आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

५ वर्षपछि ‘नक्कली सुन’ भनेपछि महालक्ष्मी विकास बैंकविरुद्ध उजुरी
सोमबार, १४ भदौ २०७८, २२ : ३५
सोमबार, १४ भदौ २०७८

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।

कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ? 

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।

२०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् । ‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् ।

जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो र ? भन्ने रातोपाटीको प्रश्नमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘यो बैंक र ऋणीको आन्तरिक कुरा हो, त्यस्तो केही छैन उहाँ (विष्णु महर्जन)ले यसबारे जान्नुभएको छ ।’

सीईओ देवकोटाले २०७२ मा धितो स्वीकार गर्दा सुन जाँचेर लिएको स्वीकार गरेका छन् । सुन फिर्ता नगरेकोबारे देवकोटा भन्छन्, ‘त्यहाँ धेरै कुराहरु छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप