चेतन कार्की प्रतिष्ठान स्थापना
वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा "चेतन कार्की प्रतिष्ठान" स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।
वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारस कार्की र पङ्कज कार्की रहेका छन् । प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरूमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नायक रवीन्द्र खड्का र कवि दिव्य गिरी रहेका छन् ।
विक्रम संवत् १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । चेतन कार्कीले निर्देशन गरेको पहिलो चलचित्र "विश्वास" हो भने भूमरी दोस्रो तथा पहिलो प्रेम अन्तिम चलचित्र रहेको छ ।
यसैगरी परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यासहरु तथा कल्पना टूट चुकी है (कविता–हिन्दी/उर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रीतिको चोखो कथा (गीत संग्रह), हत्केलाले सधैँ भरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसि बियाँलो (कथा संग्रह), दिल जिगरके टुक्रे (उर्दू मूक्तक) आदि पनि रचना गरेका छन् ।
चेतन कार्कीको पहिलो नाटक आत्मा बेचेको छैन हो भने पहिलो उपन्यास पनि आत्मा बेचेको छैन नै हो। यसैगरी पहिलो गीत संगीत महर्षी नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको "दाइलाई बोलाऊ भने लेक स्वर पुग्दैन, बोलाइरन हुँदैन" हो ।
विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रङ्गमञ्चमा प्रवेश गरेका चेतन कार्की चलचित्रमा भने २०२५ सालदेखि आबद्ध भएका हुन् । चेतनले रचना गरेका दर्जनौँ गीतहरू अत्यधिक लोकप्रिय छन् । ती मध्ये तीजको रहर आयो बरी लै…सर्वाधिक लोकप्रिय गीत रहेको छ । चेतनले माया प्रीति, कान्छी, कन्यादानसहित थुप्रै फिल्महरुका लागि गीत रचना गरेका छन् ।
यस प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा रहनेसमेत निर्णय गरेको छ । यसैगरी चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरू र सम्मान पत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उद्देश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो । चेतन कार्कीले नेपाली संस्कृति, कला र साहित्यमा पुर्याएको समग्र योगदानको उच्च कदर प्रतिष्ठानले गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता