शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महिनाको वैदेशिक व्यापार – हामीले कसलाई के बेच्यौँ, कोसँग के किन्यौँ ?

नेपालको आयात/निर्यातमा भारत नै हाबी
आइतबार, १३ भदौ २०७८, ११ : १७
आइतबार, १३ भदौ २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालको आयात/निर्यात उल्लेख्य वृद्धि भएको छ । नेपालबाट हुने निर्यातमा गत वर्षको यही अवधिको तुलनामा ११५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, विदेशबाट आउने वस्तुको आयात गत वर्षको यही अवधिको तुलनामा ७५ प्रतिशतले वृद्धि भएको छ । 

योसँगै नेपालको निर्यात २० अर्ब ७६ करोड रुपैयाँ पुग्दा आयात एक खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । यसले आर्थिक वर्षको पहिलो महिनामा नेपालको व्यापार ७९ प्रतिशतले बढेको देखिन्छ । यस्तै, निर्यात उल्लेख्य मात्रामा बढे पनि नेपाललाई आर्थिक वर्षको एक महिनामै एक अर्ब २९ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । 

के बेच्यौँ ?

यस अवधिमा नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८ अर्ब ९८ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निकासी भएको छ । कच्चा र प्रशोधित गरेर १ अर्ब ४२ करोडको पाम तेल निकासी भएको छ ।

यसैगरी, ९६ करोडको सेन्थेटिक यार्न, ८२ करोडको कार्पेट, ७९ करोड प्रशोधित सूर्यमुखी तेल, ७१ करोडको जुटबाट बनेका कपडा, ५० करोडको ऊनी फेल्ट, ४० केक (तेलबाट बनेको) र ३५ करोडको अलैँची विदेशतर्फ निकासी भएको छ । ३४ करोडको जुस, ३२ करोडको चिया, ३० करोडको कपडा (कटनबाट बनेका), २६ करोडको सल, मफलर (ऊनबाट बनेका), २३ करोडको पस्मिना, १८ करोडको कुकुर बिरालोको खाना (छुर्पी) र १६ करोडको गहना (सुनचाँदीबाट बनेका) निकासी भएको विभागले जानकारी दिएको छ ।

निकासी भएका प्रमुख १२ वस्तु

कुन देशलाई बेच्यौँ ? 

विभागले यस अवधिमा नेपालले विश्वका १०२ वटा देशसँग वैदेशिक व्यापार गरेको बताएको छ । ती देशहरूमा कुल २० अर्ब ९६ करोड रुपैयाँको वस्तु निकासी भएको हो । जसमध्ये भारतमा मात्रै सबैभन्दा धेरै १६ अर्ब ८६ करोड रुपैयाँको वस्तु निकासी भएको छ । भारतमा निकासी हुनेतर्फ भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल मुख्य वस्तु हुन् ।

भारतपछि नेपालले सबैभन्दा धेरै अमेरिकामा १ अर्ब ५४ करोड, जर्मनीमा ३५ करोड, संयुक्त (युके) २९ करोड, फ्रान्समा २० करोड ३६ लाख रुपैयाँको वस्तु निकासी भएको छ । यस्तै, जापानमा १५ करोड १२ लाख, अस्ट्रेलियामा १२ करोड र क्यानडामा ८ करोड निकासी भएको विभागले जानकारी दिएको छ ।

नेपालबाट निकासी हुने प्रमुख ५ देश

डेढ खर्बमा के किन्यौँ ?

एक महिनाको अवधिमा नेपालले विदेशबाट डेढ खर्ब रुपैयाँको सामान आयात गरेको छ । विभागले दिएको जानकारी अनुसार नेपालले गरेको निर्यातभन्दा साढे ७ प्रतिशत बढी आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै पेट्रोलियम पदार्थ र फलाम/स्टिलको आयात भएको देखिन्छ । 

एक महिनाको अवधिमा नेपालले ६ अर्ब ६४ करोडको डिजेल, ६ अर्ब ४५ करोडको कच्चा फलाम ४ अर्ब ४१ करोडको पेट्रोल र ३ अर्ब ५५ करोडको खाना पकाउने ग्यास आयात भएको छ । यस्तै, सोही अवधिमा ५१ करोडको हवाई इन्धन समेत आयात भएको छ ।

यस्तै, ४ अर्ब ८२ करोडको मोबाइल, ३ अर्ब ८५ करोडको फलाम (प्रशोधित) रोल, ३ अर्ब १६ करोडको सुन, २ अर्ब ६२ करोडको चाँदी, २ अर्ब ५५ करोडको चामल, २ अर्बको मकै, १ अर्ब ६६ करोडको तोरीको दाना, १ अर्ब ४७ करोडको नोटबुक/ल्यापटप, १ अर्ब ३१ करोडको डण्डी, १ अर्ब १४ करोडको धान र १ अर्ब ९ करोडको बदामजन्य वस्तु भित्रिएको विभागले जनाएको छ । 

यसबाहेक, २ अर्ब ४० करोडको कच्चा पाम तेल, १ अर्ब ४७ लाखको कच्चा सूर्यमुखी तेल, १ अर्ब १२ करोडको पिना/केक र १ अर्ब ३५ करोडको कोइला आयात भएको छ ।

आयात भएका मुख्य १२ वस्तु

भारतबाट करिब ९० अर्बको आयात

नेपाललाई सबैभन्दा धेरै निकासी गर्ने मुलुकमा भारत शीर्ष स्थानमा छ । नेपालबाट भारततर्फ १६ अर्ब ८५ करोड रुपैयाँको वस्तु निकासी हुँदा उताबाट नेपालतर्फ ८९ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ । भारतबाट नेपालतर्फ मुख्य गरी औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, औषधी, सवारी साधन, फलफूल/तरकारी जस्ता वस्तुको निकासी हुन्छ ।

नेपालमा निकासी गर्नेमा भारतपछि चीन दोस्रो स्थानमा छ । चीनले चालू आर्थिक वर्षको एक महिनामा नेपाललाई २० अर्ब ९७ करोडको निकासी गरेको छ । यस्तै, भटमास, सूर्यमुखीको कच्चा तेल आउने अर्जेन्टिनाबाट नेपालले ६ अर्ब ७ करोडको आयात गरेको छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ५ अर्ब ७ करोड, इन्डोनेसियाबाट ४ अर्ब २ करोडको रुपैयाँको सामान आएको छ । यसका साथै, अमेरिकाबाट २ अर्ब २० करोड र १ अर्ब ३४ करोड रुपैयाँको सामान भित्रिएको छ ।

नेपालले आयात गर्ने प्रमुख ५ देश

स्रोतः भन्सार विभाग

चालू आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्दा नेपालको व्यापारमा विगतमा जस्तै भारत नै हाबी भएको देखिन्छ । नेपालले सबैभन्दा धेरै निर्यात गर्ने र सबैभन्दा धेरै आयात गर्ने देशको सूचीको पहिलो नम्बरमा अघिल्ला वर्षहरूको जस्तै यो वर्ष पनि दक्षिण छिमेकी मुलुक भारत नै छ ।

आयात रोक्नुपर्ने दबाबमा सरकार

पहिलो महिनामा नेपालले गरेको आयातको अनुपातलाई रोक्नै पर्ने दबाब सरकार समक्ष परेको छ । एक महिनामा नेपालले विदेशबाट १ खर्ब ५० अर्ब रुपैयाँको आयात गरेको छ । जुन, अघिल्लो आर्थिक वर्षको सोही महिनाको अवधिको तुलनामा ७५.६६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको पहिलो महिनामा नेपालले जम्मा ८५ अर्ब ८० करोडको आयात गरेको थियो । जुन, यो वर्ष भएको आयातको तुलनामा ६४ अर्ब ९३ ले कम हो । यो महिनाकै गतिमा नेपालको आयात बढेमा १२ महिनामा १८ खर्ब रुपैयाँको आयात हुने देखिन्छ । जुन, अहिलेसम्मकै सबैभन्दा धेरै आयात हुनेछ ।

यस्तै, यस अवधिमा भएको नेपालको २० अर्ब ७६ करोडको गतिमा निकासी भएमा वार्षिक निर्यात २ खर्ब ४९ अर्बको निकासी हुने देखिन्छ । त्यसैले, चालू वर्षको पहिलो महिनामा भएको आयातको गतिलाई रोक्नुपर्ने दबाबमा सरकार परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप