मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

लिखु–४ जलविद्युत आयोजनाले शेयर जारी गर्दै, प्रभावित क्षेत्रका बासिन्दालाई ५० प्रतिशत

सोमबार, १४ भदौ २०७८, १८ : ५१
सोमबार, १४ भदौ २०७८

ओखलढुंगा । ओखलढुंगा र रामेछापको सीमानामा रहेको लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका नागरिकलाई ५० प्रतिशत शेयर लगानी सुरक्षित गरेको छ ।

आइतबार प्रभावित क्षेत्रका नागरिकसँगको छलफल कार्यक्रममा निर्माण कम्पनी ‘ग्रीन भन्चर्स लिमिटेड’ले आयोजनाको कुल शेयर पुँजीको ५० प्रतिशत अर्थात् ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो ।

निर्माण कम्पनी र प्रभावित क्षेत्रका नागरिकबीचको छलफलमा स्थानीय आयोजनामा लगानी बढाउन स्थानीयवासीलाई शेयर खुला गरिएको बताइएको थियो ।

कुल ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाका कारण ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा रामेछापतर्फको गोकुलगंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको भुजी र सैपु आसपासका क्षेत्रलाई प्रभावित क्षेत्र मानिएको छ । यी प्रभावित क्षेत्रका नागरिकसँग शेयर जारी गर्ने विषयमा निर्माण कम्पनीले जानकारी गराएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिए ।

आयोजनाले चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशत अर्थात् ६२ करोड ५० लाख रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ दरको ६२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दैछ । सोही अनुसार कुल शेयर रकमको ५० प्रतिशत अर्थात् ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता शेयर प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी  ५० प्रतिशत शेयर आम सर्वसाधारण, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरिने जनाइएको छ ।

केका आधारमा दिने ?

प्रभावित क्षेत्रका नागरिकले शेयर खरिदका लागि नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्र, अन्यत्रबाट बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण, वैवाहिक सम्बन्ध कायम गरी प्रभावित क्षेत्रमा आएकाहरुका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

उनीहरुले आयोजनाको न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने गाउँपालिकाका अध्यक्ष रोकाले बताए । रोजगारीको सिलसिलामा विदेशमा रहेका प्रभावित क्षेत्रका नागरिकको हकमा उनीहरुले ई–सेवाबाट शेयर खरिद गर्न सक्ने प्रक्रिया मिलाइएको छ । उक्त आयोजनाको शेयर लगानी लक्ष्मी क्यापिटल लिमिटेडमार्फत बिक्री गरिनेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप