बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँको फोहोर बुधबारबाट उठ्ने, स्थानीयबाट अवरोध भए बल प्रयोग

मङ्गलबार, १५ भदौ २०७८, २१ : ००
मङ्गलबार, १५ भदौ २०७८

काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने,’ ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’ 

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए । उनले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए । 

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए। ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेसम्म सम्झाइ–बुझाइ गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौं । भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौं ।’

काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप