शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

महामारीमा कसरी चम्कियो सेयर बजार ?

दोब्बर बढे मेरोशेयर/डिम्याट प्रयोगकर्ता, आईपीओको बाढी
बुधबार, १६ भदौ २०७८, ०७ : ००
बुधबार, १६ भदौ २०७८

२०७६ साल चैत महिनासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११/१२ सय अङ्कमा रुमल्लिइरहेको थियो । २०७३ साउन महिनामा १८ सय ८१ अङ्कको उच्च बिन्दुमा पुगेको नेप्से त्यसपछि करिब साढे तीन वर्षसम्म निरन्तर घटेर उक्त अङ्कमा आइपुगेको थियो ।

२०७६ पुसदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नेपाल छिरिसेकेको थियो । परिणामस्वरूप २०७६ सालको चैत ११ गतेदेखि नेपाल सरकारले देशव्यापी लकडाउन नै घोषणा गर्नुप¥यो । सबै क्षेत्र पूर्णरुपमा ठप्प हुने गरी बन्द गर्ने घोषणासँगै लगानीकर्ता आत्तिए । शेयर बजार पनि बन्द गर्नुपर्छ भन्दै नियामकलाई दबाब दिन थाले ।

चैत ९ गते लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड नै घेर्न पुगे । बोर्डले सरकारको निर्देशानुसार अनिश्चित कालका लागि बजार बन्द हुने घोषणा ग¥यो । त्यसपछिको ५० औँ दिनसम्म बजार बन्द नै रह्यो । वैशाख ३० (मंगलबार) र ३१ गते (बुधबार) बजार त खुल्यो, तर पुरै नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर बन्द भयो ।

दुई दिनको थोरै अवधि मात्रै कारोबार हुँदा करिब ५० अङ्कले घट्दै नेप्से परिसूचक १२०१ अङ्कमा आएर बन्द भयो । बजारमा ठुलो अङ्कको गिरावटसँगै लगानीकर्ता आत्तिएको देखेपछि बोर्डले फेरि बजार बन्द घोषणा ग¥यो । तर, त्यसपछि केही समय बन्द भएर खुलेको शेयर बजार र लगानीकर्ताले पछाडि फर्केर हेर्नुपरेन ।

बोर्डले वैशाख ३१ गतेदेखि बन्द गरेको नेप्से असार १५ देखि फेरि खुल्यो । बजार खुलेको सुरुवातका केही दिन शेयर बजारको भविष्य अनिश्चित बने पनि त्यसयता निरन्तर बढेर हाल बजारले ३२ सय अङ्क नजिक पुगिसकेको छ । यद्यपि, पछिल्लो केही दिनयता शेयर बजारमा निरन्तर करेक्सन आएको देखिन्छ । २०७७ सालको असार १५ देखि २०७८ सालको भदौ महिनासम्म आइपुग्दा ३२ अङ्कलाई लक्ष्य मान्दा बजार १९२३ अङ्कले बढेको छ ।

तर, यही अवधिमा नेपालको समग्र अर्थतन्त्र खुम्चिरहेको सरकारी आँकडाले देखाउँछ । यो अवधिमा नेपालमा करिब १६ लाख बेरोजगार भएको र थप १२ लाख गरिब भएको योजना आयोगको मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिले प्रतिवेदन तयार पारेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक बनेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यस्तै, गत आर्थिक वर्षमा पनि निषेधाज्ञा लगायतका कारणले नेपालको आर्थिक वृद्धिदर माइनसमै जान सक्ने सरकारी आँकलन छ ।

यद्यपि, यही समयमा नेप्से परिसूचकले कोरोना कालमा नेपालको अर्थतन्त्र र नेपालीको आम्दानीमा परेको असरलाई बिर्सेर दिनदिनै परिसूचक र कारोबार रकममा नयाँ कीर्तिमान कायम गर्दै छ ।

लकडाउनपछि बजारले समातेको बाटो

सामान्यतया नेपालको शेयर बजारमा ४ वर्षे साइकल भएको मानिन्छ । सोहीअनुसार २०७३ सालको साउनमा शेयर बजार तत्कालीन समयको सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । उक्त मितिमा बजारले १८८१ अङ्कको उचाइ लिएको थियो ।

तर, तत्कालीन समयमा सबैभन्दा बढी उचाइ लिएपछि बजारमा ‘बियरिस’ साइकल सुरु भयो र घट्न थाल्यो । फलस्वरुपः त्यसपछिको झण्डै साढे तीन वर्षे अवधिमा बजार एक हजार अंकतर्फको बाटोमा लागेर ११/१२ सय अङ्कको आसपासमा रुमलियो । कोरोना भाइरस महामारी उत्कर्षमा पुग्ने समयसम्म नेपालको बजारले आफ्नो चार वर्षे ‘बियरिस’ अवधि सकिसकेको लगानीकर्ताहरू बताउँछन् ।

पूर्व बैंकर अनलराज भट्टराईले नेपालको शेयर बजारको चक्र तीन/चार वर्षको भएकाले चार वर्षे बियरिस अवधि सकेर बुलिस ट्रेण्ड समातेको बताए । यद्यपि, अबको शेयर बजारमा चार वर्षे साइकलले काम नगर्ने बताए । भने, ‘यसअघि २ लाख सक्रिय लगानीकर्ता हुँदा बजारले चार वर्षे साइकल पुरा गर्थ्यो । अब ८/९ लाख सक्रिय लगानीकर्ता पुगिसकेका छन् ।’ त्यसैले अब घटबढको साइकलले नयाँ नियम कायम गर्न सक्ने उनको विश्लेषण छ ।

उनले यसअघि २०७२ सालको भूकम्पपछि २०७३ सालमा नेप्से परिसूचक १८८१ अङ्कमा पुगेको बताए । यसका मुख्य कारण भूकम्पका कारण अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा सबै क्षेत्रको पुँजी नेप्सेमा आउँदा बजार निरन्तर बढ्ने गरेको विगतको तथ्यले देखाउने उनको भनाई छ । यस्तै, बजार १८८१ मा पुग्दा बजारले आफ्नो बुलिस चक्र सकेर अन्तिमतिर आइसकेको थियो । जसकारण, बजार निरन्तर साढे ३ वर्षसम्म घट्दै करिब एक हजार बिन्दुतर्फ आइपुगेको थियो ।

लगानीका क्षेत्रमा खुम्चिँदा शेयरमा लगानी

खासगरी, २०७६ सालदेखि विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि गरिएको लकडाउनले सबै क्षेत्र ठप्प बन्यो । जसले, लगानीका सबै क्षेत्र बन्द भए र शेयर बजार खुलिरह्यो । लकडाउनको समयमा रियल स्टेट, ठेकेदार, व्यापारी, उद्योगीको सबै क्षेत्र बन्द भए । जसले लगानीको क्षेत्र खुम्चियो र शेयरमा पैसा खनियो । 

जसले बजारमा अत्यधिक शेयरको माग सृजना गरायो र मूल्य बढाउन सहयोग पुग्यो । सबै क्षेत्रको पैसा एकै ठाउँमा आएर थन्किँदा बजारले दिनदिनै नयाँ नयाँ कीर्तिमान कायम गर्दै गएको भट्टराईले बताए । यहीकारण २०७७ सालको पुससम्म पनि मुस्किलले दैनिक ३ अर्ब रुपैयाँको कारोबार हुने शेयर बजारमा अहिले दैनिक २१ अर्बसम्मको कारोबार कीर्तिमान बनेको छ ।

यस अवधिमा नेपालका वाणिज्य बैङ्कहरूले समेत शेयर बजारमा लगानी गरेर नाफा आर्जन गरेका छन् । वाणिज्य बैङ्कहरूको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६३ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचीकृत २७ कम्पनीहरूले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढी हो । अघिल्लो वर्षमा नाफा खुम्चिएका बैङ्कहरूले यो वर्ष भने शेयरमा लगानी गर्दा मनग्ये आम्दानी गरेका हुन् । यसैगरी, यस अवधिमा फाइनान्स र विकास बैङ्कले पनि शेयरमा लगानी गरेर नाफा आर्जन गरेका छन् ।

कोरोना कालमा नेपालको मात्र नभई भारत, हङकङ र अमेरिकाको शेयर बजारले दिनदिनै नयाँ कीर्तिमान कायम गरेका थिए । र, यो क्रम अहिलेपनि जारी छ । पुसमा ४७ हजार ४७० अङ्कमा रहेको भारतको शेयर बजार परिसूचक बम्बई स्टक एक्सचेञ्ज (सेन्सेक्स) हाल ५७ हजार अंकभन्दा माथि पुगेको छ । यसैगरी, २०७६ सालको माघमा १२ हजार १०७ अङ्कमा रहेको भारतको नेश्नल स्टक एक्सचेञ्ज (निफ्टी) १७ हजारभन्दा माथि पुगिसकेको छ ।

यसका साथै, २०१९ डिसेम्बरमा १३ हजार आसपासमा घुमिरहेको अमेरिकी शेयर बजार न्यूयोर्क स्टक एक्सचेञ्ज अहिले १६ हजारभन्दा माथि पुगेको छ । यसले कोरोना महामारीको समयमा नेपालको मात्र नभई विश्वभरको शेयर बजार उचालिएको प्रष्ट पार्छ ।

दोब्बर बढे मेरोशेयर/डिम्याट प्रयोगकर्ता

आर्थिक वर्ष २०७६/७७ यता शेयर बजारमा सर्वसाधारणको आकर्षण बढेको छ । नेपाल सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा डिम्याट प्रयोगकर्ताको सङ्ख्या जम्मा १७ लाख २३ हजार जना थिए ।

त्यसयताको अवधिमा डिम्याट प्रयोगकर्ताको सङ्ख्या बढेर ४२ लाख भन्दा माथि हजार पुगेको छ । जुन, अघिल्लो आर्थिक वर्ष यताको १३ महिनामा २४ लाख भन्दा बढीको वृद्धि हो ।

यस्तै, क्लियरिङले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा मेरोशेयर खाताको सङ्ख्या सात लाख ४२ हजार रहेको बताएको छ । जुन, अहिलेसम्म २६ लाखले बढेर ३३ लाख भन्दा माथि पुगेको छ । क्लियरिङका प्रवक्ता सुरेस न्यौपानले माथिको तथ्याङ्कले एक वर्षको अवधिमा नेपाली शेयर बजारमा सक्रिय लगानीकर्ताको सङ्ख्या बढेको पुष्टि हुने बताए ।

उनले विगतका वर्षहरूमा पूँजीबजार प्रति कुनै आकर्षण नराख्ने र विश्वास नगर्ने सर्वसाधारण अहिले मरिहत्ते गरेर बजार प्रवेश गरेको तथ्याङ्कले देखाएको बताए । जसले थोरै हदसम्म बजारलाई बढ्न सहयोगी भूमिका खेलेको हुनसक्ने उनको भनाई छ ।

२०७६ सालको अन्तिमतिर प्रतिकित्ता एक सय रुपैयाँमा निष्कासन भएको नेपाल रि–इन्स्योरेन्स कम्पनीको शेयरले पाएको सफलताले सर्वसाधारणलाई शेयर बजारमा आकर्षण गर्यो । उक्त कम्पनीको शेयर १८०० सम्म पुग्दा सय रुपैयाँका दरले ४०/५० कित्ता शेयर पाएका लगानीकर्ताले मनग्य आम्दानी गरे । जसले मेरोशेयर र डिम्याट खातामा सर्वसाधारणको चासो बढेको छ ।

मेरोशेयर र डिम्याट प्रयोगकर्ताको सङ्ख्या बढ्दा शेयर बजारमा उनीहरूको लगानी बढ्ने नै भयो । झण्डै दुई गुणाभन्दा बढीले बढेका लगानीकर्ताको थोरै मागले बजारमा ठुलो माग सृजना गर्यो । जसले धेरै वटा कम्पनीको शेयर मूल्य ह्वात्तै बढ्न सहयोग पुग्यो ।

प्रविधिमैत्री बजार

यसैगरी, अहिले नेपालको शेयर बजारमा अनलाइन प्रविधि भित्रिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपालमा अनलाइन प्रविधि लञ्च गरेपछि लकडाउनमा यो प्रविधि बरदान नै सार्वजनिक बन्यो । भट्टराईले अनलाइनमार्फत लगानीकर्ताले शेयरमा लगानी गरिरहेको बताए । उनले अनलाइन सुरु नहुँदा २ लाखको हाराहारीमा रहेका सक्रिय लगानीकर्ता अहिले ८ लाख पुगेको बताए ।

भने, ‘हिजोको दिनमा अफिस टाइममा शेयर खरिद/बिक्रीको सम्भावना नै थिएन । तर, अहिले अफिसमै बसेर शेयर किनबेच गर्न सक्ने भएपछि धेरैको आकर्षण बढ्यो ।’ प्रविधिमैत्री बजार भएपछि लगानीकर्ताले लकडाउनमा पनि घरबाट शेयर खरिदबिक्री गर्न थाले । अनलाइन कारोबार प्रणाली (टीएमएस) मार्फत शेयर कारोबार गर्नेहरूको सङ्ख्या साढे ८ पुगेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका छन् ।

आईपीओको बाढी

गत आर्थिक वर्ष २०७७/७८ मा २१ वटा कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गरेका छन् । यीमध्ये २० वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत समेत भइसकेको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन भएको छ । यसले बजारको क्यापिटलाइजेसन बढाउन ठुलो भूमिका खेलेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डले गत आर्थिक वर्ष आईपीओ निष्कासनको कीर्तिमान बनेको समेत बताएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ११ वटा कम्पनीको साधारण शेयर आईपीओ निष्कासन भएको थियो । ती कम्पनीहरूले ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको आईपीओ आएको थियो । यस अवधिमा ३ करोड ९९ लाख कित्ता बराबर शेयर निष्कासन भएको थियो । यसअघिका वर्षहरूमा यतिधेरै रकमको शेयर निष्कासन हुने गरेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप