बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध

मङ्गलबार, १५ भदौ २०७८, २० : ५८
मङ्गलबार, १५ भदौ २०७८

 नेकपा एमाले विभाजन भएसँगै लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले एमाले पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्धता जनाएकी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत पार्टी विभाजनपछि निर्वाचन आयोगले दल रोज्नका लागि  दिएको समयभित्र उनी नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी हुन् ।

पाल्पा जिल्लाकी घर्ती समानुपातिकतर्फकी सांसद हुन् । मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् ।

आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको हो । आयोगले लुम्बिनी प्रदेशसभा सचिवालयलाई यसबारे पत्राचार गर्ने जनाएको छ ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ कायम भएको छ ।

यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका विष्णु पन्थी भने अझैसम्म आयोग गरेर सनाखत गराएका छैनन् । उनी एमालेमै रहन्छन् वा नेकपा एकीकृत समाजवादीमा सामेल हुन्छन् भन्ने अझै खुल्न नसकेको एमालेका एक प्रदेशसभा सदस्यले रातोपाटीलाई बताए । पन्थीसँग यसबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

लुम्बिनी प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेकोमा अब ६ दलको प्रतिनिधित्व हुने भएको छ ।

एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाइसकेको छ भने एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।

प्रदेशसभा सदस्यसँगै स्थानीय तहका जनप्रतिनिधि पनि कुन दलमा रहने भन्नेबारे छलफल भइरहेको नेकपा एकीकृत समाजवादी पार्टीका रुपन्देही अध्यक्ष राजु गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप