बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कृषि मन्त्रीबारे प्रदेश सरकारको प्रतिक्रिया- आरोप लगाउँदैमा कारवाही हुँदैन

आइतबार, १३ भदौ २०७८, २० : ५९
आइतबार, १३ भदौ २०७८

यतिबेला कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि लागेको आरोपलाई लिएर सामाजिक सञ्जाल तातेको छ । साउन ६ गते मन्त्री शाहीमाथि बलात्कारको आरोपसम्बन्धी समाचार सञ्चारमाध्यममा आएपछि यो विषयमा चर्चा भइरहेको छ ।

सोही विषयलाई लिएर मन्त्री शाहीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट विभिन्न भ्रातृ संगठनहरुले अघि सारेका छन् । उनीहरुले मन्त्री शाहीलाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिने उद्देश्यले सडकमा प्रदर्शनसमेत गरेका छन् ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले सत्यतथ्य कुरा नआएसम्म सरकारले यसबारे केही गर्न नसक्ने प्रस्ट पारेकी छन् । उनले भनिन्, ‘पीडित भनिएको पक्षले प्रशासनमा उजुर गर्ने प्रक्रिया भएको देखिँदैन । पीडित भनिएकी महिलाले सामाजिक सञ्जालमै मेरो चरित्र हत्या गरियो भनेर भन्नुभएको छ । सत्यतथ्य के हो ? त्यो विषय सरकार समक्ष आइपुगेको छैन ।’

मिडियामा आएको समाचारका आधारमा सरकारले कसैको दबाबमा कदम चाल्ने कुरा नआउने उनले प्रस्ट पारिन् । मन्त्री नेपालीले सत्यतथ्य बाहिर आएको खण्डमा वा प्रशासनमा पीडित पक्षले निवेदन दिएको अवस्थामा प्रदेश सरकारले पनि कदम चाल्ने बताइन् ।

‘यो विषयमा धेरै चर्चा परिचर्चा भएको छ । आधिकारिक रुपमा कुरा बाहिर आएको छैन,’ उनले भनिन्, ‘बलात्कारको आरोप भनिएको छ, आरोप भन्ने बित्तिकै त्यो प्रमाणित हुन्छ भन्ने पनि छैन । प्रमाणित नहुन पनि सक्छ ।’

प्रमाणका आधारमा सत्यतथ्य सरकार समक्ष आएमा सरकारले त्यो बेला आफ्नो तर्फबाट चाल्नुपर्ने कदम चाल्ने उनको भनाइ छ । मन्त्री नेपालीले भनिन्, ‘न्याय त पीडितलाई चाहिएको होला नि ! उहाँहरु सम्बन्धित ठाउँमा जानुपर्यो । उहाँहरुले प्रक्रिया त अगाडि बढाउनुपर्यो नि !’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप