बालसंसार

प्रेरक प्रसङ्ग : पितृभक्तिका कारण मरेर बाँचेका थिए बालक नचिकेता

person explore access_timeभदौ १३, २०७८ chat_bubble_outline0


प्रसङ्ग कठोपनिषद्को हो । गौतम वंशीय महर्षि अरुणका छोरा उद्दालक ठूला ऋषि थिए । उनी नियमित यज्ञ–अनुष्ठानका माध्यमबाट देवताहरूदेखि पितृहरूसम्म र मनुष्यहरूदेखि पशुपक्षीहरूलाई समेत सन्तुष्ट पार्थे । उनले एक पटक विश्वजित नामक यज्ञ गरेका थिए । यज्ञमा दैनिक सयौँ गाई दान हुन्थे । यस्तैमा एक दिनको दानमा असावधानीवश एउटी वेत बसेको बुढी गाई पनि परिछिन् । यो कुरा नजिकै बसेर हरेक काम नियाल्दै आएका उनका पाँच वर्षीय छोरा नचिकेतालाई मन परेन छ र भनेछन्–

‘पिताजी ! वेत बसेको गाईलाई त ब्राह्मणको हातमा दिएर पठाउनुभयो मलाई चाहिँ कसको हातमा दिनुहुन्छ नि ?’

‘बाबु आफ्नै काममा व्यस्थ थिए, उनको कुरामा ध्यान दिन भ्याएनन् । बाबु नबोलेपछि उनको मन थप खुलदुलियो र पुनः सोही कुरा दोहो¥याउँदै सोधे–

‘पिताजी ! किन बोल्नुहुन्न ? बुढी गाई ब्राह्मणलाई दिएर पठाउनुभएको छ भने मलाई चाहिँ कसको हातमा दिने विचार गर्नुभएको छ नि ?’

फेरि पनि बाबु उद्दालक बोलेनन् तर उनी पनि सितिमिति हार मान्ने खालका थिएनन् । स्वर केही उचो पार्दै भने–

‘पिताजी ! मलाई सुन्नुभएन ? बुढी गाई ब्राह्मणको हातमा दान दिनुभएको छ भने मलाई पनि पक्कै कसैको हातमा दिनुहुन्छ होला । भन्नुस् न कसलाई दिने विचार गर्नुभएको छ ?’

एउटै कुरा पटक पटक सोधेपछि बाबु उद्दालकले झर्किँदै भने–

‘ए तँलाई ? किन चिन्ता गर्छस्, यमराजको हातमा दिएर पठाउने विचार गरेको छु ।’

बालक नचिकेताले सोचे–

‘बाबु र गुरु समान हुन्छन् भन्छन् । पिताजीको भनाइमा पक्कै कुनै रहस्य हुनुपर्छ । नत्र उहाँको मुखबाट किन यस्तो वाक्य निस्कन्थ्यो र । नीतिशास्त्र भन्छ बाबुआमाको आशय बुझेर काम गर्ने सन्तान उत्तम हुन्छ, भनेपछि गर्ने मध्यम र भनेपछि पनि नगर्ने अधम हुन्छ । म अधम सन्तान हुन चाहन्न । कुनै पनि हालतमा उहाँको वचन पूरा गर्नैपर्छ ।’

यस्तैयस्तै सोच्दै उनी यमलोक जान तयार भए । छोराको अवस्था देखेर बाबु निकै दुखित भए । उनको आशय त्यो थिएन । रिसले भनेका पनि थिएनन् । त्यसैले हरतरहले सम्झाउने प्रयास गरे तर उनले मानेनन् । दृढ अढोटका साथ पिताजीलाई प्रणाम गरी यमलोकतर्फ लागे ।

उनी पुग्दा यमराज कतै गएका रहेछन् । यमपत्नीले गृहस्थी धर्म अनुसार आतिथ्यगर्न चाहिन् तर उनी भने त्यसको वास्तै नगरी यमराजको प्रतीक्षा गर्न लागे । तीन दिनपछि यमराज आइपुगे । यमपत्नीले घरमा पाउना आएको कुरा सुनाउँदै भनिन्–

‘तीन दिनदेखि ऋषिकुमार तपाईँलाई कुरेर बसेका छन् । न केही खाएका छन् न पिएका छन् । घरमा आएका पाहुना भनेका देवता समान हुन्छन् । उनीहरूलाई भोकै राख्नु भनेको गृहस्थी धर्म नष्ट गर्नु हो । जुन घरका पाहुना भोका हुन्छन् त्यस घरको नयाँ काम पनि बन्दैन र बनेका कामले पनि सन्तुष्टि दिँदैन । त्यसैले बिन्ती छ अहिले नै गएर उनको सेवा सत्कार गरी सन्तुष्ट पार्ने प्रयास गर्नुहोस् ।’

पत्नीको कुरा सुनेर यमराजलाई पनि नरमाइलो लाग्यो । उनी तत्कालै नचिकेता समक्ष गएर भन्न लागे–

‘ऋषिकुमार ! मेरो कारण तपाईँले तीनदेखि भोकै रहनुप¥यो । यसका लागि क्षमा प्रार्थी छु । भोकै बस्दा जुन कष्ट भयो त्यसको पूर्ति गर्न त सक्दिनँ तर प्रत्येक दिनको एउटाको दरले तीन दिनको तीनवटा वरदान दिएर प्रायश्चित्त गर्न चाहन्छु । भन्नुहोस् के वर दिऊँ ?’

‘केही छैन यमदेव ! मैले नराम्रो मानेको छैन ।’ नचिकेताले सान्त्वना दिँदै भने–

‘यदि वरादान दिनै चाहनुहुन्छ भने पिताजी दुखी हुनुहुन्छ । त्यसैले पहिलो वरदान यही माग्छु कि मलाई पहिलेजस्तै बनेर फर्कन सक्ने बनाइदिनुहोस् र पिताजीबाट पनि पहिले जस्तै माया पाउने बन्न सकूँ ।’

‘तथास्तु ।’ यमराजले वरदान अनुमोदन गर्दैै भने–

‘अब अर्को वरदान माग्नुहोस् ।’

‘यो वरदान यस लोक सम्बन्धी भयो । अब अर्को वरदान परलोक सम्बन्धित माग्नेछु ।’ यमराजको मुखमा हेर्दै नचिकेताले भने–

‘मलाई अग्नि विद्याको शिक्षा दिनुहोस्, जसको साधनाबाट मानिसले स्वर्गीय सुखभोग प्राप्त गर्न सकुन् ।’

यमराजले त्यसलाई पनि तथास्तु भन्दै तेस्रो वरदान माग्न आग्रह गरे ।

त्यसपछि नचिकेताले आत्मविद्याको बारेमा जिज्ञासा राखे । अब यमराजलाई अप्ठ्यारो प¥यो । यस्तो विद्या दिन लिने व्यक्ति अधिकारी हुनुपर्छ । नत्र कि खेर जान्छ कि दुरुपयोग हुन्छ । त्यसैले उनले परीक्षा लिने विचार गरी पहिले आत्मज्ञानको बाटो कठिन छ भन्दै डर देखाए पछि अरू नै सुखभोगका साधन माग्नुहोस् भनेर लोभ देखाए तर उनी आफ्नो भनाइमै अडिग रहे । यसबाट उनी ऋषिकुमार आत्मज्ञान दिन लायक छन् भन्नेमा विस्वस्थ भए र आत्मज्ञानद्वारा तृप्त पार्ने काम गरे ।

त्यसपछि उनी यमलोकबाट सरासर घर आएर बाबुलाई दण्डवत गरे । यमराजका आशीर्वादका कारण न बाबुलाई चिन्न गाह्रो प¥यो न उनले दिने मायामा कमी पाए । यसरी नचिकेताले पितृभक्तिको कारण बाल्यकालमै सशरीर यमलोक पुगी जिवितै फर्कने अवसर मात्र पाएन् आत्मज्ञान प्राप्त गर्ने अवसरसमेत प्राप्त गरे ।

यस उपनिषद् प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर पितृभक्तहरूको दुर्गति हुँदैन भन्ने कुराको भने अनेक उदाहरण छन् । यसैका कारण रामले लोक वन्दित हुने अवसर पाएका थिए भने प्रशुरामले चिरञ्जीवी हुने अवसर पाएका थिए । महारथि भीष्मलाई ईच्छा मृत्युको अवसर पनि पितृभक्तिले नै जुराएको थियोे, श्रवणकुमारलाई लोक विख्यात हुने अवसर पनि पितृभक्तिबाटै प्राप्त भएको थियो । वेददेखि उपनिषद्सम्म र इतिहासदेखि पुराणसम्म यस्ता प्रसङ्ग थुप्रै छन्, जहाँ पितृभक्त सज्जनहरूका गाथा चित्रण भएका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।