शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिसडोलवासीको विरोध : अझै उठ्न सकेन काठमाडौंको फोहोर

सोमबार, १४ भदौ २०७८, १३ : ३६
सोमबार, १४ भदौ २०७८

सिसडोल ओखर पौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ ।

स्थानीय परशुराम अर्यालका अनुसार ओखर पौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखापर्न थालेका छन् । फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनुपर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताए । उनले फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ ।

अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरेडाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताए । स्थानीयवासी अर्यालले भने, ‘यो एकदमै कठिन छ, स्थानीय मान्छेहरु विशेष गरी ककनी गाउँपालिका वडा नम्बर २ जहाँ फोहोरको बिसर्जन अहिले अस्थायी रुपमा भइरहेको छ, यो २ वर्षका लागि मात्रै भनेर नेपाल सरकारले जिम्मा लिएको तर १४ वर्ष यहीँ फालिसक्यो । १४ वर्ष यसरी फोहोर फाल्दै गर्दा फोहोरको अव्यवस्थापन भइरहेको छ । व्यवस्थापन हुन नसक्दा धेरै ठूलो समस्याहरु देखापर्दै आइरहेका छन् । मान्छेले धेरै ठूलो समस्या झेलिरहेका छन्, बाटो यस्तो अवस्थामा छ, फोहोरबाट चुहिएर खोलामा गएको पानी खेतबारीमा लगाउनुपर्ने अवस्था छ, त्यही पानी गाई वस्तुलाई खुवाउने अवस्था छ, त्यसकारण फोहोरले महामारी पनि आउटलेट हुनसक्छ भन्ने मलाई लाग्छ ।’ 

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटोभन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले कोभिड–१९ का कारण केही समस्याहरु आइरहेको बताउँदै  सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताए । प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पारे ।

सिसडोल ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताए । उनले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराए । इञ्चार्ज श्रेष्ठले काठमाडौंवासीले केही समय घरमै कुहिने/नकुहिने फोहोर छुट्याएर राख्ने र कुहिने फोहोरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभावी फोहोर नफालिदिन पनि आग्रह गरे । इञ्चार्ज श्रेष्ठले वर्षात्को समयमा फोहोर आइरहे पनि कम मात्रै व्यवस्थापन गर्न सकिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप