के अफगानिस्तान अमेरिकी साम्राज्यको अन्त्यको सङ्केत हो ?
जलन खान
तालिबानले काबुल कब्जा गरेसँगै अन्तर्राष्ट्रिय मिडियामा निरन्तर रूपमा अफगानिस्तान छाएको छ । टिप्पणीकारहरूले स्वाभाविक रूपमा साङ्केतिक अर्थहरू दिएर यसलाई ‘साम्राज्यवादीहरूको चिहान’ भन्न थालेका छन् । जस्तो कि, अन्य ठाउँजस्तो अफगानिस्तानमा विदेशी शक्तिहरू कहिल्यै पूर्ण विजयी हुन सकेनन् र उनीहरूले अनन्तकालसम्म शासन चलाउन सकेनन् ।
के सभ्य समाजलाई चक्रव्यूहमा पार्न अफगानीहरु सिपालु छन् ? के यो चक्रव्यूह केवल पश्चिमा शक्तिहरूका लागि मात्रै हो ? के आफूलाई प्राप्त भएको लाभ जोगाउनका लागि लड्ने मामिलामा अफगानीहरु कमजोर वा अनुभवविहीन छन् ? यी र यस्ता प्रश्न पनि छाइरहेकै छन् । तर, पश्चिमा न्यारेटिभहरु अफगानी र उनीहरूका सम्भावित असफलताबारे केन्द्रित भइरहँदा अफगानिस्तानमा घटिरहेका घटनाले अमेरिकाबारे के भन्छ भन्ने विषय कमैले मात्रै उठाएका छन् । कमजोर हुँदै गएको महाशक्ति र वैश्विक मामिलाको निर्णय लिने क्रममा देखिएको उसको बढ्दो अक्षमताबारे कमैले चर्चा गरेका छन् ।
तालिबानको कब्जामा काबुल पुगेको नियालिरहँदा मैले पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किस्सिन्गरको टिप्पणी याद गरे ः अमेरिकाको शत्रु हुनु खतरनाक हुनसक्छ, तर साथी हुनु घातक छ ।’
विश्वकै धनी र शक्तिशाली सेना रहेको देशले अफगानिस्तानमा २ ट्रिलियनभन्दा धेरै डलर खर्च ग¥यो । २००१ यता ७ लाख ७५ हजारभन्दा धेरै सैनिकहरू खटायो । दुई दशकसम्म अफगानी सैनिकहरूलाई प्रशिक्षण र तालिम थियो । देशमा पुन:निर्माणको काम अघि बढायो । र, जब उसले सेना हटाउन सुरु ग¥यो, तब एकै साताभित्र अफगानी सहयोगीहरूले आत्मसमर्पण गर्न थाले ।
अफगानिस्तानले अमेरिकी शताब्दीको अन्त्यको झल्को दिँदैछ वा यो उसको विश्वव्यापी प्रभुत्वमा एउटा सानो झट्का मात्र हो ?
यस्तै अन्य क्षणहरू पनि इतिहासमा छन्, जहाँ अमेरिकाले कमजोरी देखाएको थियो । सन् १९४१ मा पर्ल हार्बरमा जापानले आक्रमण गरेर अमेरिकाको प्यासिफिक बेडालाई ध्वस्त गरेको थियो । यसपछि जापानी बिस्तारवादीहरुले फिलिपिन्स कब्जामा लिए ।
तर, यसपछि अमेरिकाले आफ्नो जेलसेनालाई सुदृढ ग¥यो र तीन वर्षभित्र जापानलाई घुँडामा टेकायो । सन् १९७३ मा यस्तै अर्को क्षण आयो । यतिबेला सोभियत युनियनको सहयोग पाएका इजिप्ट र सिरियाली दस्ताले इजरायलको कब्जामा रहेका भूभागमा आश्चर्यजनक रूपमा आक्रमण गर्न थाले । जब अमेरिकाले आफ्नो सहयोगीलाई साथ दिन थाल्यो । तब, अरबका तेल उत्पादकहरूले तेलमा निर्यात ठप्प गरेर प्रतिक्रिया देखाए, अमेरिकी अर्थतन्त्र नराम्ररी बिग्रियो ।
तर १० वर्षपछि उसले मध्यपूर्वमा सोभियतको प्रभावलाई न्यूनीकरण ग¥यो र इजिप्टलाई अरब राष्ट्रवादीहरूको ब्लकबाट अलग गराइदियो । अमेरिका कमजोर भएको घोषणा गर्नु सायद निकै हतारो हुनेछ । तर, पछिल्ला दुई दशकमा विश्व भूराजनीतिमा महत्त्वपूर्ण उतार–चढाव देखिएको छ । भारतीय मूलका अमेरिकी राजनीतिक विश्लेषक फरेद जाकारियाले २००८ मा प्रकाशित पुस्तक ‘पोस्ट अमेरिकन वर्ल्ड’ मा लेखको छन् ः नयाँ शक्तिहरूले आफ्नो स्वार्थलाई बलियो ढङ्गले उजागर गरेको तथ्य नै अमेरिकापछिको विश्वको यर्थाथ हो ।’
फर्किएर हेर्दा विश्वजगत्मा अमेरिकाको उपस्थिति आफैमा नाटकीय छ । सन् १९१३ सम्म उसले आफूलाई प्रमुख आर्थिक शक्तिका रूपमा स्थापित गरेको थियो । जबकि, उसलाई वैश्विक मामिलामा थोरैमात्र चासो थियो ।
प्रथम विश्वयुद्धमा मित्र शक्तिको पक्षधरता लिएर हस्तक्षेप गरेपछि यो परिवर्तन हुनेवाला थियो, यतिबेला मित्र शक्तिले जित्यो । महाशक्तिका रूपमा बेलायतलाई विस्थापित गरेर विश्वका धेरै ठाउँमा अमेरिका छाउँछ भन्ने दोस्रो विश्वयुद्धको अन्त्य (१९३९–४५) सँगै स्पष्ट थियो । र, यसको ५० वर्ष नपुग्दै ईस्टर्न ब्लक र सोभियत युनियन ध्वस्त भए, अमेरिका विजयी बन्यो ।
जब अमेरिकाले विश्वमा प्रभुत्व जमायो, तब विश्व व्यवस्थाका नैतिक नियमहरू उसैको मान्यताअनुरूप तय हुन थाले । अमेरिकी डलरले वैश्विक अर्थतन्त्रको रूपरेखा तयार गर्न थाल्यो । डलर र अमेरिकाका प्रतिस्पर्धी देशहरूका मुद्रामा ठुलो अन्तर थियो । एयरवेज र तेल आपूर्तिमा अमेरिकाको ठुलो नियन्त्रण थियो । यसरी वैश्विक अर्थतन्त्र अधिकांश अमेरिकाकै हातमा थियो ।
जब अमेरिकाले सन् २००३ मा ईराकमाथि हमला ग¥यो, तब यो व्यवस्था च्यातिन थाल्यो । यतिबेला अमेरिकाले संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्ने मात्र होइन, सद्दाम हुसैनले विनाशकारी आणविक हतियार बनाउँदै छन् भनेर झुट फैलाउने काम समेत ग¥यो ।
सन् २००८ को मन्दीले आर्थिक व्यवस्थाको विश्वसनीयतामा क्षति पुग्यो, यतिबेला एकपछि अर्को गर्दै अमेरिकी संस्थानहरू डुब्न थाले । यही समय रुस फेरि बलियो बनेर देखियो र वैश्विक आर्थिक महाशक्तिका रूपमा चीनको उदय भयो । सन् २०१० को दशकमा अमेरिकाभित्र चलिरहेको सामाजिक–राजनीतिक सङ्कट पनि उजागर हुन थाल्यो, यसको झल्को ट्रम्पवादको उदयमा देखिन्थ्यो । बढ्दो रङ्गभेदले ‘ब्ल्याक लाईभ्स् म्याटर’ अभियान चलायो र कोभिड–१९ महामारीले विश्वलाई आक्रान्त पारिरहेको यही समय स्वास्थ्य प्रणाली झन्डै ध्वस्त हुने अवस्थामा पुग्यो ।
अमेरिकी सेना हारेर फर्किएको चित्रलाई यो बृहत्तर सन्दर्भसँग जोडेर हेर्दा जो कोहीले पनि अमेरिकी प्रभुत्वको शताब्दी अन्त्यतिर आइपुगेको भन्न सक्छ । पक्कै पनि यसको अर्थ अमेरिका असान्दर्भिक भइसक्यो भन्ने होइन । इतिहास हेर्दा कमजोर हुन थालेका साम्राज्यहरूले पनि महत्त्वपूर्ण अवस्थामा आफ्नो शक्तिको प्रयोग गरेका छन् । जस्तो, १९ औँ शताब्दीमा ओट्टोमन साम्राज्य र १९ औँ शताब्दीको अन्त्य र २० औँ शताब्दीको सुरुमा रुसी साम्राज्यले गरेका थिए ।
अमेरिका आज पनि विश्वको सबैभन्दा ठुलो सैन्य शक्ति हो । उसको अर्थतन्त्रको आकार र प्रभाव दुवै ठुलो छ । त्यसो भए के परिवर्तन भएको छ ? यसको जवाफ ः आफ्नो शक्ति कायम राख्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष द्वन्द्व गर्ने उसको इच्छा हो । विश्वव्यापी प्रभुत्वप्रतिको अमेरिकी वितृष्णाको महसुस अफगानिस्तान र अन्यत्र रहेका उसका सहयोगीहरुले नै सबैभन्दा पहिले गरेका छन् ।
स्रोत : अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र