोग होइन । स्ट्रेच मार्क चिलाउँदैन, दुख्दैन । स्ट्रेच मार्क आएका व्यक्तिमा हीनता बोध हुने गरेको पाइएको छ । शरीरमा स्ट्रेच मार्क रातो खालको आएको खण्डमा मलमहरू लगाएर कम गर्न सकिन्छ । रातो खालको स्ट्रेच मार्क भएकाहरूले ३ देखि ६ महिनासम्म औषधि अर्थात् मलम लगाएर कम अनि निको पार्न सकिन्छ । तर स्ट्रेच मार्क सेतो भइसकेको अवस्थामा मलम अर्थात् क्रिमले निको पार्न सकिँदैन । सेतो भएको स्ट्रेच मार्कलाई विभिन्न प्रविधिहरूको प्रयोगबाट निको पार्न सकिन्छ । तर स्ट्रेच मार्कको उपचार छोटो समयमा हुँदैन । यसको उपचारका लागि धैर्यधारण नगरेसम्म सम्भव हुँदैन । उपचारको लागि ६ महिनादेखि १ वर्षसम्म पनि लाग्न सक्छ ।

स्ट्रेच आफै निको हुन्छ ?

स्ट्रेच मार्क आउँदा छाला तन्किसकेको हुन्छ । छाला तन्किसक्ने भएकाले उपचारबिना प्रकृतिक रूपमा निको हुँदैन । यद्यपि छालामा विस्तारै चाउरीपन आएपछि ती धर्साहरू पुरिँदै जान्छन् । निको चाहिँ हुँदैन । त्यसैले स्ट्रेच मार्क देखिने वित्तिकै तत्काल उपचार गर्न जरुरी छ ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप