बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा कस्तो छ समग्र कृषिको अवस्था ?

बढ्यो उत्पादन
सोमबार, १४ भदौ २०७८, १९ : ०७
सोमबार, १४ भदौ २०७८

गत आर्थिक वर्ष २०७७/७८ को पुससम्ममा प्रदेश २ मा समग्रमा कृषिबालीको खेती हुने जमिन र उत्पादन बढेको छ । नेपाल राष्ट्र बैंकले प्रदेश २ मा आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक (पुससम्मको) अवधिमा भएको आर्थिक गतिविधि प्रतिवेदन सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा प्रदेश २ मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४.२८ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल १.६९ प्रतिशत र मसला बालीले ढाकेको क्षेत्रफलमा १.२९ प्रतिशतले वृद्धि भएको छ ।

सोही अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा ८.६१ प्रतिशत र तरकारी तथा बागवानी उत्पादनमा २.२४ प्रतिशतको वृद्धि आएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, यही अवधिमा काठको उत्पादनमा ५६.६७ प्रतिशत, दाउराको उत्पादनमा १२.६५ प्रतिशत तथा माछाको उत्पादनमा १.४८ प्रतिशतको गिरावट आएको छ ।

यस अवधिमा प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफुल तथा मसला) ले ढाकेको भू–क्षेत्रफल ४.२८ प्रतिशतले बढेर ८ लाख ९४ हजार ९७५ हेक्टर पुगेको छ । गत वर्ष यस्तो खेती भएको क्षेत्रफल ८ लाख ७० हजार ३५२ हेक्टर थियो ।

खाद्य बाली
पुससम्मको अवधिमा धानले ढाकेको क्षेत्रफलमा ५.९१ प्रतिशत, गहुँले ढाकेको क्षेत्रफलमा २.१० प्रतिशत, आलुले ढाकेको क्षेत्रफल १.६० प्रतिशत, दलहन तथा तेलहनले ढाकेको क्षेत्रफल क्रमशः ७.२४ र ३२.४५ प्रतिशतले बढेको छ । यस्तै, मकैले ढाकेको क्षेत्रफल ९.६२ प्रतिशत, कोदोले ढाकेको क्षेत्रफल २.४०, जौले ढाकेको क्षेत्रफल ९.२५ प्रतिशत, उखु खेतीले ढाकेको क्षेत्रफल ४.४० प्रतिशत र सनपाटले ढाकेको क्षेत्रफलमा २.३५ प्रतिशतले गिरावट आएको छ । समग्रमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ४.२८ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, यही अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्र १.६९ प्रतिशतले बढेर ५८ हजार ८०५ हेक्टर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्र वृद्धिमा कमी आउनुमा कोभिड–१९ महामारी प्रमुख कारण रहेको छ । जसकारण, उत्पादित कृषिबालीले बजार पाएको थिएन ।

सो अवधिमा फलफुल तथा मसला बालीले ढाकेको क्षेत्रफलमा १.२९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले बताएको छ । उक्त वृद्धिसँगै प्रदेशमा फलफूल तथा मसला खेती हुने क्षेत्रफल ४७ हजार ६ हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बालीले ढाकेको क्षेत्रफलमा १.७८ प्रतिशतको ह्रास आएको थियो ।

खाद्यान्न उत्पादन
समिक्षा अवधिमा प्रदेशको प्रमुख कृषि बालीहरुको कुल उत्पादन ६.९३ प्रतिशतले वृद्धि आएर ४४ लाख ९५ हजार २७३ मेट्रिक टन पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बालीको वृद्धिदर ६.७१ प्रतिशत थियो ।

यस अवधिमा धानको उत्पादन १०.१७ प्रतिशत, मकैको उत्पादन ५.८२ प्रतिशत, आलुको उत्पादन २३.९२ प्रतिशत, सनपाटको उत्पादन १२.१० प्रतिशत, सुर्तीको उत्पादन १५.०७ प्रतिशत, तेलहनको उत्पादन २६.०८ प्रतिशत र उखुको उत्पादन १.९७ प्रतिशतले बढेको छ । यद्यपी यो अवधिमा कोदोको उत्पादन १२.९४ प्रतिशत र दलहनको उत्पादन ३.०१ प्रतिशतले गिरावट आएको छ ।

कुल खेती गरिएको क्षेत्रफलमा आएको वृद्धिका साथै सिंचाई सुविधामा भएको सीमान्त वृद्धि, मलखाद र बिउ बिजनको सहज उपलब्धताका कारण कृषिजन्य वस्तुको उत्पादन बढेको केन्द्रीय बैंकको प्रतिवेदनले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा धानको उत्पादनमा ७.९२ प्रतिशत तथा सुर्तीको उत्पादन ३.०९ प्रतिशतले घटेको भएपनि मकै, कोदो, आल, उखु, दलहन तथा तेलहनको उत्पादनमा भने वृद्धि आएको थियो ।


तरकारी/फलफूलको उत्पादन
प्रदेशमा तरकारीको उत्पादन २.२४ प्रतिशतले वृद्धि भएको छ । तरकारी उत्पादनमध्ये सबैभन्दा धेरै १९.४८ प्रतिशत बारा जिल्लामा भएको छ भने पर्सामा सबैभन्दा कम ४.७४ प्रतिशत छ ।

यस्तै, फलफूल तथा मसलाको उत्पादनमा प्रतिशतले ह्रास आएको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ५.९४ प्रतिशतले वृद्धि भएको थियो । फलफूलको उत्पादन मध्ये केरा तथा मसला उत्पादनमा क्रमशः ६.८३ प्रतिशत र ०.७५ प्रतिशतले ह्रास आएकोमा अन्य फलफूलको उत्पादन ०.१३ प्रतिशतले बढेको थियो ।

पशुपन्छी उत्पादन 
यस्तै, गत वर्षको ६ महिनाको अवधिमा प्रदेश २ मा दूधको उत्पादन १.२४ प्रतिशत, मासुको उत्पादन २.०३ प्रतिशत, अण्डाको उत्पादन ०.५५ प्रतिशतले वृद्धि भएको छ । तर, यो अवधिमा छालाको उत्पादनमा १.९३ प्रतिशतको ह्रास आएको छ । 

गत वर्षको यसै अवधिमा दूधको उत्पादनमा ०.६५ प्रतिशतले ह्रास आएकोमा मासुको उत्पादन ८.६६ प्रतिशत, छालाको उत्पादनमा ०.५२ प्रतिशत र अण्डाको उत्पादनमा १९.४८ प्रतिशत वृद्धि आएको थियो ।

यो अवधिमा कुल दूध उत्पादनमध्ये सिराहा जिल्लाको हिस्सा सबैभन्दा धेरै २२.९२ प्रतिशत छ ।

माछा उत्पादन
समिक्षा अवधिमा माछाको उत्पादन १.४८ प्रतिशतले ह्रास आएर १९ हजार ४३१ मेट्रिक टन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन १०.०२ प्रतिशतले वृद्धि भएको थियो । समिक्षा अवधिमा सबैभन्दा बढी माछा उत्पादन बारा जिल्लामा कुल उत्पादनको १८.७१ प्रतिशत तथा सबैभन्दा कम पर्सा जिल्लामा कुल उत्पादनको ६.७९ प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप