आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए निर्वाचन : उम्मेदवारहरू चुनावी दौडधुपमा

आइतबार, १३ भदौ २०७८, ११ : ०९
आइतबार, १३ भदौ २०७८

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उप संयोजकमा निर्वाचित भएका थिए । उनले संस्थाका समय सान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने जानकारी दिए । धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उहाँ २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्द्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली सङ्घ युकेको सल्लाहकार (सन् २०१७) रहिसक्नुभएका उनी त्यसअघि गैरआवासीय नेपाली सङ्घ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा रहेका थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए । एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उनको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरुपमा प्रतिबद्धता सार्वजनिक गर्ने उनले जानकारी दिए । त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि आयरल्याण्डमा बसोबास गर्दै आएका छन् । सन् २००३ देखि संस्थामा आवद्ध उनको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्यान्डको संयोजक भइसकेका उनले अहिले हस्तकलाको व्यवसायमा आवद्ध  रहेका छन् ।

आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसीसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप