शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आयल निगमको डिपोस्थित पार्किङबाटै इन्धनसहितको ट्यांकर चोरी

सोमबार, १४ भदौ २०७८, १९ : ११
सोमबार, १४ भदौ २०७८

विराटनगरमा आइतबार राति नेपाल आयल निगम, विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर रहस्यमय ढंगले चोरी भएको छ ।

रातको समयमा उक्त ट्यांकर सहचालकको भरमा थियो । सहचालक शिव खनाल शौचालय गएको मौका छोपेर चोरले राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ना४ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहचालक खनालले शौचका लागि जाने क्रममा ट्यांकरमा चाबी छाडेका थिए । सोही मौका छोपी चोरले सो ट्यांकर लिएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

ट्यांकर चालक यामकुमार खनाल भने सहचालक शिव खनाललाई ट्यांकरको रेखदेखका लागि राखेर सुत्न गएका थिए । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर सो ट्यांकर विराटनगर आइपुगेको थियो ।

चोरीमा संलग्न एक जना पक्राउ

ट्यांकर चोरी भएको ३ घण्टापछि प्रहरीले चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार÷पाँच जनाको संलग्नता देखिएको जनाइएको छ । प्रहरीका अनुसार चोरीमा संलग्न अन्यको खोजी जारी छ । ट्यांकर चोरीमा संलग्न यादव निगमका पूर्व चालक भएको प्रहरीले जनाएको छ  । उनले केही महिना अघि जागिर छाडेका थिए ।

यसअघि पनि अमलेखगञ्जबाट धनुषातर्फ डिजेल ल्याउँदै गरेको ट्यांकर बाटैमा चोरी भएको घटना बाहिरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप