शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शशांक कोइरालाले भने- सभापतिमा मेरो दाबी हो

शनिबार, १२ भदौ २०७८, २१ : २५
शनिबार, १२ भदौ २०७८

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन् । दाङको घोराहीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफु उठ्ने बताएका हुन् । पार्टीको महाधिवेशनमा सभापतिमा उठ्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’

उनले उम्मेदवारीबाट पछाडि नहट्ने दाबी समेत गरे । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताए ।

कोइरालाले महाधिवेशनको तयारीमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन समेत दिए । काँग्रेसको महाधिवेशन भदौ १८ गते वडाबाट सुरु हुने भन्दै उनले पार्टीको आन्तरिक जीवनमा महाधिवेशनले महत्वपूर्ण अर्थ राख्ने बताए ।  कम्युनिष्टहरू फुटेको समय भएकाले गाउँ गाउँमा पार्टी संगठनमा जुट्न समेत उनले सबै नेता, कार्यकर्तालाई आह्वान गरे । अब आउने आमनिर्वाचन काँग्रेसको प्रतिष्ठाको लडाइ भएकाले यसमा खरो रुपमा उत्रनुपर्ने उनको भनाइ छ । एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने उनको दाबी थियो । 

श्रद्धाञ्जली सभामा काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको महाधिवेशन निर्धारित समयमा हुने भएकाले त्यसमा ढुक्क हुन आग्रह गरे । पार्टीको चुनावलाई राजनीतिक इगो बनाएर आउने आम निर्वाचनमा त्यसलाई रिस साध्न बिषय बनाउन नहुने तर्क गर्दै उनले अधिवेशनबाट आउने नेतृत्वलाई सहयोग गर्न आग्रह गरे । पार्टीलाई थप बलियो बनाएर लगेमा काँग्रेसले बहुमत ल्याउने समेत उनले दाबी गरे । पूर्वमन्त्री सञ्जय गौतमले गुट उपगुट अन्त्य गरेर पार्टीलाई थप बलियो बनाउनुपर्ने टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप