बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र मलेसियाबीच पर्यटन प्रबर्द्धनमा सहकार्य हुने

आइतबार, १३ भदौ २०७८, ११ : ३१
आइतबार, १३ भदौ २०७८

नेपाल र मलेशियाबीच पर्यटन प्रबर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनञ्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच भेटवार्ता भएको छ ।

हालैमात्र मलेसियन राजदूतावासमा भएको भेटवार्तामा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रबर्द्धनको लागि सहकार्य गर्ने सहमति गरेका छन् । भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरू आदान प्रदान गर्न सकिने कुरामा जोड दिएका छन्।

बोर्डका कार्यकारी प्रमुख (सिइओ) रेग्मीले कोभिड–१९ ले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रबर्द्धन गर्न सकिने धारणा राखे ।  सो अवसरमा सीईओ रेग्मीले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ  गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको समेत बताए। यस्तै उनले मलेशियामा नेपालको प्रबर्द्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेशियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरूबीच सहकार्य गर्न पनि सकिने बताए । 

भेटका क्रममा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन क्षेत्रलाई सुचारु गर्न सकिने विषयमा आफुहरुले पनि छलफल गरिरहेको बताए । सो अवसरमा फाजेल अबुले मलेशिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे ।

यस्तै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेशियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडका बीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताए ।

अहिलेको अवस्थामा अनलाईन मार्केटिङका माध्यमबाट पर्यटन प्रबर्द्धनका लागि काम गर्न सकिने बताउँदै उनले नेपाल पर्यटन बोर्डले कोभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदूतहरुसँग निरन्तर भेटघाट तथा छलफल जारी राख्नुपर्ने धारणा राखे । बोर्डले यसअघि कतार,थाइल्याण्ड र श्रीलंका राजदूतसँग भेटघाट तथा छलफल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप