बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर

मङ्गलबार, १५ भदौ २०७८, २० : ०४
मङ्गलबार, १५ भदौ २०७८

दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । 

छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

​महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएको स्थानीयले बताउँदै आएका थिए भने समितिले पनि भारतीय पक्षको संलग्नता ठहर गरेको हो । 

 ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेको थियो । 
छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । पछि प्रतिवेदन बुझाउने समय थप गरिएको थियो । तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । ’ स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताए पनि भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप