बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवादको 'केन्द्रबिन्दु' कर्णालीमा जनाधार खोज्दै एमाले

माधवजी आफूलाई सिध्याउने दिशामा लाग्नुभयो : युवराज ज्ञवाली
मङ्गलबार, १५ भदौ २०७८, १५ : ३८
मङ्गलबार, १५ भदौ २०७८

नेकपा एमाले विभाजन भएसँगै कर्णालीमा एमाले पुरानै संरचनामा फर्किएको छ । सोमबार बसेको प्रदेश कमिटीको बैठकबाट एमाले पुरानै संरचना अर्थात् ०७५ जेठ २ को अवस्थामा फर्किएको हो ।

योसँगै एमाले उपाध्यक्षसमेत रहेका कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली एमालेमै फर्किएका छन् भने सह–इञ्चार्जमा यामलाल कँडेल छन् । ज्ञवाली यसअघि माधवकुमार नेपाल पक्षमा लागेका थिए । तर पार्टी विभाजन हुने अवस्थामा उनी एमालेमै फर्किएका हुन् ।

एमाले पुरानै संरचनामा फर्किएसँगै प्रदेश इन्चार्जसमेत रहेका उपाध्यक्ष ज्ञवालीले पार्टीका कार्यकर्ताको मनोबल बढाउने दिशामा भूमिका निर्वाह गर्न थालेका छन् । सोही क्रममा उनले मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा कार्यकर्तालाई गालीगलौजमा नउत्रिन सुझाव दिए । लोकतन्त्र, संविधानको रक्षाका खातिर भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले विकास निर्माणका कामका आधारमा जनताबाट मूल्यांकन हुने पनि उनले प्रस्ट पारे ।

तत्कालीन नेकपा हुँदै पछिल्लो समय नेकपा एमालेभित्र विवाद बढ्नुको मुख्य जड कर्णाली प्रदेश नै बनेको थियो । लामो समयसम्म पार्टीभित्रको द्वन्द्व व्यवस्थापन हुन नसक्दा अन्ततः एमाले विभाजन भएको छ । पार्टीका सबै संरचना जेठ २ को अवस्थामा फर्काइनु पर्छ भनेर माधवकुमार नेपाल पक्षले लामो समय माग गर्दासमेत अटेर गरेर बसेको नेतृत्व अन्ततः पार्टी विभाजनपछि भने जेठ २ कै अवस्थामा फर्किएको छ । तर यसबीचमा माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल ‘नेकपा एकीकृत समाजवादी’ गठन भइसकेको छ । उक्त दलमा कर्णाली प्रदेशका केही प्रभावशाली एमाले नेताहरु सामेल भइसकेका छन् ।

विभाजनको घाउ मेट्ने प्रयास

ज्ञवालीले पत्रकार सम्मेलनमा पार्टीभित्रका कमी कमजोरीलाई सच्याएर पार्टीलाई बलियो बनाउने रणनीतिका साथ अघि बढ्ने जनाएका छन् ।

प्रदेश इन्चार्जको हैसियतले पत्रकार सम्मेलन गरेका ज्ञवालीले विधिवत रुपमा पार्टी जेठ २ को अवस्थामा फर्किएसँगै १० वटै जिल्लामा कार्यक्रम गरिने जनाए ।

पहिला (०७५ जेठ २ भन्दा अघि) एमाले इञ्चार्ज भएका जिल्लाहरुमा तिनै इञ्चार्ज रहने र नभएका जिल्लामा नयाँ इन्चार्ज तोकेर पार्टीका गतिविधिलाई अघि बढाउने उनको भनाइ छ । ‘हाम्रो पार्टी पहिला जुन अवस्थामा बलियो थियो, त्यही अनुसार जाने हाम्रो निर्णय छ,’ उनले भने, ‘माधव नेपालज्यूले नयाँ पार्टी गठन गर्नु दुखद् र बेठीक हो ।’

एउटै बिचार भएका दुईवटा पार्टी नहुने उनको भनाइ थियो । अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउने खेल भएको उल्लेख गर्दै उनले एमालेको मत खोसेर आफू जित्छौँ भन्नु मूर्खतामात्र हुने प्रस्ट पारे । उनले भने, ‘माधवजी ! तपाई आफूलाई आफूले नै सिध्याउने दिशामा लाग्नुभयो ।’

ज्ञवालीले माधव नेपालले पार्टी दर्ता गराउने दिनमा आफूले नै फोन गरेर स्थायी कमिटी बैठक बसाल्न भनेको बताए ।

‘स्थायी कमिटीको बैठकबाट छलफल गरेपछि मात्रै के गर्नुपर्ने हो, त्यो अनुसार अघि बढौँला भनेकै हो,’ उनले भने, ‘तर, उहाँले छलफल नै नगरेर नयाँ दल दर्ता गर्न जानु इतिहासमै ठुलो गल्ती हो ।’

आफूहरु एकताको पक्षमा करिब टुङ्गोमा पुग्न लागेको र माधव नेपालसहितको एमाले एकता गर्ने प्रयासमा रहे पनि अन्तिममा आएर माधवकुमार नेपालले ओलीसँग बस्न नचाहेको टिप्पणी गरेको पनि उनले खुलासा गरे ।

कार्यकर्तालाई सुझाव

ज्ञवालीले पार्टीलाई थप बलियो बनाउने चुनौती रहेको स्वीकार गर्दै कार्यकर्तालाई सचेत तुल्याए । केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने प्रस्ट पार्दै उनले भने, ‘हाम्रा कमी कमजोरी पनि धेरै छन् ।  पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्नुहोस् ।’

घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने पनि उनले प्रस्ट पारे ।

विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने उनको भनाइ थियो । सबै राजनीतिक दल मिलेर यो संविधान बनाएको चर्चा गर्दै उनले संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु सबैको दायित्व भएको बताए ।

घर फर्किन आग्रह

‘एमाले विभाजनको असर कर्णालीमा केही पर्छ नै,’ ज्ञवालीले भने, ‘जनताहरु विभाजनको  विरुद्धमा छन्, विशेषगरी नेपाली राजनीतिक इतिहासमा जनता दुईतिर विभाजन छन् । एउटा एमाले र अर्को काँग्रेस ।’

जनताको हकमा एमाले बलियो र सुदृढ रहेको उनले बताए । ‘त्यसैले आम पार्टीका कार्यकर्ताहरु जति हुनुहुन्छ, सबै एकताबद्ध हुनुहोस्,’ उनले भने, ‘आफ्नो घरमा फर्किनुहोस् । यसैलाई बलियो बनाउनुपर्छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि विगतमा केही गल्ती गरेको जिकिर गरे । तर ती गल्ती सच्चिएको उनले बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउने हो भने एमालेलाई बचाउनुपर्ने उल्लेख गर्दै उनले माधवकुमार नेपाल पछिल्लो समय एमाले सिध्याउने काममा लागेको आरोपसमेत लगाए । उनले भने, ‘तर, एमालेलाई सिध्याउन सम्भव छैन ।’

ओली सरकारले जनअपेक्षाअनुसार काम नगरेको स्वीकार 

ज्ञवालीले केपी शर्मा ओलीलाई पाँच वर्षका लागि भनेर प्रधानमन्त्री बनाए पनि त्यो सफल हुन नसकेको भन्दै जनताको अपेक्षा अनुसार काम नभएको स्वीकार गरे ।

उनले भने, ‘हामी सत्तामा हुँदा केही राम्रा काम पनि भएका छन्, अब यो सरकारले कस्तो काम गर्छ, हेरौँ ।’

ज्ञवालीले देउवा सरकारले अहिलेसम्म मन्त्री छान्न नसकेको भन्दै ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात’ भनेर व्यङ्ग्यसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप