बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरो प्रस्तुति हेर्नुभयो भने पूर्व युवराज पनि खुसी हुनुहुन्छ’

पैसाको चलखेल भयो भने भन्न सक्दिनँ : भरतमणि पौडेल
आइतबार, १३ भदौ २०७८, १८ : ३२
आइतबार, १३ भदौ २०७८

मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका हुन् । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल शनिबार पूर्व युवराज पारस शाहको नक्कल गर्दै उपाधिका नजिक पुग्न सफल भएका छन् । शनिबार उनी ‘पर्फमर अफ द राउण्ड’ हुँदै सिधै फाइनलमा पुगेका छन् । यही सन्दर्भमा पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल हुनुभयो । कस्तो लागिरहेको छ ?

– एकदमै खुसी छु । फाइनलमा पुग्छु नै भन्ने लागेको थियो किनभने पूर्व युवराज पारस शाहको पात्रलाई एकदमै धेरै न्यायपूर्वक प्रस्तुत गरेको थिएँ । देशमा भइरहेको राजनीतिक अस्थिरता माथि तिखो व्यङ्ग्य समेत प्रहार गरेको थिएँ । मेरो प्रस्तुति आम जनसमुदाय, समाज, देशको परिवेशमा मिल्ने खालको र सबैले रुचाउने खालको प्रस्तुति भएको कारण म फाइनलमा पुग्छु भनेर ढुक्क थिएँ । ‘पर्फमर अफ द राउण्ड’ हुन्छु भन्नेमा पनि ढुक्क थिएँ ।

पूर्व युवराजको शाहको क्यारिकेचरले करियरमा थप उचाइ दिएको हो ?

– पक्कै पनि हो । मलाई लाग्छ पूर्व युवराजको आफ्नै किसिमको उचाइ छ । केही प्रतिशत मानिसको अझै पनि राजतन्त्र माथि आस्था रहेको छ । आस्था नभएकोले पनि उहाँलाई पूर्व युवराज, राजपरिवारको सदस्यको रूपमा सम्मान गरिरहनु भएकै छ । उहाँको क्यारिकेचर गर्न पाउँदा र गर्न  सकेकोमा खुसी छु । कार्यक्रम प्रसारण भएपछि मलाई धेरै राजावादी संस्थाहरूले फोन गरेर बधाई समेत दिएका छन् । तपाईंले हाम्रो पूर्व युवराजको नक्कल गरेर एउटा हाँसोको पात्रको रूपमा मात्र नभएर व्यङ्ग्यको रूपमा अगाडि ल्याउनु भएको रहेछ । हामी एकदमै खुसी छौ भनेर भनेका छन् ।

पूर्व युवराज बन्ने सोच कसरी आयो ?

– पूर्व युवराजको क्यारिकेचर गर्ने सोच मेरो सिजन १ सुरु समयदेखिको प्लानिङ हो । स्वतन्त्र मानिस भएर कसरी बाँच्न सकिन्छ भन्ने एउटा उदाहरण हुन् पूर्व युवराज शाह । उहाँले जीवनमा के के गर्नुभयो, के के गर्नुपर्थ्यो व्यक्तिगत रूपमा म भन्न सक्दिनँ । सबैको आ–आफ्नो व्यक्तिगत जीवन हुन्छ ।  जसरी उहाँले आफ्नो जीवन जिउँदै आउनु भएको छ, त्यो एकदमै सरल छ । पूर्व युवराज भइसकेको व्यक्ति नेपाली जनताको माझमा सरल, सहज तरिकाले सडकमा गएर कुकुरहरूलाई बिस्कुट खुवाउनु हुन्छ । अप्ठ्यारो परेकालाई राहत दिनुहुन्छ । उहाँमा पूर्व युवराज भएको घमन्ड पनि छैन । मलाई राजा हुनु पनि छैन यतिकै ठिक छ भनेर सन्तुष्ट भएर हिँडेको भिडियो हामीले हेरिरहेका छौँ । उहाँ आफ्नो ढङ्गले स्वतन्त्र भएर हिँड्दै गर्दा खेरी उहाँको पछिल्लो समयको व्यक्तित्व मलाई निकै मन परेको हो । कहिले काहीँ उहाँको हाउभाउ आफैले नक्कल गर्न खोज्दा मिलेको जस्तो लाग्थ्यो । उहाँसँग मेरो सम्पर्क भेटघाट केही छैन । सर्वसाधारण उहाँलाई जसरी चिन्छन् । मैले पनि त्यसरी चिन्ने हो । मलाई उहाँ मनपरेपछि नक्कल गर्न कपाल पाल्न थाले । मैले कपाल पालेको पूर्व युवराज पारस शाह बन्नकै लागि हो । अब म यो कपाल चाहिँ काट्दिन होला ।

पूर्व युवराजको क्यारिकेचर गर्दा डर लागेन ?

– कोही मानिसको नक्कल गर्दा खिल्ली उडाउनु हुँदैन, उसको चरित्र हत्या गर्नुहुँदैन भन्ने मेरो धारणा छ । मैले गरेको क्यारेक्टरमा समाजमा भएका र हामीले अनुभव गरेका कुरा छन् । राजनीतिक परिवर्तन नेपाली जनताले महसुस गर्न पाएका छैनन् । राजतन्त्रको अन्त्य भएपछि जनताले के उपलब्धि हासिल गरे त भन्ने प्रश्न मैले हिजोको प्रस्तुतिमा राखेँ । म कुनै राजनीतिक पार्टी, सङ्घसंस्थामा आबद्ध पनि छैन । कलाकारितामा छु, जे छ त्यही देखाउने प्रयास गरेको हुँ । मेरो प्रस्तुति हेर्नु भयो भने पूर्व युवराज पारस शाह पनि खुसी हुनुहुन्छ जस्तो लाग्छ । 

पूर्व युवराजको क्यारिकेचरका लागि अध्याय पनि गर्नुपर्‍यो होला नि ?

– पूर्व युवराजको क्यारिकेचरका लागि उहाँको बोली भएको भिडियो प्राय: सबै हेरेको छु । उहाँको हाउभाउ, नृत्य गर्दा कसरी गर्नुहुन्छ, रियाक्ट गर्दा कसरी गर्नुहुन्छ, मनपरेको नपरेको मानिसलाई कसरी व्यवहार गर्नुहुन्छ सबै अध्ययन गरेको छु । एक पटक उहाँले राजावादी राजावादी भन्दा हामी सबै नेपाली हौँ राजावादी भनेर छुट्याउने काम नगरौँ भनेर भन्नु भएको थियो । उहाँको हल्लिने शैली, बोल्ने शैली, व्यवहार गर्ने शैली सबैको रिसर्च गरेको थिए ।

विभिन्न क्यारिकेचर गर्नु भएको छ, कठिन चाहिँ कसको लाग्यो ?

– क्यारिकेचर सबै कठिन नै थिए । तर मैले सहज बनाए । यो मेरो कर्म हो । कर्म अगाडि बढाउन कठिन चिजलाई सहज बनाउँदै जानुपर्छ । पूर्व युवराजको क्यारिकेचर डेढ वर्ष अगाडि देखिको प्रयास हो । यो क्यारिकेचर अरू भन्दा अलि बढी कठिन थियो । यसका लागि धेरै रिहर्सल गरेको छु ।

विजेता बन्नका लागि अझै के चुनौती छ ?

– विजेता हुनका लागि त ठूलै चुनौती छ । किनभने कमेडी च्याम्पियन एउटा रियालटी शो हो । यो एक प्रकारको बिजनेस पनि भएको छ । हिजोको पूर्व युवराजको गेटअपसम्म मैले ७ पटक पर्फमर अफ द राउण्ड पाइसके । अहिलेसम्म यो कसैले पाएको पनि छैन । यो हिसाबले पनि दर्शकले एक किसिमको मूल्याङ्कन गर्नुभएको छ । तर जित्नलाई धेरै पैसा चाहिन्छ भन्छन् । तर आर्थिक हिसाबले मेरो ब्याकग्राउण्ड राम्रो होइन । मेरो बाबुआमा अहिले पनि ताप्लेजुङमा चिया पसल गरेर बस्नुहुन्छ । मेरो आशा भनेकै दर्शक हुनुहुन्छ । जति बढी दर्शकले भोट दिनुहुन्छ । त्यति मेरो जित्ने सम्भावना रहन्छ । मलाई यो हप्ता भोट गर्नुपर्दैन । म फाइनलमा पुगिसके । अर्को हप्तापछिको भोट मात्र मलाई जिताउन काम लाग्छ । बुझेर मात्र भोट गर्न अपिल समेत गर्दछु ।

प्रतिभा भन्दा भोट महत्त्वपूर्ण भएको हो र ?

– शनिबारको एपिसोडसम्म आउँदा प्रतिभाको पनि महत्त्व थियो । त्यही अनुसार ‘पर्फमर अफ द राउण्ड’ सिस्टम राखिएको होला । अबको दिन जसले धेरै पैसा खर्च गरेर भोट गर्‍यो । त्यही विजेता हुन्छ । गेस्ट पर्फमेन्सले समेत रोस्ट गर्ने क्रममा यस पटकको कार कसले किन्ने भनेर भन्ने गरेका छन् । एउटा हिसाबले हेर्न हो अप्रत्यक्ष रूपमा किनेको जस्तो पनि हो । दर्शकको नजरमा को विजेता बन्नुपर्छ भन्ने कुरो भने प्रतिभाले देखाउने हो । दर्शकले मलाई विजेताको रूपमा देख्न चाहनु भएको छ भने मलाई अर्को हप्तापछि बढी भन्दा बढी भोट पक्कै दिनुहुनेछ ।

उपाधि हात पर्ला त ? 

– दर्शकको साथ र सपोर्टको हिसाबले हेर्दा जित्छु भन्ने लागेको छ । पैसाको चलखेलले जित्यो भने भन्न सक्दिनँ । उपाधि हासिल भएपनि–नभएपनि अबका दिन म यो कमेडी फिल्ड मै रहेर सबैलाई मनोरञ्जन दिलाउँछु । राम्रो नराम्रो जे होला यही रहन्छु । 

फाइनलका लागि कस्तो प्रस्तुति सोच्नु भएको छ ?

– फाइनल अघि निकै प्रेसर छ । अहिले भोट मागेर हिँड्नु पर्ने अवस्था छ । प्रस्तुतिका लागि कन्टेन्ट सोच्ने समय पनि हुँदैन । अहिले मैले प्रस्तुतिका लागि भन्दा भोटका मिहिनेत गर्नुपर्नेछ । मेरा हरेक प्रस्तुति मूल्याङ्कन गर्दै सबैको भोटको साथ चाहिएको छ । मलाई अहिले तत्कालै गरेको भोट केही काम लाग्दैन । अर्को साता फाइनलका लागि एक प्रतियोगी पुगेपछि गरेको भोट मात्र काम लाग्छ । त्यही अनुसार भोट गर्न सबैलाई अनुरोध गर्दछु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप