बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘एमाले छोड्छु, तर माधवको पार्टीमा ढोका बन्द भयो’

अब सहअध्यक्ष पनि चाहिँदैन, उपाध्यक्षमै बस्न तयार छु भनें
बुधबार, १६ भदौ २०७८, ०६ : १४
बुधबार, १६ भदौ २०७८


माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ ।’

मैले भनेँ, उहाँ (झलनाथ) लाई वरियतामा दुई नम्बरमै राख्नु, म सहअध्यक्ष भए पनि तीन नम्बरमा राख्दा तपाईंलाई सहयोगका निम्ति ठिक हुन्छ ।

यस्तो सल्लाह गर्दा केशवलाल र हरि पराजुली पनि हुनुहुन्थ्यो । त्यस क्रममा माधव नेपालले सल्लाह गरेर जवाफ दिन्छु भन्नुभयो । तर, जवाफ दिनुभएन । साथीहरूसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको, आजसम्म केही पनि छैन । अहिले मेरो विरुद्धमा एउटा आर्टिकल आएको छ । माधव नेपालको पार्टीले मेरो चरित्र हत्या गर्‍यो ।

पार्टी दर्ता भएपछि मैले घोषणापत्र हेरेँ । मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद मात्रै रहेछ, जबज हटेको छ । त्यो घोषणापत्र लिएर म, हरि पराजुली र केशवलाल श्रेष्ठ माधव नेपालकोमा गयौँ । जबज छुटेको हो कि छुटाएको हो भन्दा उहाँले यो नहालेकै हो भन्नुभयो ।

उहाँले जनताको बहुदलीय जनवादलाई सिद्धान्तमा राख्न सक्नुहुन्न । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइसकेपछि त म बस्न सक्दैन । त्यसलाई पुनर्विचार गर्नुहुन्छ भने विचार गर्न सकिन्छ, यदि पुनर्विचार हुँदैन भने म तपाईंसँग रहन सक्दिनँ भन्ने कुराकानी गरेँ ।

उहाँले त्यसो नगर्नुस्, यहीँभित्र छलफल गरौँ, भित्र छलफल गरेपछि (जबज) पुनर्स्थापना पनि गर्न सकिन्छ, तर छिटो आउनुस् भन्नुभयो । मैले छिटो आउने कुरा होइन, अरू पनि व्यवस्थापन गर्न बाँकी नै छ, विधानमा अरू के के छ, त्यो हेर्न बाँकी नै छ । त्यसैले मेरो पहिलो प्रतिक्रिया जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्तबाट हटाइसकेपछि म रहन सक्दैन, तपाईंले यो हटाउनुहुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ भन्दिएँ । तपाईंले पार्टी दर्ता गरेपछि आउँछु भनेको थिएँ । तर, अब यो घोषणापत्रमा तपाईंले जबज हटाइसकेपछि म आउनुको अर्थ हुँदैन । जबज हटेपछि म पार्टीमा आउन सक्दैन भनेर आएको हो ।  

मैले जिन्दगीभरि, जबज अघि सारेदेखि यसलाई निर्माण गर्न, घोषणा गर्न र स्थापित गर्न सङ्घर्ष गरेँ । मदन भण्डारीको देहान्तपछि आजको परिस्थितिमा जबज विकसित गर्ने म हो । यसमा मैले लेखेको, बोलेको छु । माधवजीले मैले पनि धेरै लेखेको छु भन्नुभयो । तर, लेखे पनि अहिले छोडेपछि त्यसको के अर्थ भयो र ?

उहाँले पछि पुनर्स्थापना गर्न सकिन्छ नि भन्नुभयो । उहाँ आइहाल्नुस्, आइहाल्नुस् मात्रै भन्नुहुन्छ । उहाँले तपाई आउनुस्, छलफल गर्नुस्, साथीहरूलाई कन्भिन्स गर्नुस् भन्नुभयो ।

म तपाईंले हटाएको पार्टीमा छिर्ने, अनि गइसकेपछि मैले कुन नैतिकताका आधारमा पुनर्स्थापित गर्नुपर्छ भनेर सङ्घर्ष गर्न सक्छु ? म त्यो सङ्घर्ष गर्न किन आउने ? म त काम गर्न आउने हो, सहयोग गर्न नै हो । मैले तपाईंको पद मागेको छैन । अहिले पार्टी निर्माण गर्ने सङ्घर्षका क्रममा तपाई नै नेता हो । तपाईंलाई सहयोग गर्ने, तपाईंलाई नै नेता मान्ने हो । यसमा शङ्का गर्ने आवश्यकता नै छैन । तपाई (माधव नेपाल)लाई कसरी सहयोग गर्ने भनेर नै आउने हो ।

​मैले जहिलेदेखि उहाँ (माधव नेपाल) ले समानान्तर कमिटी बनाउने, भेला गर्ने, एमालेको ब्यानरमा गर्ने तर अलग गर्ने, पार्टी अध्यक्ष केपीलाई विरोध गर्ने काम उपयुक्त छैन, यसो नगर्नू भनेर मैले सुझाव दिएको थिएँ ।

माधव नेपालले आउनुस् भन्दा तपाईंले पार्टी दर्ता गर्नुभयो भने आउँछु भनेर सुरुदेखि, फागुन चैतदेखि नै भन्दै आएको छु । उहाँले बोलाउँदा मैले त्यसो भनेको हो ।

मैले जिन्दगीभरि, जबज अघि सारेदेखि यसलाई निर्माण गर्न, घोषणा गर्न र स्थापित गर्न सङ्घर्ष गरेँ । मदन भण्डारीको देहान्तपछि आजको परिस्थितिमा जबज विकसित गर्ने म हो । यसमा मैले लेखेको, बोलेको छु । माधवजीले मैले पनि धेरै लेखेको छु भन्नुभयो । तर, लेखे पनि अहिले छोडेपछि त्यसको के अर्थ भयो र ?

माधव नेपालकै साथमा रहेका नेताहरूले, सम्भवतः रामकुमारी झाँक्रीको एउटा इन्टरभ्यु आएको छ, त्यसमा जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भयो, त्यसमा हामी जानै सक्दैनौँ भनिसकेपछि म त्यो च्याप्टरमा कसरी प्रवेश गर्न सक्छु र ?

अब सहअध्यक्ष चाहिँदैन, उपाध्यक्षमै बस्न तयार छु भनें

सहअध्यक्षको सन्दर्भमा पार्टी दर्ता गर्नुभन्दा ६–७ दिन पहिले नै माधव नेपालसँग भएको कुरा हो । पार्टी दर्ता भएपछि घोषणापत्र मैले हेरें र अनि फेरि हामी दुईजना उहाँलाई भेट्न गयौं । त्यहाँ माधव नेपालसँगै केशवलाल श्रेष्ठ पनि हुनुहुन्थ्यो । त्यसबेला पनि केशवलाल र हरि पराजुलीले सहअध्यक्षको कुरा उठाउन खोज्नुभयो ।

मैले भनें, अब यो हुँदैन । सहअध्यक्ष विधानमै लेखेको भए त्यसमा म जानु ठीक हुन्थ्यो । पार्टी दर्ता गर्ने विधानमा तपाईले सहअध्यक्ष नराखिसकेपछि अब म त्यो सहअध्यक्ष हैन, उपाध्यक्षमा रहन्छु । माधव नेपालले र केशवलालले एउटा मात्रै अध्यक्ष राख्ने कुरा भएको छ भनिसकेपछि मैले भनें, त्यहाँ त सातजना उपाध्यक्ष छन्, सात मध्ये एउटा उपाध्यक्ष राख्नोस्, म स्वतः बरिष्ट उपाध्क्ष भइहाल्छु । बरिष्ट भनिराख्नु पनि पर्दैन भनेर मैले उपाध्यक्ष बस्नको निम्ति स्वीकृति दिएँ ।

अनि त्यसपछि जनताको बहुदलीय जनवाद हटाएको सम्बन्धमा कुरा भएको हो । मैले त सोचेको पनि थिइनँ, यस्तो कसरी भयो ? तपाई जबज छोड्नुहुन्छ भन्ने मलाई लागेकै थिएन, त्यसो भएर मैले पहिले यसबारेमा कुरै गरिनँ भनेर मैले विषय उठाएँ ।

सहअध्यक्ष मैले पार्टी दर्ता गर्नुभन्दा पहिल्यै भनेको हुँ, त्यो डेट एक्सपायर भइसक्यो, त्यसमा फर्कनै चाहिनँ । माधवजीले साथीहरुसँग छलफल गरेर सहअध्यक्षको पद सिर्जना गर्न पनि सकिन्छ भन्नुभयो ।

तर, मैले प्रतिवाद गरें । यसो गर्दा मेरो चरित्र हत्या हुन्छ । सहअध्यक्ष नभई नहुने यस्तो–उस्तो भन्ने हुन्छ, त्यसो भएकाले अब तपाईहरुले फेरि सहअध्यक्ष राख्ने नगर्नोस्, मलाई चाहिन्नँ । त्यसबेला मैले सहअध्यक्ष तपाईकै सहयोगका निम्ति भनेको थिएँ । तर, अब म सहअध्यक्ष होइन, उपाध्यक्षमै रहन्छु भनेर मैले भनें । मैले बोलिसकेको छु, त्यसो भएर म उपाध्यक्षमा रहन्छु । तर, जनताको बहुदलीय जनवाद तपाईले किन यसरी छुटाउनुभो ? सक्नुहुन्छ भने यसलाई ल्याउनोस्, म आउँछु ।

जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्तमा आउँदैन भने त बस्न सक्दिनँ भनेर म आएको हो । नयाँ पार्टीको घोषणापत्रमा पुष्पलाल, मदन भण्डारीका विचारलाई सम्मान गर्छौं भन्ने छ । उहाँका राम्रा विचारहरु हामीले अवलम्वन गर्नुपर्छ भनिएको छ । यस्तो भन्दाखेरि यो अध्ययनको विषय हो भन्ने हुन्छ, मार्गदर्शक सिद्धान्त मानेको ठहरिँदैन । यो त सूत्रमै आउनपर्यो क्या । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर आउनुपर्यो । 

माधव नेपालले साथीहरु सबै कन्भिन्स भयौं भने जनताको बहुदलीय जनवादमा पनि मेरो विरोध छैन, त्यसलाई थप्न सकिन्छ र सहअध्यक्ष पनि थप्न सकिन्छ भन्दाखेरि मैले सहअध्यक्षमा त अब जानै हुन्न, त्यसबाट मेरो ठूलो चरित्र हत्या हुन्छ भनेको छु । हिजोको अवस्थामा मात्रै पो मैले भनेको हो । निर्वाचन आयोगमा गएर एउटा दर्ता गर्ने, अनि पछि आएर थप्ने हो भने यसमा मेरो असहमति रहन्छ भनें ।

एमाले पनि छोड्छु

केपीको नेतृत्वको पार्टीमा म बस्नै सक्दिनँ । म राजीनामा दिन्छु नै । राजीनामा दिएपछि एमाले छोडेको हुन्छ, एमाले पनि छोड्छु ।

म ओलीसँग जाने कि नजाने भन्ने दोधारमा थिएँ । त्यो अवस्थामा मैले पार्टी एकताको जिम्मेवारी पाउँछु कि भनेर ओलीसँग गएँ । म तपाईंसँगै रहन्छु, तर मलाई पार्टी एकता गर्ने र वामपन्थी एकताको सरकार बनाउने जिम्मेवारी दिनुस् भनेँ । तर, प्रधानमन्त्री तपाई नै हुनुस्, मलाई जिम्मेवारी दिनुस् भनेँ । तर, मलाई जिम्मा दिनुभएन । माइन्युटमा लेख्नुस् भन्दा ‘भयो त, अरूको जस्तै तपाईंको पनि जिम्मेवारी छ’ भन्नुभयो, त्यो मैले स्वीकार गरिनँ ।

अर्को दिन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको भनेर गएको । आयोजक समितिले गरेका सबै निर्णय अनुमोदन गरियो भनेर बैठक सक्नेबेलामा भन्नुभयो । मैले त्यसको खण्डन गर्न पाइनँ । किनभने, समय नै भएन ।

अब त मूल ढोका नै बन्द भयो । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुनुपर्थ्यो । त्यो माधव नेपालले कसरी छोड्नुभयो भन्ने मलाई रहस्यमय लागेको छ । अब सच्याउनुभयो भने पनि मेरो चरित्रहत्या गरिसकेपछि मैले के गर्ने भन्ने प्रश्न खडा भयो ।

यस्तो भएपछि म उहाँ (ओली) बाट भड्किएर पछि स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनसम्बन्धी छलफल हुँदा मैले धेरै ठूलो अपमान महसुस गरेँ । मैले छलफलका लागि राखेका विचारहरूमा छलफल नै नगरी फटाफट ‘यो पास भो’ भनेर जानुभयो । अनि, मैले अब तपाईंसँग म छैन है भनेर आएको हो ।

माधव नेपालको मूल ढोकै बन्द भो !

(माधव नेपालको पार्टीमा) प्रवेश गर्नुभन्दा पहिल्यै, मैले जहिले प्रवेश गर्छु भनेको थिएँ, त्यसअघि धेरै व्यवस्थापन हुनुपर्छ । विचार, नीति आदि । कम्तीमा पनि २ हजार साथीहरूको व्यवस्थापन गर्नुपर्छ । त्यसका निम्ति के गर्ने भन्ने त मैले राखेकै थिएँ ।

अब त मूल ढोका नै बन्द भयो । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुनुपर्थ्यो । त्यो माधव नेपालले कसरी छोड्नुभयो भन्ने मलाई रहस्यमय लागेको छ । अब सच्याउनुभयो भने पनि मेरो चरित्रहत्या गरिसकेपछि मैले के गर्ने भन्ने प्रश्न खडा भयो ।

अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा साथीभाइहरूसँग सरसल्लाह गर्छु । छलफल गर्छु । अझै पनि केही साथीहरूले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा समावेश गर्न सकिन्छ कि, हामी लाग्छौँ भन्नुभएको छ, । लाग्नुस्, यदि गर्नुभयो भने मैले जानेकै छु, उहाँलाई आउँछु पनि भनेकै छु भनेको छु ।

जबज छोडेपछि त सत्ता कब्जाको राजनीतिमा गइयो । फौज बनाउने, युद्ध गर्ने, सत्ता कब्जा गर्ने, एकदलीय शासन गर्ने ठाउँमा हामी पुग्यौँ, पुग्यौँ । त्यो बाटो होइन, यो बाटो हो भन्ने हो भने जबजले मात्रै मार्गदर्शन गर्छ ।

यो सिद्धान्त परित्याग गरेपछि हामी नेपालमा पनि सफल हुँदैनौ, अरू कुनै पनि ठाउँमा सफल हुँदैनौँ । जबजको विचारका आधारमा अघि बढेपछि संसारभरि समाजवाद आउन सक्छ । अमेरिकाजस्तो देशमा समाजवाद लागु हुन सक्छ । किनकि, अबको समाजवाद भनेको पुँजीवादसहितको समाजवाद हो । त्यसो भएर संसारभर त्यो समाजवाद आउन सक्छ र त्यही समाजवादको बाटोमा हिँड्दै जाँदा एक दिन साम्यवादमा पुग्नेछौँ भनेर मैले पटक–पटक भनेको छु । मैले सबभन्दा पछि प्रकाशित गरेको ‘जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन’ भन्ने पुस्तकमा पनि राम्रैसँग लेखेको छु ।

मलाई दलको ह्विप लाग्दैन

पहिलो कुरा त मलाई राष्ट्रियसभामा हाम्रो पार्टी (नेकपा) ले सरकारलाई सिफारिस गर्‍यो । त्यो पार्टी नेकपा एमाले थिएन, नेकपा थियो । क्याबिनेटले मेरो नाम सिफारिस गर्‍यो र राष्ट्रपतिबाट मनोनीत गरिएको हो ।

राष्ट्रपतिले मनोनीत गरेकोमा कहिल्यै पनि दलको ह्वीप लागेको छैन । यस्तो अवस्थामा मलाई एमालेको ह्विप लाग्दैन र मैले पद छोड्नुपर्दैन ।

(रातोपाटीसँग कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप