शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : आफ्नै पुराना कार्यकर्तालाई नयाँ पार्टीमा ल्याउन महन्थ ठाकुरलाई सकस

मङ्गलबार, १५ भदौ २०७८, २१ : ४०
मङ्गलबार, १५ भदौ २०७८

जनकपुर । जसपा विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुरलाई नयाँ पार्टीमा आफ्ना पुराना कार्यकर्ता भित्र्याउन सकस परेको छ । प्रदेश २ का स्थानीय तहका जसपाका जनप्रतिनिधिहरु निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसपाका पक्षमा सनाखत गराउन थालेका छन् । तर नयाँ दलमा आवद्ध हुने जनप्रतिनिधिको संख्या भने निराशाजनक देखिएको छ ।

मंगलबार नेकपा एमाले र जसपा नेपाल छाडेर नेकपा एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न थालेका हुन् । प्रदेश २ को पर्सा र सर्लाहीबाहेक ६ जिल्लामा मंगलबारदेखि निर्वाचन कार्यालयमा नयाँ दल रोज्ने जनप्रतिनिधिहरुको सनाखत गर्न थालिएको हो । पर्सा र सर्लाहीमा भने बिहीबारदेखि जनप्रतिनिधिको सनाखत गर्ने जनाइएको छ ।

धनुषामा पूर्व राजपाका ११२ जनप्रतिनिधिमध्ये ५४ जनामात्र लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । उल्लेखनीय छ, महन्थ ठाकुर पक्षकै नेतृत्वमा रहेको तत्कालीन राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबीच एकता भएर जसपा नेपाल गठन भएको थियो । तर जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि तत्कालीन राजपा नेपालका कतिपय जनप्रतिनिधि भने जसपा नेपालमै रहने भएका हुन् ।

महोत्तरीमा पूर्व राजपा नेपालका २१५ जनप्रतिनिधिमध्ये १०२ जनाले मात्र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

धनुषाको १८ स्थानीय तहमध्ये मेयर/उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडाध्यक्ष १६९ र सदस्य ६४३ गरी जम्मा ८४८ जना जनप्रतिनिधि छन् । तीमध्ये तात्कालीन राजपा नेपालबाट मेयर/उपमेयर २/२ जना, वडाध्यक्ष २१ र सदस्य ८७ जना गरी ११२ जना जनप्रतिनिधि थिए । तर ११२ जनामध्ये ५४ जनामात्र लोसपाको पक्षमा सनाखत गर्न निर्वाचन कार्यालयमा पुगेका छन् ।

प्रदेश २ मा मंगलबारदेखि नयाँ पार्टी रोज्ने जनप्रतिनिधिहरुको सनाखत सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन् ।

एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा जाने प्रदेशसभा सदस्यहरुको बुधबार र जसपा छाडेर लोसपामा जाने प्रदेशसभा सदस्यहरुको सनाखत बिहीबार गर्ने उनले बताइन् ।

शुक्रबारदेखि दुवै दलका छुट भएका जनप्रतिनिधिको सनाखत गर्ने कार्यक्रम रहेको उनले रातोपाटीलाई बताइन् ।

निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट निर्वाचित भए पनि उनी जसपामै रहने भएका छन् भने उपमेयर रिता कुमारी मिश्र लोसपामा जाने भएकी छन् ।

त्यस्तै, जलेश्वरका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले भने लोसपा रोजेका छन् । उनीहरुले निर्वाचन कार्यालय महोत्तरीमा गई लोसपाका पक्षमा सनाखत गरेका छन् ।

अन्य जिल्लामा कति जनाले सनाखत गरे भन्ने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप