आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

शनिबार, १२ भदौ २०७८, २१ : ३२
शनिबार, १२ भदौ २०७८

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।

महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्फत पाएका थिए ।

माध्यमिक विद्यालय सञ्चालन अनुमतिप्राप्त गरे पनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलब वापतको रकम निकासा गरेको हो । उक्त विद्यालयमा सम्बन्धित विषय शिक्षक नियुक्ति नभएको तर, गाउँपालिकाले भने प्रतिविद्यालय रु तीन लाख ६६ हजारका दरले रु सात लाख ३२ हजार रकम निकासा गरेको पाइएको छ ।

यता शिक्षक नियुक्ति नै नगरी गाउँपालिकाले निकासा गरेको उक्त रकम असुलउपर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औंल्याएको छ । नियुक्ति नभएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आपूmलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप