सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँ काँग्रेसमा नयाँ सदस्य बढी

आइतबार, १३ भदौ २०७८, १६ : ५६
आइतबार, १३ भदौ २०७८

तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन्  । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा  जिल्लामा पुराना भन्दा नयाँ सदस्य बढी देखिएका हुन् ।     यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा  जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने  नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् । 

योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नयाँ सदस्य थपिएका छन् । व्यासमा सबैभन्दा बढी दुई हजार २४६ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा २४९ नयाँ सदस्य थपिएका हुन् । भानुमा एक हजार १४८, शुक्ला गण्डकीमा एक हजार ४०, र भिमाद नगरपालिकामा ५५५, तथा देवघाटमा २५७, बन्दीपुरमा ४४२, म्याग्देमा ७४९, घिरिङमा २७५ र ऋषिङ गाउँपालिकामा ६१८ नयाँ सदस्य थपिएका छन् । 

व्यासमा दुई हजार २२४, भानुमा एक हजार १६५, शुक्ला गण्डकीमा ९४९, भिमादमा ४८६, तथा देवघाटमा १५५, आँबुखैरेनीमा १६०, बन्दीपुरमा ३८९, म्याग्दे मा ६३५, घिरिङमा २०३ र ऋषिङमा ५६९ जनाले  नवीकरण गराएका छन् । 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जीतप्रकाश आले, जिल्ला सचिव विश्व बाँस्तोला, पूर्वसचिव प्रा डा कृष्णप्रसाद गौतमलगायतको चर्चा छ । जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिका लागि आकाङ्क्षी देखिएका छन् । वर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि पुनःसभापतिमा दोहोरिने चर्चा कार्यकर्ता माझ चलेको छ । 

वरिष्ठ नेता  पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत ‘हेभिवेट’ नेताहरु पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारीमा छन् । कार्यवाहक सभापति जीतप्रकाश आलेले जिल्ला सभापतिका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए ।

जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यासको नगर सभापतिमा ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नगर समितिका सहसचिव डम्बर अधिकारी, हरिदत्त पौडेल, डा.शेषरमण न्यौपाने प्रतिस्पर्धी देखिएका छन् । सहसचिवसमेत रहेका अधिकारीले सभापतिमा उठ्ने तयारीसहित मतदाता भेटघाट शुरु गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप