सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेस रूपान्तरणको अवसर

मङ्गलबार, १५ भदौ २०७८, ११ : २३
मङ्गलबार, १५ भदौ २०७८

नेपाली काँग्रेस आफ्नो १४ औँ महाधिवेशनको सँघारमा रहेको छ । नेपाली काँग्रेसको विधानअनुसार महाधिवेशन भएको भए अहिले अर्को नेतृत्व चुनिएको १८ महिना भइसकेको हुन्थ्यो । यही भाद्र १८ गतेदेखि गर्ने भनेर नेपाली काँग्रेसले आफ्नो नयाँ महाधिवेशन तालिका सार्वजनिक गरेको छ । हुनुपर्ने समयमा महाधिवेशन भएन ।

यद्यपि देशको राजनीतिक दलसम्बन्धी ऐनका कारण काँग्रेसको महाधिवेशन भाद्र २३ भन्दा पछाडि जान सक्दैन । महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली काँग्रेससँग जोडिएका केही कुराका बारेमा चर्चा गरौँ ।

काँग्रेसभित्र अनेक मुद्दा र एजेन्डा छन् । महाधिवेशनको मुखमा नियमित रूपमा लाग्ने गरेको क्रियाशील वितरणको रोग छ । महाधिवेशन समयमा नै हुन सकेको छैन । काँग्रेसका भ्रातृ संस्थाहरूमा महाधिवेशन भएका छैनन् । महाधिवेशन आइरहँदा नेतृत्व कसको हुने भन्ने होडबाजी छ । तर कस्तो नेतृत्व काँग्रेसका आगामी मार्गनिर्देशन कस्तो भन्ने विषयमा कहीँ कतै चर्चा छैन । सँगै कोरोनाको विषम परिस्थितिमा सरकारको नेतृत्व गर्दै जनताका सरकार भएको अनुभूति दिलाउनुपर्ने छ । तिनै तहको निर्वाचन गराउनु पर्ने छ । त्यसकारणले गर्दा काँग्रेसले आफूलाई पुरापुर रूपान्तरण गर्नुपर्ने छ । चाहे त्यो महाधिवेशनमार्फत् पुराना ढर्रामा परिवर्तन गरेर होस् वा सरकार सञ्चालनका पुराना तौरतरिकामा परिवर्तन गरेर होस् । काँग्रेसले कुन–कुन खास मुद्दाहरूमा रूपान्तरण गर्नुपर्दछ ? त्यसैको सेरोफेरोमा केही चर्चा गरौँ ।

क्रियाशील सदस्यता वितरणको रूपान्तरण

काँग्रेसले आफ्नो विधानमा लेखेको छ, काँग्रेसको पार्टी कार्यालयहरूबाट तोकिएको मापदण्ड पूरा गरेमा काँग्रेसको सदस्यता प्राप्त गर्न सक्नेछन् । केही मापदण्डसमेत राखिएको छ । तर अवस्था भने त्यस्तो छैन । महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता वितरण गरिन्छ । त्यसमा पनि वडा, नगर, जिल्ला र केन्द्रमा जो संस्थापनको भूमिकामा छन्, उनीहरूको सहजता हेरिने गरिएको छ । क्रियाशील सदस्यता वितरण गएका केही महाधिवेशनमा दोहोरिरहने रोग भएको छ ।

सकेसम्म आफू र आफ्ना पक्षका व्यक्तिहरूलाई मात्र क्रियाशील वितरण गर्ने गरिन्छ । पार्टीका आन्तरिक नेतृत्व चयन प्रक्रियामा आफूलाई सहज बनाउनको निम्ति यस्तो गरिएको हुन सक्छ । काँग्रेसको सबैभन्दा ठूलो रोग गुट उपगुटको रोग र अन्तत्वगत्वा अनेक निर्वाचनमा घात र अन्तर्घातको सुरुवाती बिन्दु यही हो ।

त्यसकारण आजको डिजिटल युगमा अनलाइनमार्फत वा भनिए जस्तै काँग्रेसका कार्यालयहरूबाट अद्यावधिक रूपमा सदस्यताको वितरण गरिए महाधिवेशनको मुखमा आएर दोहोरिरहने एउटा रोग सधैँका लागि निको हुन्थ्यो ।

महाधिवेशनमा रूपान्तरण

आज काँग्रेसले महाधिवेशनमार्फत आम जनतालाई उत्तर दिनुपर्ने अनेकौँ प्रश्न छन् । हिजोका सबै खाले परिवर्तनको नेतृत्व गरेको कुनै समय दुई तिहाइ जनमत पाएको काँग्रेस आज किन हिजो जस्तो शक्तिशाली छैन ? किन कार्यकर्ताहरूमा विचलन छ ? किन लामो समय पार्टीमा लगानी गरेका इमानदार कार्यकर्ताहरू पार्टीप्रति असन्तुस्ट छन् ? यस्ता अनेकन प्रश्नहरूको उत्तर आगामी महाधिवेशनले दिनैपर्ने हुन्छ ।

पार्टीको १४औँ महाधिवेशन कहिले होला त्यो फरक विषय हो । जहिले भए पनि नेतृत्व छनोट मात्र होइन वैचारिक बहस आज काँग्रेसभित्र अत्यन्तै आवश्यक कुरा हो । यदि भनिएको समयमा महाधिवेशन सुरु हुने हो भने महाधिवेशन सुरु हुन अब केही दिन मात्र बाँकी छ । यद्यपि महाधिवेशनमा गरिनुपर्ने सैद्धान्तिक बहसका निम्ति कसैले कुनै समय र ऊर्जा खर्चिएको पाइँदैन ।

समय र ऊर्जा केवल नेतृत्वमा कसरी पुग्ने भन्ने विषयमा खर्च गरिएको छ । आम कार्यकताहरूले १३औँ महाधिवेशनामा वैचारिकभन्दा पनि अन्य माहोलले महìव पाएको अनुभूति गरेका थिए । यो विचमा समेत पार्टीभित्र कुनै सैद्धान्तिक बहस भएको देखिँदैन । काँग्रेसले आफूले अङ्गीकार गरेका सिद्धान्तहरूमा पुनरवलोकन गर्नुपर्ने हो वा होइन भन्ने विषयमा सूक्ष्म ढङ्गले बहस चलाउनुपर्नेछ ।  

यीसँगै १४औँ यो महाधिवेशनमा काँग्रेसले पूरा गर्नुपर्ने अनेकौँ दायित्व छन् । जस्तो भनौँ एकताको महाधिवेशन भनिएको गएको महाधिवेशनपछि पनि काँग्रेसका गुट उपगुटहरू र गुटका स्वार्थगत प्रवृत्तिमा कुनै परिवर्तन देखिएन । देशको कुल जनसङ्ख्याको ४०.४६ प्रतिशत युवा भएको बेला काँग्रेसको नेतृत्वमा कति युवा पुग्लान् ?

यस्ता प्रश्नको उत्तर नखोजी कर्मकाण्डी हिसाबले मात्र अधिवेशन गरिएमा अधिवेशन होला, कोही पार्टी नेतृत्वमा पुग्नुहोला तर मुलुककै सबैभन्दा जेठो लोकतान्त्रिक पार्टीले महाधिवेशनमार्फत के सन्देश दिन लागेको छ भनेर पर्खेर बसेका धेरै आम मानिसलाई भने निराश बनाउने छ । त्यसकारण महाधिवेशनमार्फत काँग्रेसले पुरापुर रूपान्तरित हुनुपर्ने छ । आम कार्यकर्ताको चिन्ता र चासोसमेत यसमा छ ।

युवा नेतृत्वको हस्तक्षेप

काँग्रेस स्थापनाको सात दशक भइसकेको छ । पार्टी मात्र पुरानो छैन, पार्टीका नेतृत्वमा रहेका नेताहरू समेत पुराना र बूढा छन् । पाका नेताहरूको अनुभव लिँदै युवाहरू पार्टीको नेतृत्व पक्तिमा पुग्नुपर्दछ । युवा नेतृत्व बहसको तहमा मात्र होइन सशक्त हस्तक्षेपको तहमा आउनुपर्छ । पुराना नेताहरूले आफ्नो उमेर, ऊर्जा पार्टी निर्माणमा अवश्य खर्च गरेको हो ।

यद्यपि यसो भनेर सदैव युवालाई अवसरबाट विमुख बनाउन मिल्दैन । आजको समाज, प्रविधि र आवश्यकतालाई बोध गर्ने किसिमको युवा नेतृत्व अबको काँग्रेसको आवश्यकता हो । युवा पक्ति नेतृत्वका लागि तयार भएको खण्डमा मात्र काँग्रेसले नयाँ मतदाताहरूलाई आकर्षण गर्न सक्छ । महाधिवेशनमार्फत जिम्मेवारी लिन युवा नेतृत्व पङ्क्ति काँग्रेसले तयार गर्नुपर्छ, हुनुपर्छ ।

गुटको रोग

काँग्रेसमा देखिएको अर्को रोग हो गुट–उपगुट । अहिलेसम्म महाधिवेशन समयमा नै हुन नसक्नुमा यो रोगको मुख्य भूमिका छ । नेताहरू आफ्ना गुटगत स्वार्थभन्दा माथि उठ्न सकिन्न । स्वाभाविक हो– एउटा राष्ट्रिय स्तरको पार्टीमा विभिन्न विचार समूह हुन्छन् । निर्वाचनको समयमा प्यानलहरू बन्छन्, ती प्यानलहरू निर्वाचनसँगै विघटन हुनुपर्छ । कुनै नीतिगत निर्णय गर्दा विचार समूहहरू सक्रिय हुन सक्छन् । काँग्रेसमा भने विचार समूहभन्दा फरक गुटहरू सदैव प्यानल जसरी नै सक्रिय भएर रहन्छन् ।

अहिले नेपालका सबै साना ठूला पार्टीहरूमा यो रोग छ । नेताहरू समग्र पार्टीको हित र स्वार्थभन्दा पनि गुटगत स्वार्थमा बढी लागिपरेको देखिन्छ । काँग्रेसको नेतृत्वले यी गुट उपगुटहरूलाई समाप्त गर्न सक्दैनन् तर काँग्रेसी कार्यकर्ताहरूले महाधिवेशनमा गुटगत स्वार्थभन्दा माथि उठेर हाम्राभन्दा राम्रालाई प्राथमिकता दिने हो भने यो रोगबाट काँग्रेस निको हुने थियो । नेताहरूले गुट चलाए भन्ने भन्दा पनि हामी आम कार्यकर्ताले गुटगत व्यवहार समाप्त गर्न कसरी योगदान गर्न सक्छौँ भन्ने दिशामा केन्द्रित भएर यसलाई जरैदेखि हटाउनुपर्छ ।

सरकार सञ्चालनमा रूपान्तरण

काँग्रेस आज संसदीय अङ्कगणितमा अत्यन्तै कमजोर स्थितिमा छ । यद्यपि राजनीतिमा अनेक सम्भावनाहरू जीवित हुने भनिए जस्तै करिब दुई तिहाइको केपी ओलीको सरकार बाहिरिएसँगै शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो ।

पुराना सरकारका विषयमा शेरबहादुर देउवामाथि अनेक प्रश्न छन् । जस्तो भनौँ, इतिहासकै सबैभन्दा ठूलो मन्त्रिमण्डल, संसद् विघटन गर्दै राजाको हातमा सरकार बुझाएको आदि । यस्तो सन्दर्भमा शेरबहादुर देउवाले सुझबुझ ढङ्गबाट सरकार सञ्चालन गर्दै पुरानो घाउका बसेका टाटाहरू हटाउनुपर्नेछ ।

यति बेला कोरोना महामारी चुनौती छँदैछ । कसरी चुनौतीलाई अवसरका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने देखाउने बेला पनि यहीँ छ । कालापानी, लिपुलेक फिर्ता ल्याउन आवश्यक कूटनीतिक पहल गरेर देखाउनुपर्नेछ । चाकरी र चाप्लुसी गरेर आफ्नो स्वार्थ पूर्ति गर्नेभन्दा पनि प्रष्टसँगले आफ्नो कुरा राख्न सक्ने र दिशा निर्देश गर्न सक्ने उत्कृष्ट सचिवालय बनाउनुपर्नेछ । जनताका जीविकाका सवालमा उत्कृष्ट काम गर्नुपर्ने छ ।

कोरोनाले थालिएको अर्थतन्त्रलाई यो सरकारले कसरी उठाउन सक्छ ? जनताले हेरिरहेका छन् । जसरी अघिल्लो निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भयो, त्यसरी नै यो पटकसमेत स्थानीय, प्रदेश र सङ्घीत निर्वाचनहरू सम्पन्न गर्न सक्नु पर्नेछ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नियुक्ति, एक महिनामा ४८ लाख जनतालाई खोपले केही आशा जगाएको छ तर कसरी सबैलाई कुलमान जस्तै बनाउन सकिन्छ र कसरी सबैलाई खोप लगाउन सकिन्छ भन्नेबारेमा समेत सरकार चिन्तित हुनुपर्ने छ ।

भ्रातृसंस्थाहरूको रूपान्तरण

नेपाली काँग्रेसको आधिकारिक वेबसाइटमा १३ वटा भ्रातृसंस्थाहरूको सूची उपलब्ध छ । गजब कुरा के छ भने ती भ्रातृसंस्थाहरूका अधिवेशन नभएका वर्षौं भइसक्यो । नेविसङ्घ, तरुणदल, दलित सङ्घ लगायतका धेरै सङ्घ सङ्गठनहरूको अधिवेशन भएको छैन । पार्टीभित्रका गुटबन्दीका आन्तरिक कलह, आवश्यकताभन्दा बढी नै पार्टी र पार्टीका नेताहरूद्वारा नियन्त्रित भएका कारण यस्तो अवस्था भएको हुनसक्छ ।

 समयमै अधिवेशन नहुँदा काँग्रेसको नर्सरी भनिने नेविसङ्घ, तरुण दल लगायत सङ्गठनहरूमा आकर्षण घट्दै जाने देखिन्छ । यसले नेपाली काँग्रेसमा गम्भीर रूपमा प्रभाव पार्दछ । अद्यावधिक रूपमा अधिवेशन भएको खण्डमा नवताजगीसँगै पार्टीमा युवा विद्यार्थीहरूले जिम्मेवारीको महसुस गर्छन । सङ्गठन विस्तारका निम्ति यो कार्य अत्यन्तै महìवपूर्ण छ । त्यसैले कसरी यी भ्रातृसंस्थाहरूको अधिवेशन गर्न सकिन्छ भन्ने विषयमा पनि काँग्रेसका केन्द्रीय नेताहरू जागरुक हुनुपर्छ ।

अन्त्यमा,

नेपाली काँग्रेससँग जनताका अनेकन अपेक्षा छन् । नेपाली जनताले अनेक कालखण्डमा गरेका अभूतपूर्व बलिदानहरूबाट निर्माण गरेका गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतालाई संस्थागत गर्नुपर्नेछ । जनतालाई साँचो अर्थमा सामाजिक न्याय, समतामूलक समाजको महसुस दिलाउनुपर्नेछ । यथास्थितिमा यो सम्भव छैन ।

पार्टीभित्र सैद्धान्तिक बहस चलाउनुपर्छ । पार्टीका आन्तरिक गुटगत द्वन्द्वहरूमा विचारिक चित्र दिनुपर्छ । पार्टीले आफ्ना भ्रातृ र शुभेक्छुक संस्थाहरूलाई चुस्त दुरुस्त बनाउन सक्नुपर्छ । जिम्मेवारी लिन तयार भएको युवा पुस्तालाई नेतृत्वमा ल्याउने गरी महाधिवेशन गर्न तयार रहनुपर्छ । यसका निम्ति यो महाधिवेशनलाई काँग्रेसीजनहरूले अवसरका रूपमा ल्याउनुपर्छ । यसले मात्र काँग्रेसमा महसुस गर्ने किसिमको रूपान्तरण आउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप भट्टराई
मन्दिप भट्टराई
लेखकबाट थप